global ime bank Long Banner Ad

गृहपृष्ठ श्रीलङ्कातर्फ बढ्दै दोस्रो इरानी युद्धपोत

श्रीलङ्कातर्फ बढ्दै दोस्रो इरानी युद्धपोत

श्रीलङ्कातर्फ बढ्दै दोस्रो इरानी युद्धपोत

अमेरिकी पनडुब्बीको टारपीडो आक्रमणमा इरानी युद्धपोत डुबेर कम्तीमा ८७ नाविकको मृत्यु भएको घटनापछि अर्को इरानी युद्धपोत बिहीबार श्रीलङ्काको क्षेत्रीय जलक्षेत्रतर्फ अघि बढिरहेको जानकारी श्रीलङ्काली सरकारका एक मन्त्रीले संसद्लाई दिएका छन् । घटनापछि क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको छ ।

सञ्चारमन्त्री नलिन्दा जयतिसाले संसद्मा जानकारी दिँदै दोस्रो इरानी युद्धपोत हाल श्रीलङ्काको क्षेत्रीय जलक्षेत्रभन्दा बाहिर रहेको बताए । उनले जहाजको अवस्थाबारे थप प्राविधिक विवरण भने सार्वजनिक गरे ।

यसैबीच राष्ट्रपति अनुरा कुमारा दिसानायकले इरानबाट आएको अनुरोधबारे छलफल गर्न बिहीबार शीर्ष सुरक्षा र सरकारी अधिकारीहरूसँग बैठक गरेको आधिकारिक स्रोतहरूले जनाएका छन् । इरानी पक्षले आफ्नो युद्धपोतलाई श्रीलङ्काको जलक्षेत्रमा प्रवेश अनुमति दिन अनुरोध गरेको बताइएको छ ।

स्रोतहरूका अनुसार उक्त जहाजमा १०० भन्दा बढी चालक दलका सदस्य रहेका छन् । उनीहरूलाई बुधबार अमेरिकी पनडुब्बीले श्रीलङ्काको दक्षिणी तट नजिकै डुबाएको उस्तै प्रकारको अर्को युद्धपोतजस्तै आफूहरू पनि आक्रमणको लक्ष्य बन्न सक्ने चिन्ता रहेको बताइएको छ ।

बुधबार भएको आक्रमण गलेबाट करिब ४० किलोमिटर दक्षिणतर्फ भएको श्रीलङ्काली नौसेनाले जनाएको छ । अमेरिकी सेनाले टारपीडो प्रहार गरेको दाबी गरिएको उक्त आक्रमणमा इरानी युद्धपोत पूर्ण रूपमा डुबेको थियो ।

डुबेको जहाजबाट उद्धार गरिएका ३२ जना इरानी नाविकहरूको गलेको मुख्य अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अधिकारीहरूका अनुसार उनीहरूलाई कडा सुरक्षाबीच उपचार गरिँदैछ र प्रहरी तथा विशेष कमान्डो टोलीले अस्पताल परिसरमा निगरानी राखेको छ ।

चिकित्सा अधिकारीहरूले इरानी घाइतेहरूका लागि अस्पतालमा छुट्टै वार्ड स्थापना गरिएको बताएका छन् । आपतकालीन उपचार कक्षमा अन्य बिरामी र आगन्तुकहरूको पहुँच सीमित गरिएको छ ।

अस्पतालमा कार्यरत एक नर्सले नाम नखुलाउने सर्तमा अधिकांश घाइतेलाई सामान्य चोट लागेको जानकारी दिए । उनका अनुसार केहीलाई हड्डी भाँचिने र शरीर जलेका घाउसमेत देखिएका छन् ।

उता श्रीलङ्काली नौसेनाले अझै बेपत्ता रहेका इरानी नाविकहरूको खोजी कार्य जारी राखेको जनाएको छ । नौसेनाकी प्रवक्ता बुद्धिका सम्पथका अनुसार जहाजबाट बुधबार बिहानै सङ्कटको सङ्केत पठाइएको थियो, तर उद्धार टोली घटनास्थल पुग्दासम्म जहाज पूर्ण रूपमा डुबिसकेको थियो ।

स्थानीय नौसेनाका अनुसार डुबेको इरानी युद्धपोत भारतको पूर्वी बन्दरगाह विशाखापट्टनममा सम्पन्न सैन्य अभ्यासबाट फर्किरहेको अवस्थामा आक्रमणमा परेको थियो ।

घटनाबारे इरानले अहिलेसम्म औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन ।

गलेस्थित अधिकारीहरू भने आक्रमणमा ज्यान गुमाएका ८७ इरानी नाविकका अवशेष हस्तान्तरण गर्ने तयारीमा जुटेका छन् ।

मध्यपूर्वमा इरानविरुद्ध अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि सुरु भएको युद्ध विस्तार हुँदै क्षेत्रबाहिरका जलक्षेत्रसम्म असर देखिन थालेको छ । यसै पृष्ठभूमिमा श्रीलङ्का सरकारले आफू तटस्थ रहेको र क्षेत्रीय तनाव कम गर्न वार्तामार्फत समाधान खोज्नुपर्ने धारणा दोहो¥याएको छ ।

आर्थिक सम्बन्धका दृष्टिले पनि इरान श्रीलङ्काका लागि महत्त्वपूर्ण साझेदार मानिन्छ । इरान श्रीलङ्काको प्रमुख निर्यात वस्तु चियाको मुख्य क्रेतामध्ये एक हो । रासस

प्रकाशित समय : १५:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु