गृहपृष्ठ पार्टीप्रति प्रतिबद्ध सबैलाई बिनाभेदभाव सदस्यता वितरण गर्न जनसम्पर्क समितिहरुलाई समन्वय विभागको निर्देशन
पार्टीप्रति प्रतिबद्ध सबैलाई बिनाभेदभाव सदस्यता वितरण गर्न जनसम्पर्क समितिहरुलाई समन्वय विभागको निर्देशन
नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले विदेशस्थित सबै नेपाली जनसम्पर्क समितिहरुलाई नेपाली कांग्रेसप्रति प्रतिबद्ध र योग्य सबैलाई बिनाभेदभाव पार्टीको क्रियाशील सदस्य र जनसम्पर्क सदस्यता नवीकरण तथा वितरण गर्न निर्देशन दिने निर्णय गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्य समितिका सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको विभागको बैठकले सो निर्णय गरेको हो ।
बैठकमा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख पौडेलले केही देशहरुमा क्रियाशील र जनसम्पर्क सदस्यता वितरण न्यायोचित नभएको गुनासो आएकोले यस्तो निर्देशन गर्नुपर्ने अवस्था आएको बताएका थिए । उनले नेपाली कांग्रेसको २०८२ आषाढ १६ देखि २३ गतेसम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकले नेपाली कांग्रेसको विधान र नियमावली अनुसार पदावधि समाप्त भएका विदेशस्थित सबै नेपाली जनसम्पर्क समितिहरूलाई २०८२ पौष मसान्तभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन गरेको स्मरण गराएका थिए । उनले केन्द्रीय समितिको निर्णयपश्चात् साउन महिनामा कार्यसमितिको बैठक बसी कार्यतालिका तय गरी २०८२ साल आश्विन महिनाभित्र नेपाली कांग्रेसको क्रियाशील सदस्य र जनसम्पर्क समितिको सदस्य नवीकरण र नयाँ सदस्यता वितरण गरी नामावली केन्द्रीय कार्यालयमा पठाई विभागसंग समन्वय गरी अधिवेशनको मिति तय गर्न सबै जनसम्पर्क समितिहरूलाई केन्द्रीय कार्यालयबाट परिपत्र समेत भैसकेको जानकारी गराएका थिए ।
उनले केन्द्रीय कार्यालयको परिपत्र पश्चात् विभागको समन्वयमा विदेशस्थित जनसम्पर्क समितिहरुलाई क्रियाशील र जनसम्पर्क सदस्यता पठाइएको तर केही देशमा सदस्यता वितरणमा गुनासो आएकोले पार्टीका महामन्त्रीको संयोजकत्वमा रहेको पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिले यस्तो निर्णय गरेको पनि उल्लेख गरेका थिए ।
क्रियाशील सदस्यता व्यवस्थापन समितिले नेपाली जनसम्पर्क समितिका अध्यक्ष एवम् पदाधिकारीले पूर्वाग्रह राखेर कसैलाई सदस्यताबाट बञ्चित गर्न खोजेमा पार्टीप्रति प्रतिबद्ध,कर्मठ,इमान्दार र अनुशासित कार्यकर्ताहरुको भावनालाई कदर गर्दै उनीहरुलाई पार्टीमा समाहित गरी संगठनलाई व्यापक र सबल तुल्याउन वैकल्पिक माध्यमबाट सदस्यता दिन सकिने पनि निर्णय गरेको छ । यसलाई स्पष्ट पार्दै विभाग प्रमुख पौडेलले भनेका छन, संबन्धित देशमा पार्टीको क्रियाशील र जनसम्पर्क सदस्यता वितरण गर्ने अधिकार जनसम्पर्क समितिका अध्यक्ष तथा कार्य समितिलाई छ । तर उनिहरु निश्पक्ष हुन सक्नुभएन, आग्रह पूर्वाग्रहमा अल्झिनुभयो र पार्टीका लागि काम गरिरहेका कर्मठ, लगनशील, इमान्दार र अनुशासित कार्यकर्ताहरु सदस्यताबाट बञ्चित हुनुपर्ने अवस्था आयो भने त्यतिबेला विभागले हस्तक्षेप गर्छ । वैकल्पिक माध्यमबाट सदस्यता वितरण गरिन्छ । यसका लागि गुगल ड्राइभबाट अनलाईन सदस्यता फर्म भर्नमिल्ने व्यवस्था गरिन्छ र आवश्यक प्रक्रिया पूरा गरेर सदस्यता स्वीकृत गरिन्छ ।
बैठकले सबै जनसम्पर्क समितिहरुलाई नेपाली कांग्रेसको विधान र नियमावली अनुरुप काम गर्न पनि निर्देशन दिएको छ ।
समितिको आजको बैठकमा समितिका सदस्य ऋषिराज शर्माले जनसम्पर्क समितिहरुको विधानमा एकरुपता कायम गर्ने सम्बन्धमा भएको अध्ययनको प्रगति सुनाएका थिए । जनसम्पर्क समितिहरुको सांगठानिक संरचनामा एकरुपता ल्याउनका लागि विभागले उनलाई अध्ययन गरी प्रतिवेदन दिने जिम्मेवारी दिएको थियो ।
आजको बैठकमा विदेशमा रहेका जनसम्पर्क समितिहरुलाई व्यापक, सबल, अनुशासित, गतिशील, सदस्यहरुको हितमुखी बनाउदै सबै सदस्यलाई राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्शले प्रेरित नेपाली कांग्रेसप्रति प्रतिबद्ध बनाउदै यसका पक्षमा विदेश र नेपालमा जनमत सिर्जना गर्न गराउन परिचालन गर्ने सम्बन्धमा छलफल भएको थियो ।
बैठकमा हाल सबैतिर उपलब्ध सूचना प्रविधि र सामाजिक सञ्जाललाई पार्टीको हितमा सदुपयोग गर्ने सम्बन्धमा पनि छलफल भएको थियो ।
बैठकमा सदस्यहरु जगदीश पौडेल,मोहन गुरुड,सीता अर्याल, कृष्ण अधिकारी,सुनिता जी.सी.,ईश्वरीप्रसाद जोशी,प्रकाश अधिकारी, नरेन्द्रबहादुर भाट, इन्द्रकमल बुढाथोकी, शिवकुमार यादव र डा.मनोरदिन सैयदले समसामयिक सुझाव दिएका थिए ।
प्रकाशित समय : १०:०१ बजे



















