गृहपृष्ठ निसन्तान उपचार क्लिनिकबाट राहत
निसन्तान उपचार क्लिनिकबाट राहत
कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन (आइयूआई) सेवा सञ्चालनमा आएपछि निःसन्तानपनको समस्याबाट पीडित दम्पतीलाई राहत पुगेको छ । अस्पतालमा यो सेवा सुरु भएदेखि दैनिक १० देखि १५ निःसन्तान दम्पती उपचारका लागि आउने गरेका छन् ।
अस्पतालको स्त्री तथा प्रसूति रोग विभागमार्फत सञ्चालन भइरहेको उक्त क्लिनिक राजधानी बाहिर पहिलो पटक सरकारी अस्पतालमा सञ्चालन गरिएको हो । उक्त सेवा सञ्चालनमा आएपछि निजी अस्पतालमा गएर खर्च धान्न नसक्ने दम्पतीलाई राहत मिलेको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा रुणा झा बताउछिन ।
“निजी क्लिनिकमा गएर उपचार गर्न नसक्ने दम्पतीलाई सरकारी अस्पतालमा सर्वसुलभ तरिकाले उपचार सेवा प्रदान गर्ने उद्देश्यले सेवा सुरु गरेका हौँ”, उनले भने ।
अस्पतालको स्त्री तथा प्रसूति रोग विभाग प्रमुख तथा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा अन्जु देव र स्त्रीरोग विशेषज्ञ डा मधुमिता राणाले उक्त सेवा प्रदान गर्दै आएकी छन । निजी अस्पतालको खर्च धान्न नसक्ने दम्पतीले यहाँ सुलभ शुल्कमा परीक्षण, परामर्श र उपचार सेवा लिन थालेका डा देव बताउछिन ।
निःसन्तान उपचार सेवा स्वास्थ्य बिमितका लागि सहयोगी बन्ने छ । बिमामा आवद्ध सेवाग्राहीले बिमा कार्ड प्रयोग गरी आवश्यक जाँच र उपचार सेवामध्ये अधिकांश सुविधा कम खर्चमा लिन सक्नेछन् ।
“अधिकांश जाँच स्वास्थ्य बिमा योजनामार्फत नै गराउन सकिन्छ,” उनले भनिन, “हाम्रो चाहना सकेसम्म बिरामीलाई न्यून खर्चमा सेवा दिन सकियोस् भन्ने हो ।”
कोशी अस्पतालले सञ्चालन गरेको उक्त क्लिनिक उपचार मात्रै होइन, प्रजनन स्वास्थ्यबारे जनचेतना फैलाउन तथा मानसिक–भावनात्मक सहयोग पु-याउने उद्देश्यसहित अघि बढाइएको हो ।
निःसन्तानपन केवल स्वास्थ्य समस्या मात्र नभइ सामाजिक दबाब र मानसिक तनावसँग पनि जोडिएको हुन्छ । यस्तो अवस्थामा परामर्श, जानकारी र उपचार एकैसाथ उपलब्ध हुँदा निःसन्तान दम्पतीलाई राहत पुग्ने अस्पतालले जनाएको छ ।
प्रकाशित समय : १६:४६ बजे



















