global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ प्रतिनिधिसभा निर्वाचनः सिरहा– १ मा पुराना दललाई नयाँको चुनौती

प्रतिनिधिसभा निर्वाचनः सिरहा– १ मा पुराना दललाई नयाँको चुनौती

प्रतिनिधिसभा निर्वाचनः सिरहा– १ मा पुराना दललाई नयाँको चुनौती

आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि सिरहा निर्वाचन क्षेत्र नं १ मा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ ।

बहुदलीय व्यवस्था पुनःस्थापनापछिका सातवटा निर्वाचनमध्ये चार पटक नेपाली कांग्रेस र दुई पटक नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जितेको यो क्षेत्रमा यसपटक विरासत जोगाउने पुरानै चुनौतीका बीच नयाँ शक्तिहरूको उदयले प्रतिस्पर्धालाई थप पेचिलो बनाएको छ ।

२०४८ सालदेखि २०७९ सम्मको चुनावी इतिहास हेर्दा यो क्षेत्रमा मुख्य शक्तिहरूले आलोपालोझैँ गरी मत आफ्नो पक्षमा पारेका थिए । कांग्रेसले २०४८, २०५१, २०७० (संविधानसभा) र २०७४ मा यहाँ जित हासिल गरेको थियो । एमालेले २०५६ र २०७९ मा बाजी मार्दा २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनाधिकार फोरमले जित निकालेको थियो ।

यसपटक कांग्रेसले नयाँ अनुहारका रूपमा रामसुन्दर चौधरीलाई मैदानमा उतारेको छ । आफ्ना प्रभावशाली नेताहरू पदमनारायण चौधरी र बौद्धिक व्यक्तित्व स्व प्रदीप गिरीको विरासत थाम्ने दबाब कांग्रेसलाई छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट निवर्तमान सांसद रामशङ्कर यादव दोहोरिएर चुनावी मैदानमा छन । २०७९ सालको निर्वाचनमा एमाले–जसपा गठबन्धनबाट २९ हजार ४६२ मत ल्याई विजयी हुनुभएका यादवका लागि आफ्नो सिट सुरक्षित राख्ने चुनौती छ ।

एमाले विभाजनपछि माधव नेपाल नेतृत्व हुँदै नेपाली कम्युनिष्ट पार्टीबाट रामचन्द्र यादव उम्मेदवार छन । २०५६ सालमा एमालेबाट निर्वाचित भइसक्नुभएका यादव यसपटक ‘जेनजी’ आन्दोलनले उठाएका मुद्दाहरू आफ्नो पार्टीले आत्मसात् गरेकाले जनताले आफूलाई रोज्ने दाबी गर्छन ।

त्यसैगरी जनता समाजवादी पार्टी नेपालका उम्मेदवार सत्यनारायण यादव सङ्घीयता र आरक्षणका लागि भएको आन्दोलनको मूल्य चुकाउन आफू उम्मेदवार बनेको बताउछन । यस निर्वाचनमा सबैभन्दा धेरै चर्चाको केन्द्रमा चुनावी सरकारका युवा तथा खेलकुदमन्त्रीसमेत रहेका बब्लु गुप्ता छन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रत्याशी बन्नुभएका गुप्ता ‘जेनजी’ आन्दोलनको जगमा उभिएर सुशासन र भ्रष्टाचार अन्त्यको एजेन्डासहित चुनावी मैदानमा छन । उनका बुबा, कांग्रेसका पुराना नेता तथा पूर्वजिल्ला उपसभापति विष्णु गुप्ताको व्यक्तिगत प्रभाव र युवा पुस्ताको जोसका कारण यो क्षेत्रको चुनावी चर्चाको केन्द्रमा परेका हुन ।

धनगढीमाई नगरपालिका १, २, लक्ष्मीपुरपतारी गाउँपालिका २ र ६, लहान नगरपालिका १ देखि २४, सखुवानन्कारकट्टी तथा भगवानपुर गाउँपालिकाको १ देखि ५ नं सम्म गरी कूल ४१ वडा रहेको सिरहा १ मा ५८ हजार ८५५ पुरुष र ५३ हजार ९४ महिला गरी एक लाख ११ हजार ९४९ मतदाता छन् । नयाँ र पुराना दलका गरी १४ दलीय र १८ स्वतन्त्र गरी ३२ जना उम्मेदवार रहेको यो क्षेत्रमा उज्यालो नेपाल पार्टीकी ताराकुमारी चौधरी र स्वतन्त्र उम्मेदवारको रुपमा लहान १ की सुलोचना कुश्मी गरी दुई महिला उम्मेदवार छन् ।

पछिल्लो निर्वाचनमा समानुपातिकतर्फ कांग्रेस १६ हजार ४८८, एमाले १३ हजार ३३७, जसपा नेपाल १० हजार ४८१, माओवादी केन्द्र एक हजार ७१३, एकीकृत समाजवादी सात हजार ८६० र जनमत पार्टीले आठ हजार १३८ मत पाएका थिए ।

विगतको यो मत परिणामले कुनै पनि दलको स्पष्ट पकड नरहेको देखाउँछ । पुरानो राजनीतिक विरासत र नयाँ पुस्ताको ‘परिवर्तन’ को चाहनाबीच आगामी २१ फागुनको निर्वाचनमा सिरहा १ का जनताले कसलाई आफ्नो प्रतिनिधि छान्छन् भन्ने विषय रोचक बनेको छ ।

प्रकाशित समय : २०:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु