गृहपृष्ठ स्ट्यान्डर्ड चार्टर्ड बैंकको स्वतन्त्र सञ्चालकमा जनक शर्मा पौड्याल नियुक्त
स्ट्यान्डर्ड चार्टर्ड बैंकको स्वतन्त्र सञ्चालकमा जनक शर्मा पौड्याल नियुक्त
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको स्वतन्त्र सञ्चालकमा जनक शर्मा पौड्याल नियुक्त भएका छन्। बैंकको चैत १८ गते (३१ मार्च २०२६) बसेको सञ्चालक समितिको बैठकले पौड्याललाई २०८२ चैत १९ (२ अप्रिल २०२६) देखि लागू हुने गरी नियुक्त गर्ने निर्णय गरेको हो।
उनले यसअघिका स्वतन्त्र सञ्चालक सिद्धार्थ राज पाण्डेको स्थान लिएका छन्। बैंकिङ क्षेत्रमा लामो अनुभव सँगालेका पौड्यालले यसअघि नेपालका दुई ‘क’ वर्गका वाणिज्य बैंकहरू ग्लोबल आइएमई बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (CEO) को रूपमा सफलतापूर्वक जिम्मेवारी सम्हालिसकेका छन्।
लन्डन स्कुल अफ कमर्स, बेलायतबाट एमबीए गरेका पौड्यालको आगमनले स्ट्यान्डर्ड चार्टर्ड बैंकको कार्यक्षमतामा थप सहयोग पुग्ने विश्वास गरिएको छ।
नेपालमा सञ्चालित एकमात्र अन्तर्राष्ट्रिय बैंकको रूपमा रहेको स्ट्यान्डर्ड चार्टर्डले लगातार पाँचौँ पटक इक्रा नेपालबाट ‘ट्रिपल ए’ (ICRANP-IR AAA) रेटिङ प्राप्त गर्दै आफूलाई सबैभन्दा सुरक्षित बैंकको रूपमा प्रमाणित गर्दै आएको छ। यो नयाँ नियुक्तिसँगै बैंकले आफ्नो संस्थागत सुशासन र व्यावसायिक सेवालाई अझ सुदृढ बनाउने लक्ष्य राखेको छ।
प्रकाशित समय : १५:३७ बजे




















