गृहपृष्ठ काश्मीर आक्रमणमा पाकिस्तानमाथि भारतको आरोप
काश्मीर आक्रमणमा पाकिस्तानमाथि भारतको आरोप
भारतको आतङ्कवाद विरोधी प्रमुख निकायले सोमबार भारत प्रशासित काश्मीरमा पर्यटकहरूलाई लक्षित गरी गरिएको घातक आक्रमणको घटनामा संलग्न भएको आरोपमा छ जनाविरुद्ध अभियोग दर्ता गरेको जानकारी दिएको छ । भारतीय अधिकारीहरूले उक्त आक्रमणका लागि पाकिस्तानलाई जिम्मेवार ठहर गरेको बताएका छन् ।
भारतीय अधिकारीहरूका अनुसार अभियोग लगाइएकामध्ये तीन जनाको मृत्यु भइसकेको छ भने दुई जना हाल भारतीय हिरासतमा रहेका छन् । गत अप्रिलमा भएको उक्त आक्रमणमा २६ जनाको ज्यान गएको थियो, जसमा अधिकांश हिन्दू पर्यटकहरू रहेका थिए । सो घटनापछि भारत र पाकिस्तानबीच तनाव चुलिँदै छोटो अवधिको तर तीव्र द्वन्द्वको अवस्था सिर्जना भएको थियो ।
नयाँदिल्लीले काश्मीरको प्रसिद्ध रिसोर्ट सहर पहलगाममा भएको आक्रमणलाई पाकिस्तानको समर्थनमा गरिएको आक्रमणका रूपमा व्याख्या गरेको छ । तर इस्लामाबादले भने यस आरोपलाई स्पष्ट रूपमा अस्वीकार गर्दै आएको छ । प्रारम्भमा ‘द रेजिस्टेन्स फ्रन्ट’ (टिआरएफ)नामक समूहले आक्रमणको जिम्मेवारी लिएको दाबी गरेको थियो ।
संयुक्त राज्य अमेरिकाले टिआरएफलाई पाकिस्तानमा आधारित र संयुक्त राष्ट्रसङ्घद्वारा घोषित आतङ्कवादी सङ्गठन लश्कर–ए–तैयबा (एलइटी(को ‘फ्रन्ट र प्रोक्सी’ का रूपमा वर्णन गर्दै आएको छ । भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआइए) ले दर्ता गरेको आरोपपत्रमा ‘पाकिस्तानको षड्यन्त्रको विस्तृत विवरण’ समेटिएको बताइएको छ ।
प्रकाशित समय : २१:१५ बजे




















