गृहपृष्ठ गुगल फाइरबेसको दुरुपयोग गरी बैंकिङ ठगी, भारतमा सयौँ खाता बन्द गर्न निर्देशन
गुगल फाइरबेसको दुरुपयोग गरी बैंकिङ ठगी, भारतमा सयौँ खाता बन्द गर्न निर्देशन
काठमाडौं। भारतमा चुलिँदै गएको साइबर अपराध र वित्तीय ठगी नियन्त्रण गर्न सरकारले गुगललाई लोकप्रिय एप तथा वेब डेभलपमेन्ट प्लेटफर्मअर्थात फाइरबेसमा रहेका सयौँ खाताहरू तत्काल बन्द गर्न निर्देशन दिएको छ।
अपराधीहरूले देशका प्रमुख बैंक तथा सरकारी योजनाको नाममा नक्कली एप र वेबसाइट बनाएर सर्वसाधारणलाई लुटपाट गर्नका लागि फाइरबेसको दुरुपयोग गरेपछि भारतस्थित गृह मन्त्रालयअन्तर्गतको इण्डियन साइबर क्राइम कोअर्डिनेसन सेन्टरले सो कदम चालेको हो। सरकारी तथ्यांकअनुसार सन् २०२५ मा मात्रै भारतीयहरूले अनलाइन ठगीबाट करिब २ दशमलव ४ अर्ब अमेरिकी डलर गुमाएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।
पछिल्लो समय साइबर अपराधीहरूले विश्वभर लाखौँ डेभलपरहरूले प्रयोग गर्ने गुगल फाइरबेसका निःशुल्क सुविधा र अत्याधुनिक डेटाबेस फिचरको प्रयोग गरी ठगी धन्दा चलाउने नयाँ शैली अपनाएको पाइएको द इकोनोमिक्स टाइम्सले उल्लेख गरेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई उदृत गर्दै रोयटर्सद्वारा समीक्षा गरिएका र ल्युमेन डेटाबेसमार्फत प्राप्त सरकारी सूचनाअनुसार इन्डियन साइबर क्राइम कोरडिनेसन सेन्टरलेले अगस्ट महिनामा मात्रै फाइरबेसमा होस्ट गरिएका कम्तीमा ५७ वटा फर्जी वेबसाइट र डेटाबेसहरू हटाउन गुगललाई ताकेता गरेको छ।
यदि, उपलब्ध गराइएका लिंकहरु सूचना जारी भएको तीन घण्टाभित्र नहटाइएमा त्यसको कानुनी जिम्मेवारी स्वयम गुगलले लिनुपर्ने प्रावधान रहेको भारतीय मिडियाहरुले जनाएका छन्। अगस्ट १७ मा पठाइएको एक नोटिसअनुसार एन्ड्रोइडमा आधारित प्रोग्रामहरूले सक्कली बैंकिङ सेवाको रूप धारण गरी मुख्य गरी क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई निशाना बनाइरहेका छन्। नयाँ क्रेडिट कार्ड दिने, रिवार्ड प्वाइन्ट रिडिम गराइदिने वा क्रेडिट सीमा बढाउने प्रलोभन देखाएर प्रयोगकर्तालाई फसाउने गरिएको छ।
गुगललाई हटाउन निर्देशन दिइएका ५७ वटा लिकंमध्ये केही स्टेट बैंक अफ इन्डिया, आईसिआईसिआई बैंक र एक्सिस बैंकका हुबहु नक्कली पेजहरू थिए। बाँकी प्रयोगकर्ताको फोनबाट चोरिएका डेटा, क्रेडिट कार्ड विवरण र ओटीपी संकलन गर्न बनाइएका डेटाबेस थिए। ठगीको यो सञ्जाल केवल बैंकहरूमा मात्र सीमित छैन।
साना किसानहरूलाई लक्षित गरी ल्याइएको सरकारी कार्यक्रम पीएम किसानको नाममा पनि ठगी भइरहेको पाइएको छ। किसानहरूलाई चार महिनामा पाइने २,००० भारतीय रुपैयाँ सहायता रकम भुक्तानी पाउन मद्दत गर्ने बहानामा नक्कली एप डाउनलोड गर्न लगाइने गरेको पाइएको छ। त्यस्ता एपहरूले प्रयोगकर्ताको फोनमा पहुँच बनाएर सम्पूर्ण विवरण फाइरबेसको डेटाबेसमा पठाउँछन्।
साइबर सुरक्षा अनुसन्धानकर्ताहरूले यस्तो मालवेयरलाई एन्ड्रोइड गड मोड नाम दिएका छन्। जसले पीडितको फोनमा लगभग पूर्ण नियन्त्रण कायम गरी वित्तीय एपहरूबाट रकम चोर्न सहज बनाउँछ। यस्तो प्रकरण बाहिरिएपछि गुगलले विश्वभर २५ अर्ब डलरभन्दा बढी त्रैमासिक राजस्व कमाउने गुगल क्लाउडको हिस्सा रहेको फाइरबेसबारे कम्पनीले आफ्नो स्पष्टीकरण दिएको छ।
गुगलका प्रवक्ताका अनुसार फिसिङ, मालवेयर वा वित्तीय ठगीविरुद्ध आफ्ना कडा नीतिहरू रहेको र इन्डियन साइबर क्राइम कोअर्डिनेसन सेन्टरलगायतका सरकारी निकायहरूसँग मिलेर द्रुत कारबाही गरिरहेको जानकारी दिएको छ। त्यस्तै, मार्च २०२६ सम्मको एक वर्षमा भारतको रियल टाइम भुक्तानी प्रणाली युपिआईमार्फत मात्रै २४२ अर्बभन्दा बढी डिजिटल कारोबार भएका छन्।
डिजिटल भुक्तानीको तीव्र विस्तारसँगै साइबर सुरक्षा सुदृढ बनाउनु र फाइरबेस जस्ता खुला प्लेटफर्मको दुरुपयोग रोक्नु अहिले भारतीय कानुन कार्यान्वयन निकायहरूका लागि सबैभन्दा ठूलो चुनौती बन्दै गएको छ।
प्रकाशित समय : २०:३१ बजे


















