global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ झापाको पाँचै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

झापाको पाँचै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

झापाको पाँचै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाको पाँच वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

झापा निर्वाचन क्षेत्र नं ३ को निर्वाचनसमेत हेर्नेगरी जिल्ला समन्वय समिति झापामा मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबार स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

झापा जिल्लाका लागि मुख्य निर्वाचन अधिकृतको रूपमा जिल्ला अदालतका मुख्य न्यायाधीश उमेशप्रसाद लुइँटेल रहेका छन् । जिल्लाका अरु चार वटा निर्वाचन क्षेत्रमा समेत निर्वाचन अधिकृतको कार्यालय शनिबार स्थापना भइसकेको छ ।
क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय मेचीनगर नगरपालिकाको कार्यालयमा स्थापना गरिएको छ । उक्त क्षेत्रमा गोपी विश्वकर्मा निर्वाचन अधिकृत र टेकबहादुर श्रेष्ठ सहायक निर्वाचन अधिकृत रहेका छन् ।

यसैगरी, अर्जुनधारा नगरपालिकाको कार्यालयमा क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यस क्षेत्रमा निर्वाचन अधिकृतको रूपमा महेश खत्री र सहायक निर्वाचन अधिकृतको रूपमा शुक्रराज वान्तवा रहेका छन् ।

झापा निर्वाचन क्षेत्र नं ४ को निर्वाचन अधिकृतको कार्यालय कनकार्य नगरपालिका–१ स्थित तुरसा हेमरम प्रतिष्ठानको कार्यालयमा राखिएको छ । सो क्षेत्रको निर्वाचन अधिकृत भिमप्रसाद भुर्तेल र सहायक निर्वाचन अधिकृत क्षेत्रनाथ शर्मा हुरहेका छन् ।

निर्वाचन क्षेत्र नं ५ को निर्वाचन अधिकृतको कार्यालय दमक नगरपालिका–८ स्थित अग्र्यानिक कृषि केन्द्रको भवनमा स्थापना गरिएको छ । यस क्षेत्रको निर्वाचन अधिकृत विदुरकुमार कार्की र सहायक निर्वाचन अधिकृत जीतबहादुर श्रेष्ठ रहेका छन्।

मुख्य निर्वाचन अधिकृत लुइँटेलले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दलसहित सरोकारवालाको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । झापामा २८५ वटा मतदानस्थल र ८१५ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताउनुभयो । उहाँका अनुसार जिल्लामा सात लाख १३ हजार ५३७ मतदाता रहेका छन् । कूल मतदातामध्ये महिला तीन लाख ५५ हजार १८३, पुरुष तीन लाख ५८ हजार ३४६ र अन्य आठ जना रहेको उनको भनाइ छ ।

जिल्लामा विसंं २०७९ को प्रतिनिधिसभा चुनावको तुलनामा यसपटक ४९ मतदान केन्द्र र ५० हजार २२६ जना मतदाता थप भएकोसमेत उनले जानकारी दिए ।

प्रकाशित समय : १०:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु