global ime bank Long Banner Ad

गृहपृष्ठ पाम आयल प्रतिबन्धमा पर्दापछाडिका खेल, आत्तिए उद्योगी

पाम आयल प्रतिबन्धमा पर्दापछाडिका खेल, आत्तिए उद्योगी

पाम आयल प्रतिबन्धमा पर्दापछाडिका खेल, आत्तिए उद्योगी

भारतले प्रशोधित पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि यतिखेर सरकारदेखि व्यवसायीसम्म तनावमा छन् । ‘निर्यात बढाउन सफल भएकाले’ वैदेशिक व्यापार घाटा कम भइरहेको तथ्य प्रस्तुत गरिरहेको सरकार र सौविध्यपूर्ण सुविधाको उपयोग गरी उच्च लाभ लिइरहेका व्यापारी दुवैलाई पाम आयल प्रतिबन्धले तनावमा पारेको हो ।

पाम आयलबाट व्यवसायीले ठूलो लाभ लिइरहेका थिए । नेपालबाट आर्थिक वर्ष २०७४/७५ मा जम्मा १२ करोड ५८ लाख रुपैयाँबराबरको पाम आयल निर्यात भएको थियो । पाम आयलबाट राम्रो फाइदा हुने देखेपछि व्यवसायीले प्रशोधन उद्योगमा ठूलो लगानी बढाए । फलतः गत वर्ष पाम आयलको आयात-निर्यात ह्वात्तै बढेर गयो । गत वर्षभरमा नेपालबाट १० अर्ब ३३ करोडको प्रशोधित पाम आयल भारत निर्यात भयो ।

नेपालमा पाम आयल उत्पादन हुँदैन । इन्डोनेसिया, मलेसिया, पपुवा न्यु गिनी, सिंगापुर, थाइल्यान्डलगायतका मुलुकबाट नेपालमा कच्चा पाम आयल आयात गरी प्रशोधन र प्याकेजिङपछि व्यवसायीले भारत निर्यात गर्दै आएका थिए । चालू आवको पाँच महिनामा नेपालले १० अर्ब १२ करोडको कच्चा पाम आयल आयात गरेर ११ अर्ब ५५ करोड रुपैयाँको निकासी गरेको छ । व्यापार तथा निकासी प्रवर्धन केन्द्रको चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको तथ्यांकअनुसार नेपालको निर्यात व्यापारमा पाम आयलको हिस्सा २४ प्रतिशत छ । कच्चा पाम आयल आयातबाट सरकारले पाँच महिनामै १ अर्ब ३८ करोड ७१ लाख २४ हजार रुपैयाँ राजस्व असुली गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

किन लाग्यो प्रतिबन्ध ?
भारत सरकारले नेपालबाट आयात हुने तेलमा मात्र प्रतिबन्ध लगाएको होइन । विश्वका कुनै पनि देशबाट प्रशोधित पाम आयल र प्रशोधित पामोलिन तेल आयातमा अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो ।

कास्मिर मुद्दाका विषयमा मलेसियाका प्रधानमन्त्री मोहम्मद महाथिरलेले भारतविरोधी अभिव्यक्ति दिएको भन्दै भारतको आपूर्ति मन्त्रालयले बुधबार पाम आयलको आयात रोक्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतमा सबैभन्दा बढी पाम आयल मलेसियाबाटै आयात हुँदै आएको छ । भारतमा पाम आयलको माग उच्च छ ।

सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा मलेसियाका प्रधानमन्त्री महाथिरले नयाँ दिल्लीले कास्मिर हडपेको बताएका थिए । कास्मिर मुद्दामा दुई देशबीच रहेको असमझदारी पाम तेलमा पोखिएको द डिप्लोम्याट म्यागजिनले उल्लेख गरेको छ ।

पाम आयलको विषय मलेसिया र मलेसियाका प्रधानमन्त्रीको अभिव्यक्तिसँग मात्र जोडिएको छैन ।

तर, पाम आयलको विषय मलेसिया र मलेसियाका प्रधानमन्त्रीको अभिव्यक्तिसँग मात्र जोडिएको छैन । भारत सरकारको वैदेशिक व्यापार विभागद्वारा जारी परिपत्रमा रिफाइन्ड ब्लिच्ड डेडोराइज्ड पाम आयल र रिफाइन्ड ब्लिच्ड डेडोराइज्ड पामोलिनको आयात रोक्ने उल्लेख छ ।

भारतले प्रशोधित आयल रोक्नुको खास उद्देश्य स्वदेशी आयल उद्योगहरुको संरक्षण हो । आयल प्रशोधन उद्योगमा भारतीय नवव्यापारी एवं उद्योगपति बाबा रामदेवको पनि ठूलो लगानी छ । अन्य भारतीय उद्योगहरुले पनि प्रशोधित आयल आयातमा प्रतिबन्ध लगाउन लामो समयदेखि सरकारसँग माग गर्दै आएका थिए । यस्ता उद्योगमा रामदेवले ठूलो भोल्युममा लगानी गरेपछि मोदी सरकार प्रशोधित पाम आयल आयातमाथि प्रतिबन्ध लगाउन बाध्य भएको हो । भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकार रामदेवबाट प्रभावित हुने गरेको छ ।

भारतीय मिडिया जि बिजनेससँगको अन्तर्वार्तामा रामदेवले लामो समयदेखि भारतीय उद्योगी व्यवसायीले राख्दै आएको माग मोदी सरकारले पूरा गरेको बताएका छन् । ‘मोदी सरकारको निर्णयले अर्बौं लगानी गर्ने उद्योगीलाई मात्र नभएर राष्ट्रलाई पनि फाइदा भएको छ,’ उनले भनेका छन्, ‘यो निर्णय सरकारले १५-२० वर्षअघि नै गर्न सक्नुपर्थ्यो ।’

प्रशोधित पाम आयल आयातमा प्रतिबन्ध नलगाउँदा भारतीय उद्योगहरु कुल क्षमताको ६० प्रतिशतमात्र उत्पादन गर्न बाध्य भइरहेको उनले बताएका छन् । यो निर्णयले भारतमा एक लाखभन्दा बढी रोजगारी पनि सिर्जना हुने रामदेवको भनाइ छ । भारतमा कच्चा पाम आयल उत्पादन हिस्सा कुल मागको १० प्रतिशत पनि नभएकाले प्रशोधितमा मात्र प्रतिबन्ध लगाइएको हो ।

नेपाली व्यवसायी प्रभावित
भारतको यो निर्णयले नेपाली व्यवसायी प्रभावित भएका छन् । नेपाली व्यवसायीले भारतबाट कच्चा पाम आयल आयात गरी प्रशोधनपछि भारत नै निकासी गरेर करोडौं कमाइरहेका थिए । नेपालमा पाम आयल उत्पादन हुँदैन र पाम आयलको आन्तरिक खपत अत्यन्तै न्यून छ ।

पिज्जा, दुनट, स्याम्पु, टुथपेस्टलगायतका सामग्री बनाउन प्रयोग हुने पाम आयल प्रशोधन गर्ने उद्योग मोरङमा मात्र सातवटा छन् । क्वालिटी, बाबा, स्वस्तिक, पशुपति, बोहरा इन्डस्ट्रिजलगायतले पाम आयल आयात तथा प्रशोधन गर्दै आएका थिए । प्रत्येक उद्योगले करिब एकदेखि डेढ अर्बसम्म लगानी गरेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं मोरङका उद्योगी अविनाश बोहरा बताउँछन् । नेपालको समग्र वैदेशिक व्यापार घाटा पाम आयलकै कारण कम हुँदै गएका बेला निर्यातमा प्रतिबन्धले ठूलो असर पर्ने उनको भनाइ छ ।

उद्योगी बोहराका अनुसार अहिले विभिन्न देशबाट करिब ७० हजार टन कच्चा पाम आयल आयात भइरहेको छ । प्रशोधन गरी विदेश लैजान तयार भएको र उद्योगमा आइपुगेको पाम आयल त्योभन्दा बढी छ । ‘भारतको निर्णयले मोरङका उद्योगीले मात्रै अर्बौं नोक्सानी व्यहोर्नुपर्ने भएको छ,’ उनले भने । प्रतिबन्धले सुनसरी-मोरङ क्षेत्रका उद्योगी आत्तिएका छन् ।

‘प्रतिबन्धले अर्बौं क्षति’
मोरङ व्यापार संघका पूर्वअध्यक्ष पवन सारडा लगानीमात्र नभएर रोजगारी पनि प्रभावित हुने बताउँछन् । उनका अनुसार मोरङका सात प्रशोधन उद्योगमा २ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । ‘सरकारले पहल गरेर तत्काल पाम आयल निर्यातको व्यवस्था नमिलाए खर्बौं रुपैयाँका क्षति हुनेछ,’ उनले भने ।

उद्योगी सारडाका अनुसार एउटा उद्योगले दैनिक २ सय टन निर्यात गर्ने गरेको र सोही परिमाणमा कच्चा आयल आयात भइरहेकाले भण्डारणमा पनि समस्या भएर नोक्सानी हुनेछ । पाम आयल निर्यातमा प्रतिबन्धका कारण उद्योगी टाट पल्टिने भएकाले अन्य उद्योगसमेत प्रभावित हुने सारडा बताउँछन् ।

बैंकहरुको चर्को ब्याजदरका कारण समस्या परेका उद्योगीहरुले पाम आयलबाट लाभ लिइरहेका बेला निर्यात प्रतिबन्धले झन् ठूलो आपत थपिदिएको उनले बताए ।

अर्का उद्योगी विपिन काबरा पाम आयल प्रशोधन उद्योगसँग सम्बद्ध अन्य उद्योगलाई पनि क्षति पुग्ने बताउँछन् । ‘असर त सबैलाई पर्ने भएको छ । यससँग सम्बद्ध उद्योगलाई पनि गाह्रो छ । पाम उद्योगको कार्टुन उद्योग, प्याकेजिङका उद्योगलगायतसँग ‘चेन रियाक्सन’ हुने भएकाले सबैलाई ठूलो नोक्सानी हुनेछ,’ उनले भने, ‘यसबाट हामीलाई ठूलो नोक्सानी हुनेवाला छ । भारतमा निर्यात गर्ने हामीले ठूलो स्टक राखेका हुन्छौँ । एलसी खोलेका हुन्छौँ । मालहरु ट्यांकरमा आउँदै छन् । राख्न समस्या छ । हामीलाई निकै गाह्रो हुन्छ ।’

त्यस्तै उद्योगी अमित शारडा पनि प्रतिबन्धले सबै पाम आलय प्रशोधन उद्योग टाट पल्टिने बताउँछन् । ‘चलेका उद्योगको क्यापासिटी पनि न्यून हुन्छ । उद्योग नै नचलेपछि रोजगारी रहँदैन । राजस्वमा कमी आउँछ । कोलकाताबाट कच्चा पदार्थ आउने क्रममा छ र उद्योगमा पनि स्टक छ,’ उनले भने, ‘यो सबै नेपालमा खपत हुन वर्षौं लाग्छ । यो समस्या हल भएन भने ठूलो क्राइसिस हुन्छ । नेपालकै अर्थतन्त्रमा पनि ठूलो असर पर्छ ।’

सारडाले पाम आलयको खपत नेपालमा न्यून रहेको बताए । उनले भने, ‘उत्पादनको सबै हिस्सा हामीले भारतमै निर्यात गर्ने हो । यहाँको माग एक, दुईवटा उद्योगले नै धान्छ ।’

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे चर्को ब्याजदरको प्रभावबाट आक्रान्त उद्योगीका लागि पाम आयलमाथिको प्रतिबन्ध चुनौतीपूर्ण बनेको बताउँछन् । ‘यसै पनि उद्योगलाई सरकारको कुनै सहयोग छैन,’ उनले भने, ‘ठूला लगानीका यस्तो उद्योग समस्यामा परेपछि उद्योगीको बेहाल हुने निश्चित छ ।’ ३० प्रतिशतभन्दा बढी नाफा लिने उद्योगलाई कालोसूचीमा राख्ने सरकारले बैंकहरूलाई जति नाफा कमाए पनि छाडिदिने गरेको उनले बताए ।

प्रकाशित समय : २२:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु