global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ उत्पादन बढाउन माइजोगमाईमा सामूहिक खेती

उत्पादन बढाउन माइजोगमाईमा सामूहिक खेती

उत्पादन बढाउन माइजोगमाईमा सामूहिक खेती

इलाम । माइजोगमाई गाउँपालिका–४ नामसालिङ गाउँका १६ परिवार सामूहिकखेती गर्छन् । एक सय रोपनी जमिनमा अकबरे, टमाटर, क्याप्सिकन र काँक्रा गरेर ५० हजार बढी बिरुवा लगाइएको छ । गत वर्ष ३० लाख आम्दानी भएको थियो । यस वर्ष ७० लाख आम्दानी लिने लक्ष्य छ ।

कृषक निश्चल राईका अनुसार यसरी गाउँलेले सामूहिक खेती गरेको ६ वर्ष भयो । तर, समूह वा संस्था गठन गरिएको छैन । “मलेसिया तीन वर्ष बसेर गाउँ फर्केपछि खेतीमा जाँगर चलेको हो ।” निश्चलले भने, “हामी सबै युवा एकपटक विदेश गएर फर्किएकाहरू छौँ । खाडीमुलुकको रेमिट्यान्सले घर चलाउनुपथ्र्यो । अहिले गाउँमै आम्दानी छ । जीवनस्तर फेरिएको छ ।”

छ वर्षअघि आठ हजार बिरुवा लगाएर सामूहिक खेती सुरु गरिएको थियो । अहिले गोलभेँडा ४५ हजार, अकबरे १५ हजार, भेडे खुर्सानी ७००, काँक्रा ५०० को हाराहारीमा लगाइएको निश्चलको भनाइ छ । समूह गठन नभए पनि आपसी समझदारीले अहिलेसम्म कुनै विवाद भएको छैन । “सबै भेला भएर बैठक बस्छौँ । काम गर्ने तालिका बनाउँछौँ”, कृषक सन्देश देवानले भने, “सबै बिरुवा एकैपटक लगाउँदैनौँ । चरणबद्ध खेती लगाउँछौँ । पुससम्म सिजन–सिजनमा हुनेगरी खेती गरिन्छ । सबै काम सामूहिक हुन्छ । यसपटक ७० लाखभन्दा बढी आम्दानीको लक्ष्य छ ।”

उत्पादन भएका कृषिउपज बिक्री गर्न झापा लगिन्छ । तर, सरकारले कृषिजन्यउपजको दररेर नतोकेका कारण किसानले पाउने मूल्यको टुङ्गो हुँदैन । “उत्पादन धेरै हुने भएकाले साना गाडीले उठाउँदैनन् । झापाका व्यापारीले मालवहाक गाडी पठाउँछन् । हामी सामान लिएर जान्छौँ । तर, मूल्य कति पाइने हो थाहा हुन्न”, निश्चलले भने, “कहिलेकाहीँ १० किलोले दिएर आउनुपर्छ । टमाटार कम्तीमा ४० र अकबरे न्यूनतम २५० भन्दा कम मूल्यमा बेच्नुपर्यो भने किसानलाई घाटा लाग्छ । उत्पादन लागत नै उठ्दैन । सरकारले दररेट कायम गरिदिए किसानलाई काम गर्न सञ्च हुन्थ्यो ।”

नामसालिङ कृषि उत्पादनको उर्वर भूमि हो । यो ठाउँको इतिहास मलिलो ठाउँका रूपमा परिचित छ । यहाँका मानिसहरू अधिकांश पढेलेखेका पनि छन् । तर, सरकारले माटो परीक्षणसम्म गरेको छैन । “कृषि ज्ञान केन्द्रले अब एक पटक यहाँको माटो परीक्षण गरिदिएर कुन माटोमा कुन कृषिउपज फस्टाउँछ भन्ने छुट्याइदिए हुन्थ्यो,” निश्चल भन्छन् ।

गाउँपालिकाले खाद्यान्नमा आत्मनिर्भर बन्न एक वडा एक उत्पादन कार्यक्रम गरिरहेको छ । छवटै वडामा विभिन्न खेती छनोट गरेर व्यावसायिक कृषक, कृषि फर्म, समूह वा सहकारीलाई अनुदान वितरण गरिरहेको छ । पालिकाले यस वडामा अकबरेखेती छनोट गरेको छ । गत वर्ष अकबरे किसानले अनुदान पनि पाए । किसानहरू स्थानीय सरकारको थोरै बजेटले अनुदान पर्याप्त नहुने बताउँछन् । प्रदेश र सङ्घीय सरकारले कृषिमा अनुदान बढाउनुपर्ने उनीहरूको माग छ । “स्थानीय सरकारको बजेट कम हुन्छ । पुगेसम्म त दिएकै छ । तर, उपल्लो दुई वटा सरकारले कृषिमा अनुदान दिए हुन्थ्यो,” कृषक मङ्गेस देवानले भने ।

गाउँपालिकाका किसान सामूहिक खेती गरेर आर्थिक उपार्जन गर्न कम्मर कसेर लागेका छन् । गाउँपालिकाले सबै वडाका किसानलाई कृषि उत्पादनमा प्रोत्साहन थप्न अनुदान पनि दिइरहेको छ । यता माईजोगमाई–५ सोयाङको लोक्साङ गाउँका ३६ परिवारको सामूहिक बचत तथा कृषि समूह छ । समूहले सामूहिक रूपमा बेसारखेती गर्छ । दुई वर्षअघि एक मन९४० केजी० बेसार रोपेर गत वर्ष २५ मन बीउ उत्पादन गरिएको थियो । यस वर्ष १२० मन उत्पादन हुने अनुमान छ ।

गाउँपालिकाले ‘एक वडा एक उत्पादन’ कार्यक्रमअन्तर्गत गत वर्ष रु दुई लाख अनुदान दियो । यसपटक हिउँदे अधिवेशनबाट ड्राएर मेसिन र पिस्ने मेसिनका लागि दुई लाख ५० हजार अनुदान थप गरेपछि किसान उत्साहित भएका छन् । समूहले आफैँ उद्योग खोल्ने तयारी थालेको छ । अब, काँचो बेसारलाई गाउँमै प्रशोधन गरेर अन्तरराष्ट्रिय बजारमा पठाइनेछ ।

“सामूहिक खेती गरेर आर्थिक उपार्जन गर्न ०८० सालमा २४ परिवारले समूह खोल्यौँ । दुई वर्षमा ३६ घर पुगियो,” समूहका सचिव सुमन बेगाले भने, “रोङ गाउँपालिकाले उत्पादन गरेको कपुरकोट दुई जातको एक मन बेसार प्रतिकेजी ७० ले ल्याएर रोपेका थियौँ । खन्ने बेला हुन लाग्यो । एक सय २० मनसम्म फल्छ भन्ने अन्दाज छ ।”

बेसार दश रोपनी क्षेत्रफलमा रोपिएको छ । “बेसार कटिङ मेसिन ल्याएका छौँ । मेसिनको क्षमता प्रतिघण्टा १०० देखि ३०० केजी छ । काँचो बेसार एक पटकमा ६० केजीसम्म सुकाउन सकिन्छ । पिस्नेले ३० केजी प्रतिघण्टा पिस्छ”, सचिव बेगाले भने, “जमिन लिजमा लिइएका छौँ । उद्योग स्थापना गर्ने तयारी छ । अब बेसार प्रशोधन गरेर प्याकेजिङ गरेपछि विदेशमा बिक्री गर्ने तयारी हो । स्थानीय बजार, काठमाडौँ र विदेशमा हङकङ मुख्य बजार हुन्छ ।”

समूहले यसपटक च्याउखेती पनि सुरु गरेको छ । “चार सय केजी उत्पादन भयो । दुई सय प्रतिकेजीले बिक्री गर्यौँ । अर्को साल बढाउँछौँ,” अध्यक्ष जयबहादुर लिम्बूले भने । गत वर्षदेखि गाउँपालिकाले ‘एक वडा एक उत्पादन’ कार्यक्रम सुरु गरेको छ । एउटा वडामा एक उत्पादन बढाउने र गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्य राखेर सुरु गरिएको अभियानअन्तर्गत वडा नं ५ लाई बेसारखेती छनोट गरिएको थियो ।

गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेका अनुसार स्थानीयस्तरमा उत्पादन हुन सक्ने कृषिउपजको उत्पादन वृद्धि गरी खाद्यान्नमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको हो । “व्यावसायिक उत्पादन गर्ने कृषक तथा फर्महरूलाई अनुदान दिएर प्रोत्साहन गरिरहेका छौँ”, अध्यक्ष थेबेले भने, “वडा नं १ मा रुख टमाटर, २ नं मा जडीबुटी, ३ नं मा कुखुरापालन, ४ र ६ नं मा खुर्सानी९अकबरे० र ५ नं मा बेसारखेतीमा अनुदान दिइएका छौँ ।”

अध्यक्ष थेबेका अनुसार गत वर्ष छ वटा वडाका कृषक, कृषि फर्म, समूह तथा सहकारीमा गरी ६७ जना उद्यमीलाई १५ लाख अनुदान वितरण गरिएको थियो । पहिले कार्यक्रमको सूचना आह्वान हुन्छ । प्रस्तावना मागेर स्थलगत अवलोकन गरेपछि आर्थिक समितिले निर्णय गर्छ । प्राथमिकताका आधारमा अनुदान वितरण हुन्छ । दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न पनि यो कार्यक्रम महत्त्वपूर्ण छ ।

गाउँपालिकाले विभिन्न कार्यक्रममार्फत गाउँमै उत्पादन बढाएर आत्मनिर्भर बन्ने र विदेश जानुपर्ने बाध्यता न्यूनीकरण गर्ने कार्यक्रम गरिरहेको छ । गाउँपालिकामा सञ्चालित ‘उपाध्यक्षसँग युवा उद्यमी’ कार्यक्रमबाट स्थानीयस्तरमै रोजगारी सिर्जना भएको छ । यसका लागि दुग्ध तथा घ्यू प्रशोधन, कोदोको बिस्कुट उत्पादन र यस वर्ष ललिपप निर्माण तथा दुग्ध उत्पादन प्रशोधनसम्बन्धी तालिम सञ्चालन गरिएको थियो ।

गाउँपालिकाले कार्यक्रममार्फत मौरीपालन, अलैँचीखेती, पशुपालन, ब्युटीपार्लर तथा बिस्कुट उत्पादनजस्ता क्षेत्रमा उत्कृष्ट काम गर्ने उद्यमीलाई अधिकतम रु तीन लाखसम्म अनुदान दिएको थियो । गाउँपालिकाका उपाध्यक्ष प्रवीना राईले भनिन्, “व्यवसायमै सक्रिय उद्यमीलाई सामग्री तथा नगद सहयोग गर्ने गरेका छौँ । हाम्रो मुख्य उद्देश्य स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नु हो ।”

पहिलो वर्ष दुग्ध तथा घ्यु प्रशोधन तालिम दिएपछि वडा नं १ का तुलबहादुर लिम्बूको कृषि तथा डेरी उद्योग, वडा नं २ की रेखा रिजालको पाण्डे डेरी उद्योग र वडा नं ६ का इन्द्र थेबेको एनएस डेरी उद्योगलाई सामग्री सहयोग गरिएको थियो ।

उक्त कार्यक्रमअन्तर्गत गत वर्ष कोदोको बिस्कुट उत्पादनसम्बन्धी तालिम दिइएर उत्कृष्ट छ व्यवसायलाई प्रोत्साहित गर्न नगद अनुदान दिइएको थियो । वडा नं १ की पार्वती भट्टराईले सञ्चालन गरेको भट्टराई बिस्कुट बेकरी उद्योगलाई वस्तुगत सहायता अनुदान दिइएको छ ।

त्यसैगरी वडा नं ३ का रुद्रकुमार सञ्जेलको गहिरीगाउँ जैविक कृषि फार्म, वडा नं ४ का सनबहादुर लिम्बूको सुनौलो कृषि तथा पशुपालन फर्म, वडा नं ५ का लक्ष्मण खत्रीको कुशिका एकीकृत कृषि तथा पशुपन्छी फर्म, वडा नं १ की कञ्चन आचार्यको कञ्चन ब्युटीपार्लर तथा प्रशिक्षण केन्द्र र वडा नं ३ का लक्ष्मी तामाङ र पुजन प्रधानले सञ्चालन गरेको पशुपति पशुपालन तथा कृषि फर्मलाई नगद अनुदान प्रदान गरिएको थियो ।

यस वर्ष ललिपप निर्माण तथा दुग्ध प्रशोधनसम्बन्धी तालिम ३० जनाले लिएका छन् । अब उक्त सीपलाई व्यावसायिक बनाउनेलाई अनुदान दिइने उपाध्यक्ष राईले बताइन् । बिस्कुट उत्पादनमा दुई लाख अनुदान पाएकी पार्वती भट्टराई थप व्यावसायिक बन्न प्रोत्साहन मिलेको बताउँछिन्

यो गाउँपालिकामा पशुपालन धेरै छ । प्रतिदिन ३० हजार लिटर दुग्ध उत्पादन हुने गरेको अध्यक्ष थेबेको भनाइ छ । गाउँपालिकाले पशुमा खोरेत रोगविरुद्धको भ्याक्सिन लगाइरहेको छ । गाउँपालिकामा आलु, अदुवा, अलैँची, अकबरे, ओलन, अम्रिसो, दुग्ध उत्पादन बढी हुने गरेका छन् ।

प्रकाशित समय : १५:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु