गृहपृष्ठ एनसीएचएलको १७औँ वार्षिकोत्सव सम्पन्न, नयाँ प्रडक्ट पनि सार्वजनिक
एनसीएचएलको १७औँ वार्षिकोत्सव सम्पन्न, नयाँ प्रडक्ट पनि सार्वजनिक
नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को १७औँ वार्षिकोत्सव सम्पन्न भएको छ । एनसीएचएलले मंगलबार राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा काठमाडौंमा एक औपचारिक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू, नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स संघका उपाध्यक्ष, नेपाल वित्तीय संस्था संघका अध्यक्ष, एनसीएचएलका पूर्व तथा वर्तमान अध्यक्ष र सञ्चालकहरूका साथै अर्थ मन्त्रालय, नेपाल सरकारका विभिन्न निकाय, अध्यागमन विभाग, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक (पीएसपी) तथा भुक्तानी सेवा अपरेटर (पीएसओ)का प्रमुखहरूको उपस्थिति रहेको थियो ।
नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाहरूको नेतृत्वमा २०६५ साल पौष ८ गते स्थापना भएको एनसीएचएलले नेपालमा राष्ट्रिय भुक्तानी, क्लियरिङ्ग तथा सेटलमेन्ट प्रणाली विकास गर्दै आएको छ। प्रारम्भिक चरणमा म्यानुअल चेक क्लियरिङ्गलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्न २०६८ सालमा एनसीएचएल–ईसीसी सञ्चालनमा ल्याएको संस्थाले नेपाल राष्ट्र बैंकको रणनीति अनुरूप आधुनिक डिजिटल भुक्तानी प्रणालीहरू क्रमशः सञ्चालनमा ल्याउँदै आएको छ।
वार्षिकोत्सव समारोहमा एनसीएचएलले कम्पनीमा १० वर्ष सेवा पूरा गरेका हेड–पेमेन्ट सिस्टम छवि सापकोटालाई दीर्घ सेवा पदकबाट सम्मान गरेको छ । साथै, संस्थाका पूर्व अध्यक्ष अनिल केशरी शाह र अशोक शम्शेर जबरालाई एनसीएचएलको स्थापना र विकासमा पुर्याएको योगदानको कदर गर्दै विशेष सम्मान पत्र प्रदान गरिएको छ।
कार्यक्रममा एनसीएचएलले विभिन्न नवीन डिजिटल प्रोडक्ट तथा सोलुसनको अनावरणसमेत गरेको छ । सिद्धार्थ बैंकसँगको सहकार्यमा रिटेल ग्राहकका लागि डिजिटल मोबाइल बैंकिङ सोलुसन, नबिल बैंकसँगको सहकार्यमा कर्पोरेट पे २.०, माछापुच्छ्रे बैंकसँगको सहकार्यमा कार्ड सेन्ट्रल सिस्टम तथा स्मार्ट चोइस टेक्नोलोजीसँगको सहकार्यमा थर्ड पार्टीज नेट सेटलमेन्ट सार्वजनिक गरिएको हो ।
प्रकाशित समय : ११:५५ बजे



















