गृहपृष्ठ होर्मुज सङ्कटले विश्व बजारमा हलचल
होर्मुज सङ्कटले विश्व बजारमा हलचल
Smoke plumes rise following missile strikes in Tehran on March 1, 2026. The United States and Israel launched strikes against Iran on February 28, killing Iran's supreme leader and top military leaders, prompting authorities to retaliate with strikes on Israel and US bases across the Gulf. (Photo by ATTA KENARE / AFP)
इरानमा अमेरिका–इजरायल संयुक्त आक्रमण र त्यसपछिको क्षेत्रीय तनावले विश्व ऊर्जा बजारलाई तीव्र झट्का दिएको छ । होर्मुज जलडमरूमध्य आसपास असुरक्षा चुलिँदा सोमबार एसियाली बजार खुल्नेबित्तिकै कच्चा तेल र ग्यासको मूल्य उकालो लाग्यो भने सेयर बजारहरू गहिरो गिरावटमा पुगे ।
इस्लामिक गणतन्त्र इरानमा सर्वोच्च नेता अयातुल्ला अली खामेनीसहित वरिष्ठ अधिकारीहरूको ज्यान जाने गरी भएको हमलापछि ब्रेन्ट क्रुड सुरुवाती कारोबारमा झन्डै १४ प्रतिशत र वेस्ट टेक्सास इन्टरमिडियेट करिब १२ प्रतिशतले उक्लिएको थियो । विश्व समुद्री तेल आपूर्तिको करिब २० प्रतिशत बग्ने होर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा अवरुद्ध भएको, केही जहाजमा आक्रमण भएको र बीमा लागत आकासिएको खबरले आपूर्ति अवरोधको डर झन् बढाएको हो । पछि केही लाभ घटे पनि कच्चा तेल नौ प्रतिशतभन्दा बढी माथि नै रह्यो भने युरोपेली ग्यासको मूल्य २० प्रतिशतभन्दा बढीले बढ्यो ।
टोकियो, हङकङ, सिङ्गापुर, मुम्बई, बैङ्कक, वेलिङ्गटन र ताइपेईका सेयर बजारहरू राताम्मे देखिए । लन्डन झन्डै एक प्रतिशत घट्दा फ्रान्कफर्ट र पेरिसमा दुई प्रतिशतभन्दा बढी गिरावट आयो । साङ्घाई भने सामान्य सुधारमा रह्यो र सिड्नी स्थिरजस्तै देखियो । अमेरिकी मुद्रा प्रारम्भमा कमजोर बने पनि पछि सुरक्षित लगानीतर्फको आकर्षणका कारण डलर र सुन दुवै बढेका छन्, जसमा सुन झन्डै दुई प्रतिशतले उक्लिएको छ ।
क्षेत्रीय उडान रद्द हुन थालेपछि एयरलाइन्स कम्पनीहरूको सेयरमा तीव्र गिरावट आयो । हङकङको क्याथे प्यासिफिक चार प्रतिशत, सिड्नीमा सूचीकृत क्वान्टास ५.४ प्रतिशत, सिङ्गापुर एयरलाइन्स ४.८ प्रतिशतले घटे । जापानका एएनए र जेएएल पनि पाँच प्रतिशतभन्दा बढी ओरालो लागे । यसको विपरीत ऊर्जा कम्पनीहरू भने उक्लिएस अस्ट्रेलियाका वुडसाइड एनर्जी र सान्तोस छ प्रतिशतभन्दा बढीले बढे, पेट्रोचाइना करिब चार प्रतिशत माथि पुग्यो र जापानको इन्पेक्सले पनि उल्लेख्य वृद्धि गर्यो ।
इरानले औपचारिक रूपमा जलडमरूमध्य बन्द नगरे पनि रिभोलुसनरी गाड्र्सले जहाजलाई सावधानी अपनाउन चेतावनी दिएको छ । ओमान र युएईको तट नजिक दुई जहाज ठोक्किएको र एउटा तेल ट्याङ्करमा प्रहार भई डुबेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रमुख ढुवानी कम्पनीहरूले आफ्ना जहाजहरूको मार्ग परिवर्तन गरिसकेको पुष्टि गरेका छन् । विश्लेषक अमेना बक्रका अनुसार अवस्था लम्बिए कच्चा तेलको मूल्य ९० डलर नाघ्न सक्छ र रणनीतिक भण्डारले पनि पूरै कमी धान्न नसक्ने जोखिम छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई सरकारविरुद्ध उठ्न आह्वान गर्दै युद्ध ‘चार हप्ता’ सम्म लम्बिन सक्ने बताएका छन । तर इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुखले संयुक्त राज्य अमेरिकासँग वार्ता नगर्ने स्पष्ट पार्नुरेका छन । इरान समर्थित हिजबुल्लाहले इजरायलतर्फ रकेट प्रहार गरेपछि लेबनानमा पनि आक्रमण भएको खबरले द्वन्द्व थप फैलिन सक्ने चिन्ता बढाएको छ ।
स्याक्सो मार्केटका चारु चनानाका अनुसार ऊर्जा मूल्य उच्च रहिरहे मुद्रास्फीति फेरि चर्किन सक्छ र अमेरिकी फेडरल रिजर्भलाई ब्याजदर कटौतीमा सतर्क बनाउनेछ । क्लेप्लरकी विश्लेषक मिसेल ब्रोहार्डले उच्च तेल मूल्यलाई ट्रम्प प्रशासनको ‘एचकिलिस हिल’ को संज्ञा दिँदै अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा मूल्यवृद्धिले राजनीतिक दबाब बढाउन सक्ने बताए ।
कतार विश्वको प्रमुख तरलीकृत प्राकृतिक ग्यास निर्यातकर्ता भएकाले ग्यास मूल्य वृद्धिले विश्व अर्थतन्त्रमा थप असर पार्ने आकलन गरिएको छ । पेरिसस्थित आइइएसइजी स्कुल अफ म्यानेजमेन्टका अर्थशास्त्री एरिक डोरका अनुसार तनाव छोटो अवधिमा सीमित रहे ठूलो असर नपर्न सक्छ, तर लामो समय कायम रहेमा बढ्दो ऊर्जा र ढुवानी लागतले विश्व आर्थिक वृद्धिमा मन्दीको छायाँ पार्न सक्छ ।
प्रकाशित समय : १७:११ बजे

















