global ime bank Long Banner Ad

गृहपृष्ठ रुस–युक्रेन युद्ध अन्त्यतर्फ प्रगति भएको ट्रम्पको दाबी

रुस–युक्रेन युद्ध अन्त्यतर्फ प्रगति भएको ट्रम्पको दाबी

रुस–युक्रेन युद्ध अन्त्यतर्फ प्रगति भएको ट्रम्पको दाबी JPG converted with https://ezgif.com/webp-to-jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस–युक्रेन युद्ध अन्त्यतर्फ केही प्रगति भइरहेको बताएका छन् । यद्यपि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको चिसिएको सम्बन्धका कारण शान्ति प्रयास “कठिन” बनेको पनि उनले स्वीकार गरेका छन् ।

शुक्रबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने,“जेलेन्स्की र पुटिन एक–अर्कालाई घृणा गर्छन् । जसले समाधान निकाल्न निकै कठिन बनाएको छ । तर हामी सम्झौताका निकै नजिक पुगिरहेका छौँ । यसलाई टुंग्याउने राम्रो सम्भावना देख्छु ।”

ट्रम्पका यी अभिव्यक्ति उनले हालै पुटिनसँग फोन संवाद गरेको खुलासा गरेको एक दिनपछि आएका हुन् । उक्त संवादमा ट्रम्पले कडा जाडोका कारण मानवीय अवस्था जटिल बनेको भन्दै कीभ तथा अन्य शहरमाथि आक्रमण केही समयका लागि रोक्न अनुरोध गरेका थिए ।

क्याबिनेट बैठकमा ट्रम्पले भने,“मैले व्यक्तिगत रूपमा राष्ट्रपति पुटिनलाई एक हप्ताका लागि कीभ र अन्य सहरहरूमा आक्रमण नगर्न आग्रह गरेँ, र उहाँ त्यसमा सहमत हुनुभयो । धेरैले भनेका थिए—‘फोन कल खेर जानेछ’—तर उहाँले त्यसो गर्नुभएन ।”

आफ्नो अनुरोधको कारण स्पष्ट पार्दै ट्रम्पले युक्रेन क्षेत्रमा असाधारण चिसो परेको उल्लेख गरे । “त्यहाँ असाधारण जाडो छ, रेकर्ड तोड्ने चिसो । यो यहाँ वासिङ्टनमा परेको चिसोसँग मिल्दोजुल्दो छ,” उनले भने ।

तर, कूटनीतिक प्रयासका बीच पनि जमिनमा हिंसा भने जारी छ । युक्रेनी अधिकारीहरूका अनुसार बिहीबार राति दक्षिणी जापोरिझ्झिया क्षेत्रमा रूसी ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको छ । यस्तै, राष्ट्रपति जेलेन्स्कीले रूसले अर्को ठूलो आक्रमणको तयारी गरिरहेको चेतावनी दिएका छन् ।

यी घटनाक्रम आउँदो सप्ताहन्तमा हुने अपेक्षित अमेरिकी मध्यस्थतामा शान्ति वार्ताको पृष्ठभूमिमा भएका हुन् । यसैबीच, रूसले युद्ध अन्त्यका लागि वार्ताका लागि जेलेन्स्कीलाई मस्को आमन्त्रण गरेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीबार उक्त जानकारी दिएका हुन् ।
गत साता अबुधाबीमा रूस, युक्रेन र अमेरिकाबीच पहिलो त्रिपक्षीय बैठक सम्पन्न भएपछि मस्कोलाई सम्भावित वार्ता स्थलका रूपमा विचार गरिएको पेस्कोभले रूसी समाचार संस्था टासलाई बताएका छन् ।

लगातार दोस्रो दिन वरिष्ठ क्रेमलिन अधिकारीहरूले जेलेन्स्की वार्ताका लागि तयार भए मस्कोमा स्वागत गरिने संकेत दिएका छन् । राष्ट्रपति सहायक युरी उशाकोभले युक्रेनी राष्ट्रपतिको सुरक्षाको पूर्ण प्रत्याभूति र आवश्यक सबै व्यवस्था गरिने बताएका छन् । ९एएनआई०

प्रकाशित समय : १०:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु