गृहपृष्ठ अर्थमन्त्री डा वाग्लेसँग अमेरिकाका सहायक विदेश कुपरले भेट
अर्थमन्त्री डा वाग्लेसँग अमेरिकाका सहायक विदेश कुपरले भेट
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री एसपल कुपरले शिष्टाचार भेटवार्ता गरेको छ । अर्थ मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपालमा हालै सम्पन्न निर्वाचनपछि गठित वर्तमान सरकार र अमेरिकी सरकारबीच सम्भावित साझेदारीका क्षेत्र, लगानी प्रवर्द्धन र द्विपक्षीय सहयोगका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
उक्त छलफलमा अर्थमन्त्री डा वाग्लेले सरकारको मुख्य प्राथमिकता सुशासन, आर्थिक सुधार र गुणस्तरयुक्त भौतिक पुर्वाधार निर्माण रहेको उल्लेख गरेको थियो । उहाँले पुराना अनावश्यक कानुनको खारेजी र नयाँ कानुन निर्माणद्वारा आर्थिक सुधार र लगानीको वातावरण सृजना गर्नु सरकारको प्राथमिकता रहेको बताएको थियो ।
अमेरिकी लगानीकर्ता तथा गैरआवासीय नेपाली लगानीकर्ताबाट विशेषगरी पर्यटन, स्वच्छ ऊर्जा र सूचना प्रविधिका क्षेत्रमा लगानी अपेक्षित रहेको सो अवसरमा उनले बताएको थियो ।
अमेरिकी सहायक विदेशमन्त्री कपुरले नेपाल र अमेरिकाबीचको ऐतिहासिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विचार व्यक्त गरेको थियो । हालै सम्पन्न शान्तिपूर्ण निर्वाचनपश्चात गठित वर्तमान सरकारले लिएको सुधारका कार्यक्रमलाई अमेरिकी राष्ट्रपति र अमेरिकी जनताले सकारात्मक रूपमा नजिकबाट हेरिरहेको बताएको थियो ।
सफल व्यापारिक सम्बन्ध र अमेरिकी अन्तरराष्ट्रिय वित्त विकास सहयोगजस्ता संस्थासँगको साझेदारीमा दुवै राष्ट्रले लाभ लिन सक्ने विषयमा सहायक विदेश मन्त्रीले जोड दिएको थियो ।
उक्त बैठकमा अर्थ सचिव डा घनश्याम उपाध्याय, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका पदाधिकारी तथा नेपालका लागि अमेरिकाका कार्यवाहक राजदुत स्कोट अर्बोमसँगै अमेरिकी राजदूतावासका पदाधिकारीको उपस्थति रहेको थियो ।
प्रकाशित समय : २१:१५ बजे



















