गृहपृष्ठ नेवाः लोककला कार्यशालाः महिलाले सिके यःमरि बनाउने कला
नेवाः लोककला कार्यशालाः महिलाले सिके यःमरि बनाउने कला
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आज महिलाहरुले यःमरि बनाउने कला सिकेका छन् ।
प्रतिष्ठानको आयोजना तथा काठमाडौं महानगरपालिकाको सहकार्यमा आज यहाँ भएको ‘नेवाः लोककला अन्तरक्रिया तथा कला कार्यशाला’का अवसरमा महिलाहरुले नेवार समुदायको मौलिक खाना यःमरि बनाएर देखाएका थिए ।
उक्त कला ५० भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो । उनीहरुले कार्यक्रममा पीठो मुछेर कला सिर्जना गरेका थिए ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सहसचिव डा सुरेश सुरस श्रेष्ठले उद्घाटन गरेको कार्यशाला मौलिक लोककलाको जगेर्नाका लागि आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यस कार्यक्रमले पहिचान र कला जागरणको कुरा उठाएको बताए । उनले कार्यशालामा सहभागीले संस्कृतिलाई कलाको बिम्बीकरण गरेर देखाएको कला महत्वपूर्ण भएको धारणा राखे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सहसचिव डा सुरेश सुरस श्रेष्ठले नेपालमा यःमरि जस्ता विभिन्न अभौतिक सांस्कृतिक सम्पदा लुकेर रहेको र त्यसलाई संरक्षण गर्नुपर्नेमा जोड दिए ।
प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले नेवाः समुदायको परिचय बोकेको यःमरिलगायतका लोककलाको संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरण गरिनु अहिलेको आवश्यकता भएको बताए।
प्रतिष्ठानका वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारीले लोककला, संस्कृतिको संरक्षण र पुस्तान्तरणको उद्देश्य राखेर यस कार्यक्रमको आयोजना गरिएको बताए । उनले आगामी दिनमा यस किसिमका कार्यक्रमलाई निरन्तरता दिँदै जाने धारणा राखे ।
समारोहमा त्रिभुवन विश्वविद्यालयको नेपालभाषा केन्द्रीय विभागका सहप्राध्यापक डा राजनलाल जोशीले ‘यःमरि कलाकारिताको प्रारम्भ’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
प्रकाशित समय : २१:०० बजे


















