nmb bank

गृहपृष्ठ वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो

वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो

वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो

सुनसरी रामधुनी नगरपालिका–१ की सकुन्तला अधिकारी १० वर्ष खाडीमुलुक कुवेतको एक घरमा श्रम गरेर फर्किइन, तर घर फर्केपछि उनले चरम सङ्घर्ष गर्नुप-यो । घरपरिवार र समाजले हेर्ने दृष्टिकोण सहज नहुँदा अन्तर्जातीय विवाह गरेकी सकुन्तलाले मानसिक तनावमा जीवन बिताउनुपरेको थियो ।

मोरङ केराबारी–१० की जीवनकुमारी राई पटकपटक वैदेशिक रोजगारमा जनाइन । कमाइ पनि ठीकै भयो, तर घर फर्केपछि परिवारमा कुरा मिल्न सकेन र समाजमा पुनःस्थापित हुन निक्कै चुनौतीको सामना गर्नुप-यो ।

सकुन्तला र जीवनकुमारी मात्र होइन वैदेशिक रोजगारबाट फर्केकाहरूले समाजमा पुनःस्थापित हुनका लागि चुनौती खेप्नुपरिरहेको छ । जसले गर्दा उनीहरू मानसिक तनाव मात्र बढेको छैन, उनीहरूले विदेशमा सिकेको सीप र अनुभव पनि खेर गइरहेको छ ।वैदेशिक रोजगारीबाट फर्केकाहरूले पारिवारिक र सामाजिक समस्याका साथै आर्थिक समस्या पनि भोग्न परिरहेको देखिन्छ ।

इलामको सूर्योदय नगरपालिकामा पारिवारिक परामर्शदाताका रूपमा कार्यरत ईश्वरी तामाङले वैदेशिक रोजगारीबाट फर्केकाहरूको समस्याका बारेमा भनिन, “विदेशमा बस्दा नियमित पैसा आउने, खर्च गर्ने शैली पनि फरक हुने तर यहाँ फर्केपछि नियमित आम्दानी नहुने, काम गर्दा पाउने पारिश्रमिक बचत नहुने र खर्च गर्ने योजना पनि नमिल्ने गरेकाले उहाँहरूमा आर्थिक तथा पारिवारिक समस्या आउँछ ।”

यिनै समस्यालाई मनन गर्दै नेपाल सरकारले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूलाई समाजमा पुनः एकीकरणको कामलाई नीतिगत रूपमा प्राथमिकता दिएको छ । यसका लागि सरकारले हरेक स्थानीय तहमा स्थापना गरेको रोजगार सेवा केन्द्रले सङ्घीय सरकारको नीतिगत प्राथमिकतालाई कार्यान्वयन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

बोलचालमा ‘रिटर्नी’ भनिने वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूका लागि सहयोगको प्रारम्भिक विन्दुको रूपमा रोजगार सेवा केन्द्रले काम गर्न थालेको छ । कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार, रोजगार सेवा केन्द्रले उनीहरूलाई आर्थिक तथा सामाजिक रूपमा समाजमा पुनःएकीकरणका लागि आर्थिक, मनोसामाजिक तथा पारिवारिक परामर्श, रोजगारी र उद्यमशीलता मार्गदर्शन, वैदेशिक रोजगारीबाट ल्याएको सीप, अनुभव र बचतको स्वदेशमा प्रभावकारी उपयोग गर्न मद्दत गर्ने काम गर्छ ।

कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख शम्भुप्रसाद साहले वैदेशिक रोजगारबाट फर्कनेहरूलाई समाजमा पुनःएकीकरण गर्नुपर्ने कार्यको गम्भीरतालाई मनन गर्दै मन्त्रालयले इमानदारीपूर्वक कार्यसम्पादन गर्दै आएको बताए ।

मन्त्रालयकी भगवती ढुङ्गानाका अनुसार मन्त्रालयले प्रदेशका १० वटा स्थानीय तह, मोरङको उर्लाबारी नगरपालिका, केराबारी गाउँपालिका, कानेपोखरी नगरपालिका र मिक्लाजुङ गाउँपालिका, सुनसरीको रामधुनी नगरपालिका, झापाको मेचीनगर नगरपालिका र कमल गाउँपालिका, उदयपुरको कटारी नगरपालिका, इलामको सूर्योदय नगरपालिका तथा खोटाङको दिक्तेल बरुवा मजुवागढी गाउँपालिकाका रोजगार सेवा केन्द्रमार्फत यी कामलाई अझ तीव्रताका साथ अगाडि बढाएको छ ।

उक्त स्थानीय तहमा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको पुनः एकीकरण (रेमी) परियोजनाअन्तर्गत यस्ता काम भएका हुन् । रेमी परियोजना हेल्भेटास नेपालको प्राविधिक सहयोगमा नेपाल र स्विट्जरल्याण्ड सरकारको द्विपक्षीय पहलबाट सञ्चालित छ ।

मन्त्रालयका अनुसार, १० वटा स्थानीय तहका प्रत्येक रोजगार सेवा केन्द्रका चार जना कर्मचारीहरूले विदेशबाट फर्कनेहरूलाई समाजमा पुनःस्थापना गर्न विभिन्न किसिमका सुझाव, सल्लाह, उद्यमशीलता, स्वरोजगार र सीप विकास गर्न मद्दत गर्ने गरेका छन् ।

अर्कोतिर वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरू आफ्नो सञ्जालमा आबद्ध भएर रिटर्नीहरूको पहिचान, परामर्श र पुनः एकीकरणका काममा रोजगार सेवा केन्द्रलाई सहयोग गरिरहेका छन् । यसै क्रममा सञ्जालमार्फत केन्द्रको सम्पर्कमा पुगेर मोरङ केराबारी–१० की जीवनकुमारी राई सामाजिक रूपमा पुनःस्थापना भएकी छन । हाल उनि सञ्जालमा आबद्ध भएर आफूजस्तै महिलाहरूलाई सामाजिक पुनःस्थापनमा सहयोग गर्दै आफूले पनि किराना पसल सञ्चालन गर्न थालेकी छन ।

 

 

 

 

 

प्रकाशित समय : २१:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु