गृहपृष्ठ याक चौँरीपालक किसानलाई रेनकोट वितरण
याक चौँरीपालक किसानलाई रेनकोट वितरण
मुस्ताङ । याक चौँरी पालन गर्ने किसानलाई रेनकोट वितरण गरिएको छ । मुस्ताङको थासाङ गाउँपालिकामा याक चौँरी पालन गर्ने २६ घरधुरी किसानलाई कृषि तथा पशु विकास कार्यालय मुस्ताङले रेनकोट वितरण गरिएको हो ।
राष्ट्रिय याक दिवस २०८३ को उपलक्ष्यमा बुधबार जिल्लास्थित थासाङको घट्टे खोलामा आयोजित दोस्रो राष्ट्रिय याक चौँरी दिवसको समापन अवसरमा मुस्ताङका उच्चलेंक, खर्क र पाटनका चरनक्षेत्रहरुमा याक चौँरी चराउने बेला पानी परेर याक चौँरी रेखदेख गर्ने गोठालालाई समस्या हुने गरिएकाले उनीहरूको प्रोत्साहनका लागि रेनकोट वितरण गरिएको कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख एवम् पशुचिकित्सक डा। लालमणि अर्यालले जानकारी दिए ।
थासाङ गाउँपालिकाका अध्यक्ष प्रदिप गौचन, उपाध्यक्ष सोमल हिराचन, वडाध्यक्ष हरी गौचन, याकचौरी महासङ्घका केन्द्रीय सचिव सोजन हिराचन र कार्यालय प्रमुख डा। अर्यालसहितको टोलीले याक चौँरी पालक किसानलाई पानी पर्दा लाउने रेनकोट हस्तान्तरण गरिएको हो ।
सो अवसरमा याकचौरी महासङ्घका केन्द्रीय सचिव हिराचनले सरकारी स्तरबाट हुने यस प्रकारका कृषक प्रोत्साहन कार्यक्रमले लोपोन्मुख अवस्थामा रहेको याक चौँरी पालन व्यवसायको संरक्षण हुने उल्लेख गर्दै हिउँदयाममा बस्ती र बर्खायाममा उच्चलेंक र पाटनहरूमा घुम्ती गोठ खडा गरी पालन गर्नुपर्ने जोखिम र चुनौतीपूर्ण व्यवसाय याक चौँरीलाई सरकारले उच्च प्राथमिकतामा राखिनुपर्ने बताए । जलवायु सङ्कटका कारण चरन क्षेत्र र वन्यजन्तुको आक्रमणको जोखिमले याक चौँरी पालनका लागि चरनक्षेत्र असुरक्षित बन्दै जान थालेकामा उनले चिन्ता व्यक्त गरे ।
थासाङ गाउँपालिकाका अध्यक्ष गौचनले मुस्ताङको ऐतिहासिक तथा सांस्कृतिक धरोहरको रूपमा रहेको परम्परागत याक चौँरी पालन यहाँको किसानका लागि जिविकोपार्जनको मुख्य स्रोत मात्रै नभई सांस्कृतिक सम्बन्ध रहेको बताए ।
सरकारले याक चौँरी पालनलाई जोगाउन वन्यजन्तु तथा प्राकृतिक विपद्मा परी याक चौँरी क्षति भएमा ८० प्रतिशत बिमा सुनिश्चित गरेको छ । थासाङमा याक चौँरी पालन व्यवसायको संरक्षण, प्रबद्र्धन र पुस्तान्तरणका लागि संस्थागत रूपमा जिल्ला स्तरीय हिमालयन चौँरी पालन तथा संरक्षण समिति गठन भएसँगै नयाँ याक चौँरी पाल्ने किसान उत्साहित भएका छन् । थासाङमा चालु आर्थिक वर्ष नयाँ याक चौँरी व्यवसाय सुरु गर्ने पाँच घरधुरी थपिएका छन् । थासाङको टुकुचेमा २, कोवाङमा १ र झिप्रा देउरालीमा २ घरधुरीले याक चौँरी पालन सुरु गरेका हुन् ।
प्रकाशित समय : ०५:५१ बजे


















