global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सपनाको लड्डु बाँड्न कैलाली–४ आएको होइन, काम गरेर देखाउँछु : गोरख बहादुर बिष्ट ‘आनन्द’

सपनाको लड्डु बाँड्न कैलाली–४ आएको होइन, काम गरेर देखाउँछु : गोरख बहादुर बिष्ट ‘आनन्द’

सपनाको लड्डु बाँड्न कैलाली–४ आएको होइन, काम गरेर देखाउँछु : गोरख बहादुर बिष्ट ‘आनन्द’

गोरखबहादुर बिष्ट ‘आनन्द’ नेपाली कांग्रेसका प्रभावशाली नेता हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छवी बनाएका बिष्ट चार दशक लामो समयदेखि कांग्रेसमा आवद्ध छन् । उनले कांग्रेसको पूर्वआमन्त्रित केन्द्रीय सदस्य रहनुका साथै नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति भएर काम गरिसकेका छन्। डोटीमा जन्मिएका बिष्ट अध्ययनको सिलसिलामा कैलाली पुगेका थिए। उनीपछि अध्ययनकै लागि भारत, काठमाडौं हुँदै अमेरिका पुगे। तर, जहाँ पुगेपनि बिष्टले मातृभूमि नेपाल र जन्मभूमि सुदूरपश्चिप्रतिको ममता कहिले मारेनन्। उनले भूकम्प, कोरोना महामारी, बाढी–पहिरो जस्ता विभिन्न असहज अवस्थामा थुप्रै सहयोग गरेका छन्। जन्मभूमि डोटीमा एम्बुलेन्स प्रदान गरेका छन्। विभिन्न विद्यालयमा सहयोग गर्नुका साथै छात्रवृत्तिका लागि रकम प्रदान गरेका छन्। आश्रमहरूमा थुप्रै सहयोग गरेका छन्।

 

विभिन्न देशमा अलपत्र परेका नेपालीको उद्दारका लागि समन्वय गर्ने तथा स्वदेश फिर्ता पठाउन भूमिका खेल्ने काममा पनि उनी सधैँ अग्रमोर्चामा देखिने व्यक्ति हुन्। उनले कोरोना कालमा अमेरिकामा असहज अवस्थामा रहेका हजारौं विद्यार्थीहरूको रेखदेख र व्यवस्थापन गरेका थिए। उनी आफूलाई भूइँमान्छे भएको र नेपाली जनताकै माझमा रहेर काम गर्ने इच्छा भएको बताउँदै आएका छन्। यसपटक बिष्टलाई कांग्रेसले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेर चुनावी अभियानमा छन् । चुनावी अभियानकै सिलसिलामा नेपाल न्यूज बैंकले आज बिष्टसँग उनका योजना र जनताका अपेक्षाका विषयमा केन्द्रित रहेर संवाद गरेको छ ।

चुनावी प्रतिस्पर्धामा होमिनुभा छ, कस्तो प्रतिक्रिया पाइराख्नु भएको छ ?
फागुन २१ को चुनावी माहोलमा होमिएका छौं । म जनताको घर आगनमा पुगिरहेको छु । सबै मतदाताको घरमा पुग्न सकेका छैनौं, जनताको घरआगनीमा पुग्ने क्रम जारी छ । पार्टीका विभिन्न निकाय र इकाइसँग छलफल तथा संवाद गरेर रणनीतिक रुपमा आफ्ना एजेण्डा बोकेर जनताको घरमा पुगिरहेका छौं। अहिलेसम्म एकदमै राम्रो प्रतिक्रिया पाउनुका साथै सबैको साथ पाइरहेको छु।

कैलाली–४ मा अन्य धेरै व्यक्तिहरूको चर्चा हुँदाहुँदै तपाईंलाई उम्मेदवार बनाइयो । पार्टीले तपाईंमा त्यस्तो दक्षता के देख्यो ?

मैंले नेपाली कांग्रेस पार्टीमा लामो समय संघर्ष गरेको छु । म करिब चार दशकदेखि कांग्रेसमा रहेर क्रियाशील भूमिका निर्वाह गरिरहेको व्यक्ति हुँ । मैले राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा पार्टीका विभिन्न इकाइमा बसेर पार्टीले सुम्पिएका थुप्रै जिम्मेवारी बहन गरेको छु । म कांग्रेसका लागि नयाँ व्यक्ति होइन । विद्यार्थी जीवनबाटै सक्रिय छु । म यहि माटोमा जन्मिएको र हुर्किएको व्यक्ति हुँ । खैरानामा मेरो घर छ । मेरा दाजुभाइ, दिदीबहिनी, स्टमित्र सबै कैलाली–४ मै हुनुहुन्छ । एसएलसीसम्मको अध्ययन पनि कैलालीबाटै गरेको हुँ । म पढाइको सिलसिलामा बाहिर गएँ। त्यसका बाबजुद पनि म सधैँ यहि माटो र भूमिमा सक्रियतापूर्वक काम गरिरहेको व्यक्ति हुँ ।

टिकट वितरणको समयमा हाम्रो पार्टी अलि असहज अवस्थाबाट अगाडि बढिरहेको थियो । तर, पार्टीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको थियो । पार्टीको निर्णय सबैका लागि स्वीकार्य हुन्छ । यहि क्रममा पार्टीले मलाई विश्वास गरेर कैलाली–४ को टिकट प्रदान गरेको हो । मैले कसैको मन दुखाउने गरी टिकट ल्याएको होइन । मेरा कैलाली–४ का नेताहरूको मन दुखाएर ल्याएको टिकटले मात्र मैंले चुनाव जित्न सक्ने अवस्था रहदैन । उहाँहरूको पार्टीमा ठूलो लगानी र योगदान छ । मेरो सबै नेताहरूप्रति उच्च सम्मान छ ।

जेनजी आन्दोलनपछि देशको परिस्थिति ठीक छैन । यस्तो बेला पार्टीले विश्वास गरेर टिकट दिएको अवस्थामा कैलाली–४ का कांग्रेसका सबै नेता एक ठाउँमा छौं । सबै जनाको मलाई अत्यन्तै सौहाद्रपूर्ण सहयोग छ । उहाँहरूले मेरो औला समातेर सहि बाटो डो¥याइरहनु भएको छ । यो ठाउँमा मभन्दा पनि धेरै बरिष्ठ व्यक्तिहरू हुनुहुन्छ, सबैप्रति मेरो उच्च सम्मान छ । यस क्षेत्रबाट टिकटका लागि सात जनाको नाम सिफारिस भएको थियो । उहाँहरू सबै सक्षम र योग्य हुनुहुन्छ। तर, लोकतान्त्रिक संस्कार भएको पार्टीका कार्यकर्ता हौं, पार्टीको निर्णयलाई सधैँ सिरोधार्य गर्दछौं ।

मनोनयनको समयमा पनि म भौतिक रुपमा उपस्थित हुन सकिन । पार्टीले अन्तिम समयमा मलाई टिकट प्रदान गर्यो । त्यसैले म समय अभावले मनोनयनमा उपस्थित हुन नसकेको हुँ । दोस्रो दिन बिहान आउँदै गर्दा यस क्षेत्रका नेता तथा कार्यकर्ताहरूले मलाई जुन विश्वास र ऊर्जाका साथ स्वागत गर्नुभयो त्यसले मलाई एकदमै खुसी तुल्याएको छ । चुनावको जितहार प्राविधिक पाटो हो, उहाँहरूको स्वागत र मप्रतिको विश्वासले नै मैले विजयको महशुस गरेको छु ।

तपाईं अमेरिका जस्तो सुविधासम्पन्न देशमा बसिरहेको व्यक्ति, मातृभूमिको यो राजनीतिप्रति कसरी आकर्षित हुनुभयो ?

म विलाशिता भोगी व्यक्ति होइनँ, म भूइँमान्छे हुँ । यहि नेपालको सुदूर भूमिमा जन्मिएँ । मेरो देशका र मेरो माटोका प्रत्येक समस्या मलाई थाहा छन्। विहान बेलुकी हातमुख जोड्न धौं–धौं भइरहेका दाजुभाइका दुःख मलाई थाहा छन्। किसान र मजदुरका हातमा उठेका ठेलाको दुखाइ म महशुस गर्नसक्छु । त्यसैले ममा सँधै गरिव र निमुखा जनताको पक्षमा काम गर्ने हुटहुटी छ । राजनीतिक समाजसेवाको सबैभन्दा उत्तम माध्यम हो । जहाँ हामी नीति निर्माण गरेरै जनताको पक्षमा काम गर्न सक्छौं। त्यसैले जनताको राजनीतिक सेवक बन्नका लागि मैले यो बाटो रोजेको हुँ।

मलाई विलाशिताको जीवन बाच्नु छैन, म मेरो देश र मेरो क्षेत्रका जनताले बाँचिरहेको जीवन उहाँहरूकै माझमा रहेर बाँच्न चाहन्छु भनेर राजनीति रोजेको व्यक्ति हुँ । म साधारण व्यक्तिहरूका बीचमा रहेर काम गर्न चाहन्छु । मलाई मेरो माटोको सुगन्ध र सुभाषले निकै आनन्दित तुल्याउँछ । त्यही माटोलाई फलाउन र फुलाउन केही योगदान दिनुपर्छ भन्ने भाव सँधै मेरो मनमा जिवन्त रुपमा पैदा भइरहन्छ । अमेरिका पुग्दा पनि सँधै मेरो मन, मष्तिष्कमा आफ्नो देश र आफ्नै माटो घुमेको हुन्थ्यो । त्यसैले म आफ्नो देश, आफ्नो माटो र आफ्नाहरूप्रतिको उत्तरदायीत्वबाट कहिले विमुख भइनँ । म प्रत्येक वर्ष दुई पटक नेपाल पुगेर मेरो जन्मभूमि डोटीका गाउँबस्तीमा पुगिरहेको हुन्थेँ । कैलाली पुगिरहेको हुन्थेँ। विभिन्न ठाउँमा सकेको सहयोग गरिरहेको हुन्थेँ।

मैले डोटीमा एम्बुलेन्स प्रदान गर्नुका साथै कोरोना महामारीको समयमा ठूलो सहयोग गरेको छु । भूकम्प र अन्य प्रकोपको समयमा सहयोग गरिरहेको हुन्थेँ। तर, म सस्तो लोकप्रियता र प्रचारमुखी स्वभावको मानिस भने होइनँ । सहयोग गरेको कुरा भनिराख्ने विषय होइन । तर, मैले म सँधै सुखदुःखमा जनताकै साथमा थिए भन्नलाई मात्र यो कुरा स्मरण गरेको हुँ। मुलुकको प्रजातान्त्रिक व्यवस्था अप्ठ्यारोमा पर्दा सँधै मैले राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा अग्रमोर्चामा रहेर काम गरेको छु । मैले मात्र होइन, जनताले पनि खुसी र समृद्ध जीवन बाँच्न सक्नुपर्छ भन्ने चेत छ । त्यसैले जनताको खुसी र समृद्धिका लागि म राजनीतिमा सक्रिय छु । म समृद्ध भएर मात्र हुँदैन, सबै जनता सुखी र समृद्ध हुनुपर्छ । सबैले शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत आवश्यकताको उचित अवसर पाउनुपर्छ । म यस्तै सकारात्मक रोच, विचार र युवा जोशका साथ कैलाली–४ मा आएको छु ।

कैलाली–४ को अवस्था र यहाँ जनताको अपेक्षा कस्तो पाउनु भयो ?

यहाँ तीनवटा पालिका छन् । गोदावरी नगरपालिका, गौरिगंगा नगरपालिका र चुरे गाउँपालिका कैलाली–४ मा रहेका छन्। चुरे गाउँपालिका भौगोलिक रुपमा निकै विकट छ । त्यहाँका दाजुभाइ तथा दिदीबहिनीहरूले कष्टकर जीवन बाँचिरहनु भएको छ । उहाँहरूले यातायात, विजुली बत्ती, औषधि उपचार, खानेपानी, बजारीकरण, शिक्षाको सुविधा, भौतिक पूर्वाधारलगायत थुप्रै समस्या खेपिरहनु भएको छ । गौरिगंगा र गोदावरीमा पनि कतिपय ठाउँ विकट छन् । यस ठाउँमा थारु समुदायको पनि ठूलो बसोबास छ । उहाँहरूले पनि थुप्रै समस्या खेपिरहनु भएको छ। भूमिहिनका समस्या छन्। मेरो निर्वाचन क्षेत्रमा ठूलो संख्यामा दलित दाजुभाइ तथा दिदीबहिनीहरूको बसोबास छ । उहाँहरू पनि ठूलो समस्यामा हुनुहुन्छ । उहाँहरूलाई उच्च सम्मान दिनु हामी राजनीतिक चेत भएका व्यक्तिहरूको दायित्व र अभिभारा हो। समतामूलक समाज निर्माण गर्नु हाम्रो अभिष्ट बन्नुपर्छ। थारु, जनजाति, महिला, पिछडिएका वर्गको विशेष उत्थान गर्नुपर्छ भन्नेमा म सचेत छु । चुनाव प्राविधिक कुरा हो। म भोली विजय हुँला वा नहुँला तर, जनताको माझमा सँधै रहिरहने छु । उहाँहरूका समस्या र मुद्दालाई बोकेर म सँधै पैरवी गरिरहने छु । म यो ठाउँसँग कहिले पनि नछुट्टिने गरी गाँसिन पुगेको छु । ममाथिको भरोसालाई कहिले कुठाराघात हुन दिने छैन।

तपाईंसँग चुनावी रणनीति र एजेण्डा के छन् ?

म निर्वाचनको मुखमा आएर जनता दिगभ्रमित हुने खोक्रा एजेण्डा बाँड्ने स्वभावको व्यक्ति होइन । मैंले बिसौं पेजको घोषणा पत्र लेखेँ भने पनि जनताले त्यसलाई पढ्नु भएको हुँदैन । घोषणा पत्रमा ठूला–ठूला सपना, राष्ट्रिय, अन्तर्राष्ट्रिय कुरा लेखिएका हुन्छन् । तर, ती घोषणा पत्रको प्रभावकारिता कति भएको छ भन्ने ख्याल गर्नुपर्छ । त्यसैले म सपनाको लड्डु बाँड्न यो निर्वाचन क्षेत्रमा आएको होइन । मेरो घोषणा पत्रमा जनताका तत्काल सम्बोधन गर्नुपर्ने विषय समेटिने छन् । यस क्षेत्रबाट कांग्रेसमाथि जनताले ठूलो भरोसा गर्नु भएको छ । यसअघि मेरा अग्रज नेता बीरबहादुर बलायरले निर्वाचन जितेको क्षेत्र हो यो। मेयर कांग्रेसकै विरेन्द्र भट्ट हुनुहुन्छ । प्रदेशमा राज्यमन्त्री यसै क्षेत्रको प्रकाश बम हुनुहुन्छ । गौरिगंगाको उपमेयर भोजबहादुर बम कांग्रेसकै हुनुहुन्छ। चुरे गाउँमालिकामा धनादेवी थापा कांग्रेसबाटै विजयी उपाध्यक्ष हुनुहुन्छ। धेरै ठाउँमा वडाध्यक्ष विजयी हुनु भएको छ। उहाँहरू सबैलाई मैले तीन वर्षको कार्यकालमा गरेका राम्रा कामको सूची मागेको छु ।

उहाँहरूलाई गर्न नसकेका अधुरा कामको सूची पनि मागेको छु। गरेका राम्रा कामका लागि मैले धन्यवाद दिनेछु र गर्न बाँकी काम सँगै मिलेर कसरी गर्न सकिन्छ भन्नेमा म प्रतिवद्ध रहने छु । यतिबेला हामीले जनताका लागि पहिलो चरणमा गर्नुपर्ने महत्त्वपूर्ण काम के हुन्, दोस्रो चरणमा गर्नु पर्ने वा तेस्रो, चौथो चरणमा गर्नु पर्ने काम के हुन् भनेर त्यसको छनोट गरिरहेका छौं । यसरी नै हामी घोषणा पत्र बनाउने छौं । राष्ट्रिय, अन्तर्राष्ट्रिय विषय समेटेको सुन्दा मिठो चास्नी जस्तो लाग्ने घोषणा पत्र हाम्रो प्राथमिकतामा छैन । हामी काम गर्न सक्ने विषय मात्र घोषणा पत्रमा समेट्ने छौं। त्यसपछि राष्ट्रिय बजेट, अन्तर्राष्ट्रिय बजेट र दातृनिकाय गुहार्ने कुरा गरौंला भनेर साधारण मोडेलमा आफ्ना योजना अगाडि सार्न खोजेको छु ।

हामीले भौतिक पूर्वाधारको पनि विकास गर्नुछ । कैलाली–४ औद्योगिक हव हो । यो सुदूरपश्चिमका सबै जिल्ला प्रवेश गर्ने प्रमुखद्वार पनि हो। गोदावरी, गौरिगंगा जस्ता धार्मिक क्षेत्र यहाँ छन्। चुरे पर्वतीय श्रृंखला यही छ । ऐतिहासिक गर्भा दरबार हाम्रो क्षेत्रमा छ । बुढीतोला, खानीडाँडा, लामिताल, मछेली पार्क र ताल, हाटखोली जस्ता थुप्रै पर्यटकीय गन्तव्य छन्। यी हाम्रा प्राकृतिक धरोहर हुन् । यस्ता ठाउँको प्रचारप्रसार, प्रवद्र्धन र संरक्षण गर्न सकेमा पर्यटक भित्र्याएर मनग्य आम्दानी गर्न सकिन्छ। यो ठाउँमा धेरै सम्भावना छन्। यस क्षेत्रलाई कृषि हव पनि बनाउन सकिन्छ। म हामीले गरेका राम्रा कामको प्रसंसा गर्न र गलत काम औंल्याउन पनि जनतासँग आग्रह गर्दछु। म राम्रा काममा हातेमालो गर्न सबै राजनीतिक दलका नेताहरूलाई पनि आग्रह गर्दछु। अब हामीले विरोधको राजनीतिक संस्कार त्याग्नुपर्छ । सबै राजनीतिक दलको उद्देश्य जनताको हित हो भने जनताको हितका लागि एकतावद्ध भएर किन काम नगर्ने?

निर्वाचनमा होमिँदा दलहरू विभिन्न आस्वासन दिन्छन्। तर, चुनाव जितेपछि काठमाडौंमा डेरा जमाएर बस्छन् । आफ्नो निर्वाचन क्षेत्रमा जनसम्पर्क, जनताका कुरा सुन्ने, समस्या समाधानको त कुरा परै जाओस फर्केर पनि आउँदैनन्। तपाईं पनि त्यस्तै गर्नुहुन्न भन्ने आधार के छ ?

अहिले हामी परिवर्तनको कुरा गरिरहेका छौं। रुपान्तरण र युवा भावनाका कुरा गरिरहेका छौं। युवा जोश जागरका कुरा गरिरहेका छौं। विगतका गल्ती कमजोरी सच्याउने कुरा गरिरहेका छौं। हामीले दिने भनेको फरक पन नै पूराना कमजोरी नदोहो¥याउने हो। हिजो धेरै राम्रो काम गर्ने जनप्रतिनिधिहरू पनि छन्। सबै जनप्रतिनिधि एकै खालका छन् भनेर एकै घानमा हाल्न हुँदैन। केहीका त्यस्ता कमजोरी रहे होलान्। अब ती कमजोरी सच्याउनुपर्छ। हामी अग्रजका राम्रा कुरा सिकेर कमिकमजोरी घटाउँदै अगाडि बढ्ने छौं । निर्वाचनमा कोही पनि हार्दैन, विजेता र उपविजेता हुने हो। म निर्वाचन जिते पनि उपविजेता भए पनि सधैँ जनताकै साथमा रहने छु।

कांग्रेसको विशेष महाधिवेशनपछि असन्तुष्टि बढेको भनिएकोछ, यसले तपाईंहरू जस्ता उम्मेदवारलाई कस्तो प्रभाव पर्ला :

शेरबहादुर देउवाको नाम लिँदा मलाई गौरव महशुस हुन्छ । सुदूरपश्चिम प्रदेश कुनै समयमा छुट्टै देश जस्तो थियो । मैले एसएलसी पास गरेर कलेज पढ्न काठमाडौं जाँदा रुपेडिया नानपारा भएर एक दिन नेपालगञ्ज बसेर अर्को दिनको रात्री बसमा काठमाडौं जानुपर्ने बाध्यात्मक अवस्था थियो । यो भूगोललाई काठमाडौंसँग जोडेर गरेर समृद्ध सुदूरपश्चिम निर्माण गर्ने कुरामा श्रद्वेय शेरबहादुर देउवाको अतुलनीय योगदान छ । उहाँ हाम्रो अभिभावक हो । उहाँ प्रजातान्त्रिक आन्दोलनको धरोहर हो। नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँको निकै ठूलो योगदान छ। त्यो योगदानलाई हामीले भूल्नु हुँदैन र उहाँको योगदानलाई कम आक्नु हुँदैन।

अर्को कुरा गगन थापा प्रत्येक नेपालीको मनमुटुमा बस्न सफल नेता हुनुहुन्छ । उहाँमा युवा भावना, जोस् र उत्साह छ । उहाँ समय अनुसार चल्न सक्ने र सबैलाई साथमा लिएर अगाडि बढ्न सक्ने व्यक्ति हो। यो परिस्थितिमा उहाँ सभापति बन्नु भएको छ । हामी हाम्रा नेताहरूले चुनावमा होमिन भनेर नै टिकट लिएर निर्वाचन क्षेत्रमा आएका हौं। पार्टीभित्र मत मतान्तर हुन्छ। तर, निर्वाचन र उम्मेदवारको विषयलाई लिएर पार्टीमा कुनै विवाद छैन। हामी पार्टीको सरसल्लाह अनुसार नै एकताका साथ चुनावी मैदानमा छौं।

तपाईंले आफ्नो निर्वाचन क्षेत्रका समस्या के देख्नु भएको छ र जनताको अपेक्षा के पाउनु भएको छ?

गरिबीको दर उच्च छ । रोजगारीका लागि भारत पहिलो रोजाइ बन्ने गरेको छ । भारतमा काम गर्दा पनि दैनिकी टार्न धौं–धौं छ । उद्योग, कलकारखाना तथा अन्य विकास पूर्वाधारमा पछाडि रहेकाले मेरो क्षेत्रमा रोजगारीको अभाव छ । चुरेका विभिन्न स्थानमा अझैँ पनि बाटोघाटो, शिक्षा, स्वास्थ्य, खाने पानी जस्ता आधारभूत आवस्यकताको प-याप्तता छैन । अस्पतालमा चिकित्सक र औषधिको अभाव छ ।

पहाडी क्षेत्रमा पुग्न बाटोघाटोको निकै समस्या छ । वर्षातको समयमा डोकोमा बिरामी बोकेर तराईं ल्याउनु पर्ने अवस्था कायमै छ। कृषि आधुनिकीकरण नहुँदा परम्परागत खेती प्रणालीबाट हामीले मनग्य आम्दानी गर्न सकिरहेका छैनौं । मेरो निर्वाचन क्षेत्रमा खुटिया, शिवगंगा जस्ता उच्च कटान गर्ने नदी छन्। अथाह पर्यटकको सम्भावना हुँदा पनि हामीले प्रचार र सदुपयोग गर्न सकिरहेका छैनौं। महिला तथा दलित सशक्तीकरणको अवस्था कमजोर छ। सरकारी क्षेत्रमा भ्रष्टाचार र अनियमितता व्याप्त छ। विकास बजेट पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन। गेटा मेडिकल कलेजका लागि तयारी पारिएका संरचना अलपत्र छन्। त्यो अलपत्र संरचनाले हामीलाई गिज्याइरहेको छ र अझैँ पनि सुदूरपश्चिमका जनता उपचारको लागि भारत वा काठमाडौं धाउन पर्ने बाध्यकारी अवस्था कायमै छ। गेटा मेडिकल कलेजका नाममा भएको राजनीतिक खिचातानीले सुदूरपश्चिमबासीको भावनामा चोट पु-याएको छ।

यसलाई तत्काल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्छ भन्नेमा म दृढ छु। सीमान्तकृत समुदाय, थारु, दलित, जनजातिको उत्थानका लागि गर्नुपर्ने थुप्रै काम छन्। फरक क्षमता भएका दाजुभाइ दिदीबहिनीहरू हाम्रो नजरमा पर्न सक्नु भएको छैन। हाम्रा कला र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्नुछ। प्रदेश राजधानी गोदावरी तोकिए पनि यहाँ कुनै पूर्वाधार बन्न सकेका छैनन्। राजधानीको मुद्दालाई तार्किक निष्कर्षमा पु¥याउनु हाम्रो दायित्व हो। गर्नुपर्ने काम थुप्रै छन्। यो छोटो अन्तरवार्तामा सबै योजना भनेर पनि सम्भव छैन। यी जनताको दैनिकीसँग जोडिएका समस्या हुन् र जनताले पनि यीनै समस्याको दीगो समाधान खोजिरहनु भएको छ।

कांग्रेसले जेनजी भावनालाई कसरी समेटेको छ?

जेनजी आन्दोलनपछि नेपालमा विशेष खालको राजनीतिक परिस्थिति सिर्जना भएको छ। कांग्रेसमै पनि विशेष महाधिवेशनबाट गगन थापा सभापति बन्नु भएको छ । उहाँ प्रत्येक नेपालीको मनमुटुमा बस्न सफल युवा जोश र भावना भएको व्यक्ति हो । उहाँ समय, परिस्थिति अनुसार चल्न सक्ने र सबैलाई साथमा लिएर हिँड्न सक्ने व्यक्ति हो । विषम परिस्थितिमा उहाँ पार्टीको नेतृत्वमा हुनुहुन्छ । हामी निर्वाचनमा होमिँदा आदरणीय नेता शेरबहादुर देउवाको पनि साथ छ ।

गगन थापा चार पटक संसद भइसक्नु भएको छ । अहिले जेनजी मुमेन्टपछि युवाहरूलाई स्थान दिनुपर्छ भन्ने कुरा भइरहेको छ । युवामा राजनीतिमा सहभागी हुनुपर्छ र राजनीति नै देश बनाउने पहिलो बाटो हो भन्ने चेतना जागृत भएको छ । तर, कांग्रेसको कुरा गर्दा हाम्रो आदरणीय नेता शेरबहादुर देउवा ४४ वर्षकै उमेरमा गृहमन्त्री भइसक्नु भएको थियो। गगन थापाकै कुरा गर्दा २० वर्षभन्दा लामो संसदीय यात्रा भइसक्यो, कांग्रेसले त सधैँ युवालाई स्थान दिएको छ । कांग्रेसमा वडा सदस्य, अध्यक्ष, पालिकाका उपप्रमुखमा धेरै जसो युवाकै प्रतिनिधित्व छ ।

भदौ २३ र २४ को घटनाले मलाई विक्षिप्त बनाएको छ । भविष्यका कर्णधारहरूले अनाहकमा ज्यान गुमाएको घटनाले मलाई सँधै दुःखी तुल्याउने गरेको छ । त्यो घटनालाई प्रायोजित रुपमा भएको हामीले लिएका छौं । हाम्रा जलेका संरचना देख्दा अहिले पनि मुटु काप्छ । मेरो कुरा गर्दा कैलाली–४ मा मैले युवाहरूको राम्रो साथ पाएको छु । उहाँहरूलाई नै साथमा लिएर र अग्रजहरूको सम्मान गरेर म अगाडि बढ्ने छु । युवाको जोश र अग्रजको अनुभवको समिश्रणलाई सदुपयोग गर्नसके मात्र समृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ । म मेरो राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्बन्धलाई यस क्षेत्रको विकासमा सदुपयोग गर्ने छु ।

यो चुनावी दौरानमा मतदाताहरुलाई के भन्नुहुन्छ ?

म प्रत्येक दाजुभाइ तथा दिदीबहिनीहरूको घर आगनमा पुगिरहेको छु । उहाँका विचार र अपेक्षा सुनिरहेको छु । भोली अहिले उहाँहरूले राखेका माग र भावनाहरूको नै हामीले सम्बोधन गर्ने हो। म समाजसेवाबाट राजनीतिमा आएको व्यक्ति हुँ । मेरो पवित्र भावना छ । मलाई कुनै व्यक्तिलाई दुःख पर्दा आफ्नै पीडा हो झैँ ठान्ने गरेको छु । ममा कोमल भावना छ ।

जनताको काम गर्छु भनेर जनप्रतिनिधि भइसकेपछि त्यो व्यक्तिको आफ्नो व्यक्तिगत जीवन हुँदैन। यो मर्मलाई मैले राम्रोसँग बुझेको छु । जनप्रतिनिधि पारिवारिक उल्झनमा भुल्नु हुँदैन। जनप्रतिनिधिसँग जनताको सहज पहुँच हुनुपर्छ । त्यस्तै सहज जनपहुँच भएको प्रतिनिधि बन्न चाहन्छु । म मानवतामा विश्वास गर्छु, त्यसैले सधैँ जनताको माझमा रहेर उहाँहरूका काम गर्न चाहन्छु। त्यसैले जनताले मलाई विश्वास गरेर विजयी गराउनु हुनेछ भन्ने विश्वास लिएको छु ।

प्रकाशित समय : १५:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु