गृहपृष्ठ रूसमा युद्धविरुद्ध महिलाको मौन प्रतिरोध
रूसमा युद्धविरुद्ध महिलाको मौन प्रतिरोध
रूसले युक्रेनमाथि आक्रमण सुरु गरेको चार वर्षपछि पनि देशभित्र युद्धविरुद्ध असन्तुष्टि पूर्ण रूपमा हराएको छैन, तर कडा सरकारी दमनका कारण धेरै आवाजहरू मौन बनेका छन् । आफ्नो नाम परिवर्तन गरेर ‘वरवारा’ राख्न अनुरोध गरेकी मस्कोकी ३२ वर्षीया एक महिलाले अहिले खुलेर विरोध गर्न नसके पनि युद्धप्रति असहमति बोकेर चुपचाप बाँचिरहेको अनुभव सुनाए ।
फेब्रुअरी २४, २०२२ मा राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि ठूलो सैन्य आक्रमण सुरु गर्दा उहाँले ‘निराशा र क्रोध’ महसुस गरेको थियो । त्यसबेला उनले मस्कोको केन्द्रमा आयोजित युद्धविरोधी प्रदर्शनमा सहभागी भएको थियो । तर चार वर्षपछि अवस्था पूर्ण रूपमा बदलिएको छ । अहिले उनले आफू केवल ‘बाँच्ने प्रयास’ गरिरहेको र सार्वजनिक रूपमा युद्ध वा क्रेमलिनको आलोचना गर्ने साहस नगर्ने बताए ।
उनका अनुसार रूसभित्र अहिले तलबाट उठ्ने कुनै पनि प्रकारको विरोध तुरुन्तै दबाइने वातावरण बनेको छ । “तलबाट आउने कुनै पनि प्रतिरोधलाई दमन गरिनेछ”, उनले मस्कोमा एएफपीसँगको अन्तर्वार्तामा भने ।
युद्ध सुरु भएपछि रूसले सोभियत सङ्घको समयपछि नदेखिएको स्तरमा घरेलु दमन कडा बनाएको छ । आक्रमणको विरोधमा बोलेका हजारौँ मानिसलाई जरिवाना वा जेल सजाय दिइएको छ । सार्वजनिक रूपमा क्रेमलिनविरुद्ध प्रदर्शन लगभग बन्द जस्तै भएको छ । प्रमुख विपक्षी नेताहरू जेलमा छन्, निर्वासनमा छन् वा मृत अवस्थामा भेटिएका छन् भने विदेशमा रहेका युद्धविरोधी समूहहरू आन्तरिक मतभेदमा अल्झिएका छन् ।
युद्धको सुरुआतमा वरवारा पनि हजारौँ मानिसझैँ सडकमा उत्रिएको थियो । रूसी दङ्गा प्रहरीले ती प्रदर्शनहरू कडा रूपमा दबाएको थियो । उनले त्यतिबेला आफूलाई के हुन सक्छ भन्ने थाहा नभए पनि प्रदर्शनमा सहभागी भएको बताए । गिरफ्तारी हुन सक्ने डरले घरपरिवारलाई तयारी गराएको थियो ।
“मलाई गिरफ्तार हुन सक्छ भन्ने थाहा थियो, त्यसैले घरमा चाबीको अर्को सेट छोडेकी थिएँ”, उनले स्मरण गरे, “म अनुपस्थित हुँदा मेरो बिरालो भोकै नबसोस् भन्ने पनि सोचेकी थिएँ ।”
उनी गिरफ्तारीबाट जोगिन सफल भयो, तर युद्धविरोधी याचिकामा हस्ताक्षर गरेपछि उनलाई सरकारी संस्थासँग सम्बन्धित जागिरबाट हटाइएको थियो । त्यसपछि उनका धेरै साथीहरू, जसलाई केही समय प्रहरीले हिरासतमा लिएको थियो, देश छोडेर बाहिर गएका थिए ।
तर वरवराले भने रूस छोड्ने निर्णय लिन सकेन । उनका अनुसार बसाइँ सर्ने अनिश्चितता र जोखिमभन्दा देशमै बस्ने विकल्प सजिलो लाग्यो । “मलाई तत्काल शारीरिक खतरा महसुस भएको थिएन । कसैले मेरो ढोकामा ढकढक्याएको थिएन, मलाई जेल हालिएको वा यातना दिइएको थिएन”, उनले भने ।
पछि उनले एउटा परोपकारी संस्थामा काम पाए । त्यहीँ काम गर्दै उहाँले देशभित्रै ‘जहाँ सकिन्छ त्यहाँ केही राम्रो गर्ने’ प्रयास नै अहिले सम्भव भएको एक मात्र मार्ग भएको महसुस गरे ।
सन् २०२२ को गर्मीमा उहाँले आफ्नो भावी पतिलाई भेटे । दुवैले गिरफ्तारीको जोखिम आए मात्रै देश छोड्ने निर्णय गर्ने सहमति गरेका थिए । अहिले उनले आफ्नो पतिको अघिल्लो विवाहबाट जन्मिएका दुई बच्चाको हेरचाह पनि गर्दै छन् ।
उनका अनुसार यही पारिवारिक जिम्मेवारीले आफूलाई चुप रहने निर्णयमा अझ दृढ बनाएको छ । “यदि म एक्लै हुन्थेँ भने सायद आफ्नो नाम लुकाउँदिनथेँ”, उनले भने, “तर अहिले म सौतेनी आमा हुँ, जटिल पारिवारिक संरचनाको हिस्सा हुँ र जिम्मेवारी महसुस गर्छु ।”
युद्धले उनको निजी जीवनमा पनि गहिरो प्रभाव पारेको छ । लामो समयसम्म उनलाई सामान्य खुशी अनुभव गर्न पनि गाह्रो भएको थियो । दुई वर्षपछि मात्र उहाँले एक दिन निस्फिक्री हिँड्दै गर्दा आफू दोषबोधबिना खुसी महसुस गर्न सकेको सम्झे।
“एक दिन हामी साथीहरू सँगै हिँडिरहेका थियौँ । मौसम राम्रो थियो, हामी केवल कुरा गरिरहेका थियौँ”, उनले भने, “त्यतिबेला मैले महसुस गरेँ—यो एउटा राम्रो दिन हो, र यसलाई रमाइलो मान्दा म दोषी महसुस गरिरहेकी छैन ।”
उनले अहिले आफ्ना सौतेनी सन्तानहरूको हेरचाहलाई एक प्रकारको ‘पलायन’ जस्तै ठाने । तर युद्धको छायाँ उनको दैनिक जीवनबाट हटेको छैन । परोपकारी कामका क्रममा पनि कससँग सहयोग लिने वा कससँग काम गर्ने भन्ने विषयमा उनको सधैँ सजग रहनुपर्ने बताए, किनकि धेरै संस्था र व्यक्तिहरू कुनै न कुनै रूपमा सैन्य अभियानसँग जोडिएका हुन सक्छन् ।
उनको पारिवारिक सम्बन्ध पनि युद्धले जटिल बनाएको छ । उनका पिता रूसको सुरक्षा सेवामा कार्यरत हुनुहुन्छ र युक्रेनमा लड्न जानुभएको थियो । उनले छोरीलाई आर्थिक सहयोग पनि पठाउने गर्नुहुन्छ ।
तर वरवराले त्यो सहयोग स्वीकार गर्न अस्वीकार गरेको छ । “उहाँ मेरा पिता हुनुहुन्छ, म उहाँलाई माया गर्छु”, उनले भने, “तर मेरो लागि त्यो पैसा स्वीकार गर्न सम्भव छैन ।”
प्रकाशित समय : १५:२८ बजे



















