अर्थमन्त्री खनालसँग कोरिया गणतन्त्रका राजदूत यङको शिष्टाचार भेट
वि.सं.२०८२ कात्तिक १७ सोमवार १४:२६
shares

अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि कोरिया गणतन्त्रका राजदुत पार्क ते यङबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री खनालले कोरिया र नेपाल बीच रहेको दुईपक्षीय कूटनीतिक सम्बन्धको चर्चा सहित कोरिया सरकारले प्रदान गर्दै आएको निरन्तर सहयोगका लागि धन्यबाद व्यक्त गरेका थिए ।
साथै कोरियाको सहयोगमा सञ्चालन भएका आयोजना तथा कार्यक्रमहरुको अवस्था सन्तोषजनक रहेको विषय उल्लेख गर्दै कोरियासँगको आर्थिक साझेदारीलाई निरन्तरता दिने बताए ।
भेटको अवसरमा राजदुतले कोरिया सरकारको एजेन्सी कोइका र नेपाल सरकार बीचको द्विपक्षीय सम्बन्ध स्थापनाको ३० वर्ष पुगेको र उक्त अवधिमा नेपालले कोरिया र कोइकासँग गरेको समन्वय र सहकार्यका लागि खुशी व्यक्त गर्दै कोरियन लगानीकर्तालाई नेपालमा लगानीको लागि प्रोत्साहित गर्न र नेपाली उत्पादनहरुको प्रवर्द्धनका लागि आवश्यक सहजीकरण गर्ने विषय उल्लेख गरे ।

























