global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ छठ पर्वको अवसरमा व्यवस्था गरिएका मुख्य उपासना स्थलमा महानगरको विशेष सरसफाइ

छठ पर्वको अवसरमा व्यवस्था गरिएका मुख्य उपासना स्थलमा महानगरको विशेष सरसफाइ

छठ पर्वको अवसरमा व्यवस्था गरिएका मुख्य उपासना स्थलमा महानगरको विशेष सरसफाइ

काठमाडौं । सूर्य उपासना, स्नान, व्रत र भजनसंगीतसँग जोडिएको नेपालीहरूको महान पर्व छठ काठमाडौंमा श्रद्धा र भक्तिभावका साथ सम्पन्न भएको छ । पर्व सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाले घाट, पोखरी, दह तथा नदी किनारहरूमा विशेष सरसफाइ कार्य तदारूकतासाथ सम्पन्न गरेको छ ।

यस वर्षका लागि काठमाडौं महानगरभित्र कमलपोखरी, गौरीघाट, बोक्सी दह, बागमती दोभान, टंकेश्वर, बल्खु कुमारी क्लब अगाडि, कुलेश्वर भलिबल ग्राउन्ड, रामघाट र बालाजु २२ धारा गरी नौ वटा घाटलाई मुख्य उपासना स्थलका रूपमा तयारी गरिएको थियो । तिनै स्थानहरूमा स्वच्छता कायम गर्न महानगरले विशेष सरसफाइ गरेको छ ।

महानगरका सफाइ कर्मचारी र महानगर प्रहरी परिचालन गरी पोखरी, ताल र नदी किनारमा रहेका फोहर पूर्ण रूपमा हटाइएको छ ।

सूर्य उपासनाको यो पर्व भव्य र सुरक्षित वातावरणमा सम्पन्न गराउन महानगरले यसअघि नै व्यापक तयारी गरेको थियो । जनप्रतिनिधिको नेतृत्वमा स्थानीय संघसंस्था, क्लब र सरोकारवालासँग समन्वय गरी उपासनास्थलहरूमा सरसफाइ, उज्यालो, सुरक्षा र अन्य आवश्यक व्यवस्थाको तयारी गरिएको थियो ।

छठ पर्वलाई आस्था, समर्पण र पारिवारिक एकताको प्रतीकका रूपमा लिइन्छ । आमाको ममता, परिवारको समर्पण र सामाजिक उज्यालो संस्कारको पहिचान बोकेको यो पर्वले शान्ति, समृद्धि र सन्तान सुखको कामना गर्ने धार्मिक विश्वास स्थापित गरेको पाइन्छ ।

विगत वर्षहरूमा जस्तै यस वर्ष पनि महानगरले उपासनास्थल व्यवस्थापन, सजावट र सरसफाइलाई प्राथमिकतामा राख्दै कार्य सम्पन्न गरेको छ । महानगरको सक्रियताले भक्तजनहरूले स्वच्छ र सौन्दर्यपूर्ण वातावरणमा सूर्य उपासना सम्पन्न गरेका थिए ।

प्रकाशित समय : १२:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु