गृहपृष्ठ चार करोड मूल्य बराबरको धान खरिद
चार करोड मूल्य बराबरको धान खरिद
महेन्द्रनगर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय जनकपुरधामले विगत दुई महिना किसानबाट चार करोड सात लाख ६४ हजार २९० रुपैयाँ मूल्य बराबरको धान खरिद गरेको जनाएको छ ।
कार्यालयका अनुसार महोत्तरी र धनुषा जिल्लाका २४० किसानबाट हालसम्म ११ हजार २३५ क्विन्टल सोना मन्सुली धान खरिद गरिएको हो । प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ ३३ पैसाको दरले ११ हजार २३५ क्विन्टल धान खरिद गरिएको कार्यालयका प्रादेशिक प्रमुख निर्मल थापाले बताए । गत मङ्सिर २८ गतेदेखि धान खरिद सुरु गरिएको र हालसम्म सो परिमाणको धान खरिद भइसकेको कार्यालयका प्रमुख थापाले बताए ।
उनका अनुसार यस वर्ष धान बिक्रीका लागि धनुषा र महोत्तरीका ठूलो सङ्ख्यामा किसानले कार्यालयमा नाम दर्ता गराएको छ । बजार मूल्यभन्दा यस कार्यालयबाट धान खरिद मूल्य बढी भएकाले धान बिक्री गर्ने किसान आउने क्रम बढेको उनको भनाइ छ ।
बजारमा ३ हजार रुपैयाँ प्रतिक्विन्टल धान खरिद बिक्री भइरहेको छ । कम्पनीले प्रतिकिसान अधिकतम ५० क्विन्टलसम्म धान खरिद गर्दै आएको भए पनि स्थानीय तहको सिफारिसका आधारमा केही किसानबाट करिब ५५ क्विन्टलसम्म धान खरिद गरिएको सहायक प्रबन्धक गङ्गाप्रसाद साहले जानकारी दिए ।
प्रकाशित समय : १७:०२ बजे



















