गृहपृष्ठ अपराध अनुसन्धानमा सहयोगका कारण नेपाल प्रहरीद्वारा इसेवा सम्मानित
अपराध अनुसन्धानमा सहयोगका कारण नेपाल प्रहरीद्वारा इसेवा सम्मानित
नेपाल प्रहरीले नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवालाई सम्मान गरेको छ। शान्त र सुरक्षित समाज निर्माणमा प्रहरी कार्य, अपराध अनुसन्धानका साथै साइबर सुरक्षामा योगदान दिएका कारण इसेवालाई कदर-पत्रद्वारा सम्मान गरिएको हो।
७० औँ प्रहरी दिवस २०८२ को अवसरमा बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा इसेवालाई उक्त कदर पत्र प्रदान गरिएको थियो। कदर पत्र ग्रहण गर्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले प्रयोगकर्ताको व्यक्तिगत तथा वित्तीय सूचनाको सुरक्षा, साइबर सुरक्षा तथा नियामकीय अनुपालनमा इसेवा निरन्तर प्रतिबद्ध रहेको बताउँदै नेपाल प्रहरीको सम्मानले यसलाई थप पुष्टि गरेको बताए।
साथै, उनले त्यस विरुद्धका कार्यमा इसेवाको शून्य सहनशीलता रहने प्रतिबद्धता व्यक्त गरे। उनले आगामी दिनमा इसेवाका सेवाहरूलाई थप ग्राहकमैत्री, सुरक्षित र भरपर्दो बनाउँदै डिजिटल अर्थतन्त्रको निर्माणमा इसेवाले निरन्तर योगदान दिई रहने बताए।
साइबर सुरक्षा तथा नियामकीय अनुपालनमा इसेवाको प्रतिबद्धता
इसेवा नेपाल राष्ट्र बैङ्कद्वारा जारी निर्देशन तथा विद्युतीय भुक्तानीसम्बन्धी प्रचलित कानुन, नियम तथा मापदण्डहरूको पूर्ण पालना गर्दै सञ्चालन हुँदै आएको छ। नियामकीय अनुपालनलाई इसेवाले आफ्ना सेवाहरूलाई विश्वसनीय र सुरक्षित बनाउने आधारका रूपमा लिँदै आएको छ।
साइबर सुरक्षाका दृष्टिले इसेवाले प्रयोगकर्ताको व्यक्तिगत तथा वित्तीय सूचनाको सुरक्षालाई उच्च प्राथमिकता दिएको छ। यसका लागि आधुनिक प्रविधिको प्रयोग, निरन्तर प्रणाली अनुगमन तथा नियमित सुरक्षा परीक्षण जस्ता उपायहरू अपनाएको छ।
प्रकाशित समय : १९:०१ बजे


















