जुँगे महादेवको मन्दिरमा पूजाआजा सुरु
वि.सं.२०८२ साउन ५ सोमवार १४:२९
shares

पश्चिम नेपालको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरमा रहेको जुँगे महादेवको मन्दिरमा आजदेखि पूजाआजा शुभारम्भ भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोग तथा बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको व्यवस्थापनमा नवनिर्मित अष्ट धातुको जुङ्गे (खडेश्वर) महादेव मूर्तिको प्राणप्रतिष्ठा भएपछि पूजाआजा गर्न सुरु भएको हो ।
प्रतिनिधिसभा सदस्य धवलशम्शेर राणा, उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, गुठी व्यवस्थापन समितिका अध्यक्ष गोपाल अधिकारीलगायतले महादेव मूर्तिको प्राणप्रतिष्ठा गर्दै संयुक्त रुपमा पूजाआजा गरे।
धार्मिक विधिअनुसार पूजाआजा अहिले पनि जारी रहेको उल्लेख गर्दै गुठी व्यवस्थापन समितिका अध्यक्ष गोपाल अधिकारीले विधिपूर्वक पूजाआजा सकिएपछि सर्वसाधरणका लागि खुला गरिने जानकारी दिए । उनले मूर्ति प्राणप्रतिष्ठा पं जयराम आर्चायको नेतृत्वमा ११ सदस्यीय पण्डितहरुले मन्त्रोच्चारण गरेर गरेको जानकारी दिँदै बागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो लागेको बताए ।
उपमहानगरपालिका–२ मा रहेको सो मन्दिर परिसरमा १५ लाखको लागतमा निर्माण गरिएको जुङ्गे महादेवको मूर्ति मर्मतसम्भारको काम दुई वर्षअघिदेखि गरिएको थियो । नगर प्रमुख विष्टले २००७ सालमा बनेको पुरानो संरचना र मूर्ति स्थापना भएको ७५ वर्ष भइसकेकाले नयाँ मूर्ति निर्माणको आवश्यकता महसुस गरिएको तथा महादेवको मूर्ति प्राणप्रतिष्ठा गरिएको उल्लेख गर्दै नजिकै १०८ फिट अग्लो हनुमानको मूर्ति पनि निर्माणाधीन अवस्थामा रहेको बताए ।






















