मधेशमा ‘तिलासक्रायत’को चहलपहल
वि.सं.२०८२ पुस २७ आइतवार ०९:१५
shares

महोत्तरी । ‘तिलासक्रायत’ पर्वको चहलपहल बढ्दै छ । माघेसङ्क्रान्ति भनिने पर्वलाई मिथिलामा ‘तिलासक्रायत’ भन्ने गरिएको छ । यो पर्व यसपालि आगामी बिहीबार मनाइँदैछ । लगातारजस्तै बढेको बाक्लो हुस्सुले डम्म ढाकेर चिसो सिरेटो चल्ने क्रम पछिल्ला दुईतीन दिनयता अपराह्नपछि कम हुँदै गएपछि पर्वको तयारीमा लाग्न थोरै राहत मिलेको सर्वसाधारणले बताएका छन् । दुईतीन दिनदेखि दिउँसोतिर हुस्सु फाटेर केहीबेर घाम देखिन थालेपछि यतातिरका साँझपख लाग्ने साप्ताहिक हटिया (निश्चित बार लाग्ने बजार)मा पर्वका सामानको खरिदबिक्रीले चहलपहल बढ्दै गएको छ ।
यो पर्वमा गरिब किसान केही नगद आर्जन हुने आसमा निकै व्यस्त हुन्छन् । यसबेला आफ्ना उत्पादित बस्तुले राम्रो मूल्य पाउने आसमा गरिब किसानको व्यस्तता बढ्ने गरेको हो । कठ्याङग्रिँने ठिही खप्दै किसान उखु पेलेर मिठ्ठा (सक्खर) बनाउन र बजार पुर्याएर बेच्न तल्लिन छन् । त्यसैगरी, पर्वविशेषका खाद्यवस्तु सखरखण्ड, तरुल र सुथुनी (माटोमुनि फल्ने मधेशको एकप्रकारको फल) खन्न, बजार पुर्याएर बेच्न किसानलाई भ्याइनभ्याई छ । यसपालि लामो शीतलहरले काटेर खलोमा राखिएको तील भने कोसा सुक्न नपाएर पूर्वपश्चिम राजमार्गको सेरोफेरो र त्योभन्दा तलका किसानले झार्न पाएका छैनन् ।
किसानले झार्न भ्याएका तील बजारमा पुर्याउनासाथ राम्रो मूल्यमा बिकेको बर्दिबास–३ चुरेकाछ बस्ती पर्साहीधापका बुद्धबहादुर मोक्तान बताउँछन् । ‘हाम्रो काछतिर त खासै हुस्सु लागेन, कहिलेकाहीँमात्रै हो, त्यसैले तील झार्न पायौँ,’ उनी भन्छन्, ‘बेलाले होला, राम्रै दाम पाइयो ।’ तील अहिले ३ सय रुपैयाँदेखि ३ सय ४० रुपैयाँ प्रतिकिलोसम्म बेचिएको उनको भनाइ छ । त्यसैगरी, अहिले सक्खर, सखरखण्ड, तरुल र सुथुनीले पनि राम्रो मूल्य पाउने गरेको किसान बताउँछन् ।

























