गृहपृष्ठ सुशासन र समृद्धिका लागि नैतिक शिक्षा आधारभूत सर्त : प्रदेश प्रमुख कर्ण
सुशासन र समृद्धिका लागि नैतिक शिक्षा आधारभूत सर्त : प्रदेश प्रमुख कर्ण
धनुषा । मधेस प्रदेशका प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णले सुशासन र समृद्धिका लागि नैतिक शिक्षा आधारभूत सर्त रहेको बताएका छन् ।
मधेसी आयोगको आयोजना तथा इन्सेकको सहकार्यमा आज जनकपुरधाममा ‘नैतिकवान मधेस र सशक्त नैतिक शिक्षा’ कार्यक्रमअन्तर्गत ‘प्रशासनिक आचरण, उत्तरदायित्व र सुशासित–समृद्ध मधेस निर्माणमा सरोकारवालाहरूको भूमिका’ विषयक अन्तक्र्रिया सम्पन्न भएको थियो ।
सो अन्तरक्रियामा प्रदेश प्रमुख कर्णले समाजमा नैतिक मूल्यमान्यता कमजोर बन्दै जाँदा प्रशासनिक अनुशासन र पारदर्शितामा चुनौती देखिएकाले यसलाई सुधार गर्न शिक्षादेखि नै नैतिकता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी प्रदेशसभा सदस्य शारदा पहाडीले नीति र व्यवहारबीचको दूरी घटाउन आवश्यक रहेको बताए । उनले नैतिक शिक्षालाई जीवनपद्धतिसँग जोड्न सके मात्र समाजमा सकारात्मक परिवर्तन सम्भव हुने धारणा राखे ।
जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले स्थानीय तहदेखि नै सुशासनको अभ्यास सुरु गर्नुपर्नेमा जोड दिए । उनले विकास निर्माणका काममा पारदर्शिता, जनसहभागिता र निगरानी प्रणाली सुदृढ गर्नसकेमा भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमको अध्यक्षता गर्दै मधेसी आयोगका सदस्य आभा सेतू सिंहले नैतिक शिक्षा समाज रूपान्तरणको मूल आधार भएको बताए ।
उनले मधेसको समग्र विकासका लागि नैतिकता, अनुशासन र उत्तरदायित्वलाई संस्थागत गर्नुपर्नेमा जोड दिँदै यसका लागि सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य अनिता साह, लाल गोइतलगायतले आफ्ना धारणा राखेका थिए ।
प्रकाशित समय : १९:२१ बजे




















