गृहपृष्ठ निर्वाचनलाई मानवअधिकारमैत्री बनाउन जोड
निर्वाचनलाई मानवअधिकारमैत्री बनाउन जोड
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले स्वच्छ, निष्पक्ष र मानव अधिकारमैत्री निर्वाचन बनाउनुपर्ने बताए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आयोगले आज यहाँ आयोजना गरेको ‘निर्वाचनमा मानवअधिकार र राजनीतिक दलको भूमिका’ विषयक छलफलमा उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुनुपर्नेमा जोड दिए ।
अध्यक्ष मगरले भयरहित वातावरणमा निर्वाचन हुने अवस्थाको सुनिश्चितता गर्न आयोगले अनुगमनलाई जोड दिइरहेको बताए । उनले निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन राजनीतिक दलको भूमिका महत्त्वपूर्ण हुने भन्दै त्यसमा सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले पनि निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेताहरूले निर्वाचनमा मानवअधिकारको अवस्था अनुगमनलाई आयोगले थप प्रभावकारी बनाउनुपर्ने र निर्वाचनका सम्बन्धमा आयोगबाट यसअघि भएका सिफारिस कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।
आयोगले विगतमा पनि निर्वाचनमा मानवअधिकारको अवस्था अनुगमन गरी नेपाल सरकार, राजनीतिक दल र निर्वाचन आयोगलाई सुझाव तथा सिफारिसहरू गर्र्दै आएको छ ।
प्रकाशित समय : १८:५१ बजे




















