गृहपृष्ठ कर्णालीमा पहिलो पटक १३२ केभी प्रसारण लाइन सञ्चालन
कर्णालीमा पहिलो पटक १३२ केभी प्रसारण लाइन सञ्चालन
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी क्षमताको प्रसारण लाइन सञ्चालनमा ल्याएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कोहलपुर–सुर्खेत १३२ केभी खण्ड सञ्चालनमा आएपछि यस प्रदेशको आर्थिक वृद्धिमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे। यसअघि ३३ केभी क्षमताको सानो प्रसारण लाइनबाट विद्युत् आपूर्ति हुँदा कर्णालीमा ओभरलोड हुने, छिनछिनमा बत्ती गइरहने र लो–भोल्टेजको गम्भीर समस्या थियो। अब भने यी समस्याहरूमा उल्लेख्य सुधार आउने र कर्णालीमा ठूला उद्योगधन्दा सञ्चालनका लागि बाटो खुल्ने उनले बताए।
आयोजनाको कामलाई तीव्रता दिन कार्यकारी निर्देशक शाक्यले पुस तेस्रो साता आफैँ स्थलगत अवलोकन गरी ठेकेदार कम्पनीलाई छिटो चार्ज गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए। प्राधिकरणको सक्रियता र निर्देशनबमोजिम करिब ५२ किलोमिटर लामो कोहलपुर–सुर्खेत खण्डको काम सम्पन्न भएको हो।
आयोजना प्रमुख रविकुमार चौधरीका अनुसार प्राधिकरणले दिएको जिम्मेवारी र ताकेतापछि यो सफलता मिलेको हो। कोहलपुरदेखि सुर्खेतसम्मको पहिलो खण्ड सञ्चालनमा आएपछि अब सुर्खेतदेखि दैलेखसम्मको दोस्रो खण्डको काम पनि तीव्र गतिमा अघि बढ्ने उनले जानकारी दिए।
कर्णालीवासीका लागि यो आयोजना सञ्चालनमा आउनु ऊर्जा क्षेत्रमा एउटा ऐतिहासिक उपलब्धि मानिएको छ। यसले घरायसी ग्राहकका लागि मात्र नभई औद्योगिक क्षेत्रको विकासमा समेत नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ। प्राधिकरणले यससँगै प्रदेशभरिको विद्युत् वितरण प्रणालीलाई थप मजबुत बनाउने योजना अघि सारेको छ।
प्रकाशित समय : ११:४१ बजे




















