global ime bank Long Banner Ad

गृहपृष्ठ अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा

अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा

अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्ष मुलुकलाई स्वर्णिम बनाउने गरी काम गर्ने बताएका छन ।

सुर्खेतमा आज भएको कांग्रेसको कर्णाली प्रदेश स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसलाई जिताएर मुलुकलाई ऐतिहासिक स्वर्णिम पाँच वर्ष बनाउन सबैलाई आग्रह गरे ।

उनले भने, “विगत पाँच/छ वर्ष केवल सरकार बनाउने र फेर्ने कामका लागिमात्र खर्च भयो । यसले तन्नेरीलाई रुष्ट बनायो । देशले गति समात्नु पर्नेमा गठबन्धनको राजनीतिले कहीँ न कहीँ दूषित बनायो । अब २०८२ देखि २०८७ सम्मको पाँच वर्ष हामी आग्रह गरिरहेका छौँ । यो एउटा मौकालाई नेपालको इतिहासलाई स्वर्णिम बनाउने छौँ भनेर सपना बोकेर आएका छौँ । हामीलाई नेपालको सीमितता थाहा छ । हामी यसलाई सुधार्छौँ । प्रतिज्ञापत्र सार्वजनिक गरेका छौँ । पाँच वर्ष भनेर कुरेर बस्दैनौँ । बैशाख १ गते आउँछ र एक महिनामा यो काम गर्यौैँ भन्छ कांग्रेसले । जेठ १ गते आउँछ र एक महिनामा यी काम गर्यौँ भन्छौँ ।”

सभापति थापाले पाँच वर्षका योजनाबारे सबै दलसँग सामूहिक टेबलमा बस्न तयार रहेको बताए । तर कोही पनि यसका लागि तयार नभएको भन्दै उनले कोही कसैले कुनै नाटक गर्यो भने कर्णालीले त्यसलाई पत्याउन नहुने उल्लेख गरे ।

उनले भने, ‘आओस् एमाले, आओस् नेपाली कम्युनिष्ट पार्टी र आओस् रास्वपा । एउटै मञ्चमा बसेर योजना बनाउँभन्दा कोही नआउने ।”

सभापति थापाले अब कुनै पनि निहत्था नेपालीको ज्यान जान नहुने र कुनै मुकुन्डोधारीले सिंहदरबार जलाउन पनि नहुने बताए । उनले भने, “सरकारको गोलीबाट कुनै पनि निहत्थाको ज्यान जानुहुँदैन । कुनै पनि मुकुन्डोधारीले सिंहदरबार अब जलाउनु पनि हुँदैन ।”

सभापति थापाले गत भदौ २३ गतेको आन्दोलनको जिम्मा लिने तर भदौ २४ गतेको विध्वंशको जिम्मा नलिने सोचले भोलि पनि मुलुकलाई दुर्घटना गराउन सक्ने बताए । विदेशमा भएकाहरुलाई सम्बोधन गर्दैै उनले भने, “सिंगो कांग्रेसको जिम्मा लिएर बोल्दैछु, २०४६ सालपछि भएका भनिएका सुनिएका काण्डहरुको छानबिन गर्दै गर्दां मेरै परिवारको कोही रहेछ भने पनि छुट्दैन । पाँच वर्षमा एक जनाले पनि कुनै गलत गर्यो भनेर सुन्न पाउनु हुँदैन ।”

सभापति थापालेले मतदातालाई आग्रह गर्दै भने, ‘यो पाँच वर्षलाई परीक्षण नगरौँ । हामी काम गरेर देखाउने हो । कर्णालीका बारेमा सबै राम्रो भन्न सकिन्छ तर प्रश्नसँगसँगै करिब ४० प्रतिशत गरिबी बोकेर कर्णाली किन बसिरहेको छ? देशभरिका बालबालिका बचाउँदा कर्णालीका किन बचाउन सकिएन ? समस्याको जरासम्म पुग्नुपर्छ ।”

कर्णाली र काठमाडौँ महानगरपालिकाको कुनै तुलनासमेत हुन नसक्ने सभापति थापाको भनाइ थियो । उनले भने, “कर्णालीको आय वार्षिक ५२ करोड छ । काठमाठौँमा १० अर्ब छ । प्रदेश सरकारले सबैभन्दा बढी कर यातायात र सडकबाट पाउँछ । यहाँ त यातायात र सडक नै कम छ ।”

कर्णालीको विकासको पहिलो मुद्धा संविधान पनि बदल कानुन पनि बदल भन्ने रहेको सभापति थापाले बताए । “काठमाडौँबाट कर लिन पाउने हक कर्णालीले लिनुपर्छ । म संविधान र कानून बदलाब गरौँ भनेर भन्छु । तर बनाउन कति दुःख छ । कर्णालीमा पैसा कम छ मात्र हैन खर्च गर्न सकिएको छैन । पहाडी र हिमाली जिल्लामा असार साउनभित्र खर्च गर्ने व्यवस्था राखेपछि कर्णालीको खर्च बजेट फ्रिज हुन्छ । अर्को वर्षको कार्तिक मंसिरसम्म नभएसम्म खर्च गर्न सकिन्न”, उनले भने ।

 

प्रकाशित समय : १९:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु