जेनजी आन्दोलनका सहिदः ‘विदेश उडानको तयारीमा थिए अभिषेक’
वि.सं.२०८२ मंसिर ५ शुक्रवार १५:१६
shares

भविष्यका योजना बोकेर विदेश उडानको तयारीमा रहेका २३ वर्षीय अभिषेक श्रेष्ठको गत भदौ २३ गते इटहरीमा भएको जेन्जी आन्दोलनमा गोली लागेर निधन भयो । भदौ २३ गते बिहानदेखि सम्पर्कविहीन रहेपछि परिवारमा चिन्ता बढ्नु स्वाभाविक नै थियो । साँझ करिब ७ बजे बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट आएको फोनले उनको मृत्यु पुष्टि गरेको थियो ।
सुनसरीको बराहक्षेत्र राजाबासमा जन्मिएका अभिषेक सानै उमेरदेखि मामाघरमै हुर्किएका थिए । उनि ११ महिनाको हुँदादेखि हजुरआमा सीता श्रेष्ठ, मामा मनोज श्रेष्ठ र माइजू तारा श्रेष्ठका साथमा हुर्किए । चार वर्षअघि मामामाइजू सपरिवार बराहक्षेत्रबाट इटहरीमा बसाइँ सरेर आएका थिए ।
हजुरआमा सीता श्रेष्ठ सम्झिन्छन, “अभिषेकको बाल्यकाल नाति नजन्मिँदै उसको बाबाले छोडेर गयो, त्यसपछि विस्तारै उसले आफ्नो आमाको माया पनि पाउन सकेन । ११ महिनाको हुँदा मैले स्याहारसुसार गरेर हुर्काएँ । सानो बच्चा हुर्काउनु सजिलो थिएन, तर आमा, बुबाको कमी हुन दिएका थिएनौँ, आफ्नो छोराछोरीभन्दा पनि बढी माया र स्याहार दिएर नातिलाई हुर्काएँ । उसले २३ वर्षसम्म हामीबाट माया र मार्गदर्शन पायो, अहिले हामीमाझ छैन तर सधैँ सम्झनामा भने रहन्छ ।”
सानै उमेरदेखि जिम्मेवार र शान्त स्वभावका अभिषेकले कक्षा १० सम्म पढाइमा राम्रो नतिजा ल्याएका थिए । त्यसपछि पढाइभन्दा काममा उसको रुचि बढेपछि उनि फोटोग्राफी क्षेत्रमा लाग्नुभयो । केही समयदेखि इटहरीस्थित एक बर्गर हाउसमा फोटोग्राफरका रूपमा काम गरेका थिए । विदेश उडानको तयारीमा रहनुभएका अभिषेकले आफ्ना सपनासहित घरपरिवारको अपेक्षा बोकेर अघि बढिरहेका थिए ।
इटहरीमा सँगै कोठामा बस्ने अभिषेकका साथी सक्षम कार्की भन्छन, “अभिषेक आन्दोलन भनी गएको थिएनन् । उनी बर्गर हाउस क्याफेमा फोटोग्राफरका रूपमा काम गर्र्थें, म अर्कै ठाउँमा मार्केट लाइनमा काम गर्थें, तर हामी एकै ठाउँ बस्दथ्यौँ । दुई÷तीन दिनपछि उनको विदेशको उडान थियो । अभिषेक मलाई भन्ने गर्थे, “म विदेश जाँदा काठमाडौँसम्म पु-याउन जाउँ है, मैले धेरै पैसा कमाउनु छ, मेरो मामामाइजू र हजुरआमालाई हेर्नु छ, दुःख गरेर मलाई हजुरआमा मामामाइजूले हुर्काउनुभयो ।”
अभिषेकका साथी कार्की सम्झन्छन, “भदौ २३ गते म बिहान काममा गएँ अभिषेक हल्का बिरामी पनि थिए, उनलाई रुघा लागेको थियो । मैले कोठामै छोडेर गएँ । करिब बिहान ९÷१० बजेतिर उनले मलाई फोन गरेर आफू काम गरेको ठाउँमा पैसा लिन जान लागेको र आन्दोलन पनि हेरेर आउँछु, तिमी नआउने भनेर मलाई सोधे ।” मैले म आउन भ्याउँदिन, तिमी जाउ न भनेर छोटो जवाफ फर्काएँ । पछि फेरि केही समयपछि अभिषेकले फोन गरेर मलाई भने, पैसा दिने मान्छे पनि आन्दोलनमा गएको रहेछ, म त्यो मान्छे पनि खोजेर आउँछु, आन्दोलन पनि हेरेर आउँछु भनेर भनेको कुरा नै हामीबीचको अन्तिम कुराकानी बन्यो”, उनको साथी कार्कीले भने, “अभिषेक आन्दोलन हेर्न इटहरीको मुख्य चोकदेखि पूर्व लाइनमा पुगेको र त्यहाँ उनले छेउमा उभिएर भिडियो पनि बनाउन भ्याउनु भएको रहेछ । दिउँसो करिब २/३ बजेतिर आन्दोलनकारी र प्रहरीबीच ढुङ्गा हानाहान भएको थियो । प्रहरीले गोली चलाउँदा अभिषेकको अनुहारको नाक छेउमा गोली लागेर उनि त्यहीँ ढल्नु भएको रहेछ । यो दृश्य उनले खिच्दै गरेको भिडियोबाट थाहा भएको साथीले बताए ।
अभिषेकलाई मैले दिउँसो १२ बजेतिर फोन गर्दा उनको फोन ‘अफ’ थियो, सम्पर्क हुन सकेन । पछि अपराह्न ५ बजे फोन लाग्यो तर उनको फोन उठेन । केही समयपछि उनको नम्बरबाट फोन आयो । उठाउँदा धरानबाट एक प्रहरीले भने, “तपाईंहरुको मान्छे आन्दोलनमा परेको छ, छिटो धरान बिपी अस्पतालमा आउनुहोस् ।” यो खबर सुन्नेबित्तिकै उनि सक्षमसहित केही साथीहरु अस्पताल पुगी सोधपुछ गर्दा आन्दोलनमा दुई जनाको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको जानकारी प्राप्त भयो । पहिले त साथीहरुलाई अभिषेकको उपचार भइरहेको होला भन्ने आशा थियो तर केही क्षणमै आशा निराशामा परिणत भयो । “पहिले नै अभिषेकको निधन भइसकेको रहेछ । छेउमा कपडाले छोपेर राखिएको थियो, हामीले कपडा उघारेर हेर्दा अभिषेक नै रहेछन् । केही क्षण त हामीहरु उनलाई हेरेको हेरै भयौँ,” सक्षम भन्छन, “क्षणभरमै उनको विदेशको सपना त्यहीँ दिन अन्त्य भयो ।”
अभिषेकलाई कराते खेलप्रति विशेष रुचि थियो । माइजू ताराका अनुसार केही समयअघि उनले कुखुरापालन गर्ने इच्छा व्यक्त गरेपछि हामीले घर पछाडि सानो फार्म तयार गरिदियौँ । केही महिनासम्म उनले कुखुरा फार्मसमेत सञ्चालन गरे । फोटोग्राफी, पेन्टिङ कला तथा अन्य सिर्जनात्मक कामहरूमा उनको रुचि धेरै नै थियो । तर ती सबै सपना भने जेन्जी आन्दोलनसँगै उब्जिएको परिस्थितिमा आएर सपना पूरा हुन पाएन ।
सानै उमेरदेखि हुर्काएँ बढाएको भाञ्जा नहुँदा घर नै शून्य भएको माइजू तारा बताउछन । अभिषेक बाबु सधैँजसो सपनामा रुँदै आउछन । मैले बिहान–बेलुका उनको फोटोमा धूप, बत्ती बालेर फूल–पानी चढाइदिन्छु । आन्दोलनका उद्देश्यहरू छुट्टै भए पनि यसले गुमाएका जीवन र भोग्नु परेको पारिवारिक पीडाको क्षति भने भरिन नसक्ने छ । अभिषेकजस्तै धेरै युवाको भविष्य यस घटनाक्रमले प्रभावित पारेको तथ्य सम्झनालायक रहन्छ ।






















