गृहपृष्ठ आठ कडा रोगको उपचार सुविधा लिन स्वास्थ्य बीमा अनिवार्य
आठ कडा रोगको उपचार सुविधा लिन स्वास्थ्य बीमा अनिवार्य
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विपन्न नागरिकलाई प्रदान गरिँदै आएको आठ कडा रोगको उपचार सुविधा प्राप्त गर्न स्वास्थ्य बीमामा अनिवार्य दर्ता हुनुपर्ने व्यवस्था लागू गरेको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बिहीबार मन्त्रिस्तरिय निर्णय गर्दै असोज मसान्तसम्म सेवाग्राहीलाई स्वास्थ्य बीमा दर्ता गर्ने समयसीमा तोकेका छन्।
मन्त्रालयले विगतमा विपन्न नागरिकलाई प्रदान गर्दै आएको उपचार सुविधाको भुक्तानी व्यवस्थापन स्वास्थ्य बीमा बोर्डमार्फत हुने गरी ‘विपन्न नागरिक औषधी उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८०’ (पहिलो संशोधन २०८२) स्वीकृत गरेको थियो। सो निर्देशिकाको दफा ४ क. मा उल्लेख भएअनुसार आठ कडा रोगको उपचार सुविधा लिन स्वास्थ्य बीमामा विमित हुनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको हो।
मन्त्रालयले हाल सेवा लिइरहेका सेवाग्राहीहरूलाई असोज मसान्तभित्र बीमा दर्ता गर्न अनुरोध गरेको छ।
यो व्यवस्थाले विपन्न नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याई सुविधालाई एकद्वार प्रणालीमार्फत प्रभावकारी बनाउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ। निर्णय कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षलाई सहयोग गर्न आह्वान गरिएको छ।
प्रकाशित समय : १९:२१ बजे



















