गृहपृष्ठ माघे संक्रान्तिको दिन गण्डकी प्रदेशमा सार्वजनिक विदा
माघे संक्रान्तिको दिन गण्डकी प्रदेशमा सार्वजनिक विदा
गण्डकी प्रदेश सरकारले माघे संक्रान्ति अर्थात् माघ १ गते सार्वजनिक विदा दिने भएको छ ।
विभिन्न पर्वजस्तै माघी पर्वको अवसरमा पनि गण्डकी प्रदेश सरकारले प्रदेशभर विदा निर्णय गरेको छ । नेपालीहरुले वैशाख १ लाई नयाँ वर्षको रुपमा लिने गर्दछ, त्यस्तै किराँतले माघ १ लाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । विशेषगरी थारु र मगर समुदायले माघी पर्वको रुपमा विशेष कार्यक्रम गरी मनाउँदै आएका छन् ।
मन्त्रिपरिषद्को पुस २४ मा बसेको बैठकको निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता रामशरण बस्नेतले सार्वजनिक विदासहित विभिन्न ८ निर्णय गरेको बताए ।
सरकारले अघिल्लो वर्ष पनि यो प्रदेशमा माघे संक्रान्तिको विदा दिएको थियो । पृथ्वी जयन्तीको दिन पुस २७ गते विदा दिन आग्रह गरे पनि गण्डकी प्रदेश सरकारले यसको बारेमा भने कुनै निर्णय गरेको छैन ।
प्रवक्ता बस्नेतका अनुसार कर्मचारीको पदस्थापन तथा सरुवासम्बन्धी मापदण्ड २०७६ स्वीकृत गर्ने निर्णय गरिएको छ । यस्तै प्रदेश समन्वय परिषद्को बैठक खर्चको रकमान्तर स्वीकृत र खर्च गर्ने निर्णय गरिएको छ । होमस्टे संचालनसम्बन्धी विधेयक तर्जुमाका लागि शैद्धान्तिक स्वीकृति दिइएको छ ।
यस्तै प्रदेश दुग्ध विकास बोर्डको सदस्य सचिव नियुक्ति गरिने निर्णय गरिएको छ । व्यवसाय इन्कुवेशन सेन्टर स्थापना तथा संचालन गरिने भौतिक पूर्वाधारमन्त्री समेत रहेका प्रवक्ता बस्नेतले बताए ।
त्यस्तै गोरखा नगरपालिका र नुवाकोटको विदुर नगरपालिकाले पृथ्वीजयन्तीको बिदासहित विभिन्न कार्यक्रम घोषणा गरिसकेको छ ।
प्रकाशित समय : २२:०५ बजे



















