गृहपृष्ठ अधिकतम मूल्यसूचीसहितको स्टिकर टाँस्नेबारे विभागसँग नाडाको छलफल
अधिकतम मूल्यसूचीसहितको स्टिकर टाँस्नेबारे विभागसँग नाडाको छलफल
काठमाडाैं । नाडाको एक प्रतिनिधि मण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीसंग अटोमोवाइल वस्तुहरुमा अधिकतम मूल्यसूचीसहितको स्टिकर टाँस्नेबारे छलफल गरेको छ।
सो नाडा प्रतिनिधि मण्डलले विभागले गत चैत ३० मा जारी गरेको प्रेस विज्ञप्तिमा ध्यानाकर्षण गर्दै विदेशबाट पैठारी गरी नेपालमा बिक्री वितरण गरिने सम्पूर्ण वस्तुहरुको अनिवार्य रुपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने साथै वस्तु विक्री गर्दा अनिवार्य रुपमा बिल बिजक जारी गर्ने व्यवस्थाको स्वागत गरेको हो।
यसै सन्दर्भमा नाडाले विभिन्न चासो र जिज्ञासा राख्दै थप स्पष्टताको लागि लिखित पत्र बुझाउदै समाधानका लागि समेत आग्रह गरेको छ। नाडा प्रतिनिधि मण्डलसँग सो विभागले जारी गरेको उक्त प्रेस विज्ञप्तिमा उल्लिखित विषयहरुमा छलफल हुँदा उपस्थित नाडा प्रतिनिधि मण्डलले उक्त विषयहरुलाई कसरी व्यावहारिक र कार्यान्वयन योग्य बनाउने, पुरानो स्टकमा भएका सामानहरुको हकमा के गर्ने तथा भन्सार विन्दुमै स्टिकर टाँस्नु पर्ने व्यवस्था कति व्यावहारिक हुने भन्दै नाडाले सदैव फेयर ट्रेड र ट्रान्सपरेन्सी व्यवसायलाई आधिकारिक रुपमै प्रवद्र्धन गर्दै आएको बताए
सो छलफलको क्रममा महानिर्देशक ज्ञवालीले उपभोक्ता संरक्षण ऐन २०३५ मा भएको व्यवस्थालाई नै कार्यान्वयनमा ल्याइएको र वर्तमान सरकारको १०० बुँदे शासकिय योजनामा समेत यो विषयलाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याउने उल्लेख भएकोले विभाग यसलाई कार्यान्वयनमा ल्याउन प्रतिबद्ध रहेको बताउदै यस सम्बन्धमा नाडाको थप चासो र जिज्ञासाहरु सकारात्मक रहेको बताएका थिए।
सो छलफल तथा भेटघाटमा उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल, कोषाध्यक्ष पंकज अग्रवाल, सहकोषाध्यक्ष निलमणी पाठक, केन्द्रीय कार्य समिति सदस्य तथा स्पेयर पार्टस समितिका सभापति दिपेन्द्रकुमार मिश्र र केन्द्रीय कार्य समिति सदस्य नारायणप्रसाद पौडेल समेतको उपस्थिति रहेको थियो।
प्रकाशित समय : २०:३४ बजे

















