गृहपृष्ठ एएफसी यू–२० महिला एसियन कप छनोटः साउदी अरेबियाविरुद्ध नेपालको संघर्षपूर्ण जित
एएफसी यू–२० महिला एसियन कप छनोटः साउदी अरेबियाविरुद्ध नेपालको संघर्षपूर्ण जित
भुटानमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले पहिलो जित दर्ता गरेको छ । थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा शुक्रबार भएको खेलमा नेपालले साउदी अरेबियामाथि १-० को साँधुरो जित निकालेको हो ।
साउदीविरुद्ध सुरुवातबाटै दबाब बनाएपनि गोल गर्न भने नेपालले ९० औं मिनेसम्म कुर्नु परेको थियो । पूर्णिमा राईले वानटचमा गोल गर्दै नेपाललाई महत्वपूर्ण ३ अंक दिलाइन् ।
नेपाल खेलको ३८औं मिनेटमा पेनाल्टीमा गोल गर्न भने चुकेको थियो । मीना देउवाले प्रहार गरेको बल पोलमा लागेर फर्केको थियो । रिबाउन्डमा पनि गोल गर्न नसकेपछि नेपाल पहिलो हाफमा नै अग्रता बनाउनबाट असफल भएको थियो ।
नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो । शुक्रबारको जितपछि नेपालको चार अंक भएको छ ।
आफ्नो पहिलो खेलमा उत्तर कोरियासँग १५–० को फराकिलो हार बेहोरेको साउदी अरेबियाको एसियन कपमा छनोट हुने सम्भावना सकिएको छ ।
प्रकाशित समय : १६:१२ बजे



















