गृहपृष्ठ सञ्चारमाध्यमलाई उद्योगका रुपमा विकास गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे
सञ्चारमाध्यमलाई उद्योगका रुपमा विकास गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे
गण्डकी : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चारमाध्यमलाई सूचना प्रवाह गर्ने संस्थाका रुपमा मात्र नभई दिगो र आत्मनिर्भर मिडिया उद्योगका रुपमा विकास गर्नुपर्ने बताएको छ ।
प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीद्वारा आज पोखरामा आयोजित सञ्चारमाध्यमको व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया एवं कार्यशाला गोष्ठीमा उनले सञ्चारमाध्यम आफैँमा सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर व्यावसायिक प्रतिष्ठानका रुपमा स्थापित हुनुपर्नेमा जोड दिए।
“प्रदेश सरकार सञ्चारमाध्यमलाई जिम्मेवार, मर्यादित र व्यावसायिक रुपमा सक्षम बनाउन आवश्यक सहयोग र सहजीकरण गर्न तयार छ”, मुख्यमन्त्री पाण्डेले भने “यसका लागि सरकार, सञ्चार उद्यमी, सम्पादक, पत्रकार, विज्ञापन क्षेत्र र सरोकारवालाबीच व्यावहारिक सहकार्य आवश्यक छ ।”
परम्परागत सञ्चारमाध्यमहरु डिजिटल रुपान्तरणमा जानुपर्ने बताउँदै उहाँले डिजिटल माध्यमसँग जोडिएर पहुँच, प्रभाव र आम्दानीको नयाँ आधार तयार गर्नुपर्ने बताए । मुख्यमन्त्री पाण्डेले विज्ञापनका लागि मात्र गरिने पत्रकारिता क्षणिक हुने भएकाले दीर्घकालसम्म नागरिकको विश्वास जित्ने सामग्री उत्पादन र सम्प्रेषण गर्न सञ्चारमाध्यम र पत्रकारलाई आग्रह गरे ।
सञ्चार क्षेत्रका माग र आवश्यतालाई प्रदेश सरकारको आगामी नीति, कार्यक्रम तथा बजेटमा यथासम्भव सम्बोधन गर्ने प्रतिबद्धता जनाए । कार्यशाला गोष्ठीमा गण्डकी प्रदेशका विभिन्न जिल्लामा सञ्चालित रेडियो तथा टेलिभिजनका सञ्चालकहरुको सहभागिता थियो ।
गोष्ठीमा मिडिया अनुसन्धानकर्ता मधु आचार्यलगायतले सञ्चारमाध्यमको व्यवस्थापनका विषयमा सहजीकरण गर्नुभएको थियो । प्रेस रजिष्ट्रार विमला भण्डारी र प्रेस रजिष्ट्रारको कार्यालयका निर्देशक निराजन शर्माले कार्यालयको सेवा प्रवाह र भावी योजनाबारे प्रस्तुतीकरण राखेको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरे, नेपाल पत्रकार महासङ्घ, गण्डकीका अध्यक्ष रमेश पौडेल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष गङ्गाधर पराजुली, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का अध्यक्ष कुमार भट्टराई, सञ्चार उद्यमी विश्वशङ्कर पालिखेलगायतले सञ्चार क्षेत्रका समसामयिक विषयमा आ–आफ्ना धारणा राखेका थिए ।
प्रकाशित समय : १९:२५ बजे




















