गृहपृष्ठ आफैँ खर्च जुटाएर बाद्यवादन सिक्दै महिला
आफैँ खर्च जुटाएर बाद्यवादन सिक्दै महिला
रामपुर नगरपालिका-५ स्थित बेझाडका महिलाले आफैँ खर्च जुटाएर बाद्यवादनसम्बन्धी सीप सिक्न थालेका छन् । कला, संस्कृति संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले यहाँका १० जना महिलाले बाद्यवादनसम्बन्धी सीप सिक्न थालेका हुन् ।
शिवकुमारी वाग्लेलाई मादलमा हात कसरी राख्ने भन्ने थाहा थिएन । गाउँघरमा अरुले लय निकालेर मादल बजाएको देख्दा आफूलाई पनि बजाउने रहर लाग्ने गरेको सुनाउँदै १० जनाले संयुक्त रूपमा खर्च उठाएर मादल बजाउने सीप सिक्न थालेको जानकारी दिए । यसले कला, संस्कृतिको संरक्षण हुनुका साथै पुस्तान्तरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
“यसअघि सीप सिक्ने इच्छा हुँदाहुँदै पनि उचित वातावरण थिएन । सानैदेखिको मादल बजाउने रहर अहिले आएर पूरा भएको छ । घरमा अहिले प्रायःजसो मादलका धुन गुञ्जिन्छ । मादल बजाउने कार्यमा एक किसिमको आदत जस्तै बनिसकेको छ”, वाग्लेले भने ।
सङ्गीत एउटा मन भुलाउने माध्यम हो भन्दै छोराछोरी बढ्दै गएपछि आफ्नो पेसामा व्यस्त हुँदा मादल बजाउने सीपले घरमा एक्लोपन हुन नदिएको वाग्लेले धारणा राखे । “बाद्यवादन सिकेपछि अहिले घरमा सङ्गीत चलिरहन्छ, यसले मनलाई आनन्द दिनुका साथै समयको सदुपयोग र शरीर फुर्तिलो बन्दै गएको छ”, उनले भने ।
मादलबाहेक अन्य बाद्यवादनका सीप पनि सिक्दै जाने योजना रहेको बाद्यवादनतिर लाग्न थालेपछि मोबाइलको प्रयोग कम, अनावश्यक रूपमा खर्चिने समयको सदुपयोग र शारीरिक कसरत पनि भइरहेको वाग्लेले बताए ।
गाउँमा अरुले थरीथरीका ताल निकालेर मादल बजाएको देख्दा सरिता अर्याल गैरेलाई पनि आफूले त्यसरी नै मादल बजाउने रहर थियो । आफ्नो मनभित्रका रहर अहिले पूरा हुन थालेका उनले बताए । मादलमा हात राम्ररी चलाउन नजान्ने गैरे अहिले थरीथरीका ताल निकालेर बजाए ।
“सङ्गीतमा रुची धेरै छ, गाउँमा सङ्गीत सिक्ने पाठशाला छैन । पहिलेदेखिको रहर अहिले आफ्नै लगानीमा भएपनि सीप सिकेर पूरा गरिएका छौँ, अब मादलबाहेक अन्य बाद्यवादन बजाउने सीप सिकेर एउटा कुशल बाद्यवादक बन्ने अठोट छ, त्यो सपना पूरा गर्ने कोशिसमा छु”, उनले भने ।
तीज, विवाह, शुभकार्यमा गाउँघरमा युवा जनशक्ति कम हुँदै जादा मादल बजाउने व्यक्तिको अभावलाई परिपूर्ति गर्नका लागि महिलाहरु मिलेर सामूहिक रूपमा मादल बजाउने सीप सिकेको सीता सिग्देलले बताउनुभयो । मादल तथा प्रशिक्षकको आफैं व्यवस्थापन गरेर करिब एक महिनासम्म मादल बजाउने सीप सिकेपछि अहिले सबैजसो लयमा बजाउन सक्ने भएको अनुभव छ ।
सीप सिकेपछि घरमा समय मिलाएर बजाउने र विभिन्न लयमा सिक्ने कार्य भइरहेको तुल्सी रेग्मीले उल्लेख गरे । घरमा मादल, हार्मोनियमलगायत विभिन्न थरीका बाद्यवादनका सामग्री रहेका भन्दै एक पटक सीप सिकेपछि विभिन्न लयमा बजाउन समस्या नभएको अनुभव छ । उनले मादलसँगै हार्मोनियम, खैजडी, मुजुरालगायत बाद्यवादनका सामग्री बजाउने गरिरहेको छ । घरमै बाद्यवादन भएकाले सो सामग्री व्यवस्थापनमा समस्या नभएको उनको भनाइ छ ।
रामपुर बेझाड स्थित राधाकृष्ण मन्दिरमा दिउँसोको समयमा यहाँका महिलालाई ऋषि ढकालले प्रशिक्षकका रूपमा सीप सिकाएको हो । आफूले जानेको सीप सिकाउन पाउँदा उत्साहित भएको उनले बताए । सुरुमा सिकाउन गाह्रो भए पनि सहभागीले सिक्न थालेपछि सजिलो हुँदै गएको अनुभव छ ।
“सुरुमा कसरी सिके होलारु भन्ने लागेको थियो, मादलमा हात राम्ररी राख्न थालेपछि विस्तारै सिक्दै जाने । दश दिन मादलमा हात बसाल्नै समय लाग्यो, त्यसपछि विस्तारै तालमा बजाउने सीप सिकेपछि अहिले एउटा बाद्यवादकले जसरी नै मादल बजाए । छोटो समयमा पनि राम्रो सीप सिकेको छ”, प्रशिक्षक ढकालले भने ।
मादलका लागि सिकारुलाई आठमात्राको ख्याली ९जहाँ आठ प्रकारका ख्याली० बजाउन सिकाइने सहभागीले रत्यौली, पूजाआजा, भजनकीर्तनमा प्रयोग हुने मादलसम्बन्धी सीप हासिल गरेका प्रशिक्षक ढकालले उल्लेख गरे ।
सानै उमेरदेखि बाद्यवादनमा लाग्नुभएका ढकालले ‘भित्रदेखि सिक्छु’ भनेर लागियो भने सङ्गीत सिकाइ पूरा हुने आफ्नो अनुभव सुनाए । भजनकीर्तन, पूजाआजा, शुभकार्य, विभिन्न कार्यक्रमलगायत विभिन्न कार्यमा सहभागी भएर बाद्यवादकको काम गर्दै आएको छ ।
यहाँका महिलाले रत्यौलीमा प्रयोग हुने ख्याम्टा, झ्यारे भाकाको ताल, झ्याउरे भाकालगायत सीप सिकेका छन् । पहिला बाद्यवादन क्षेत्रमा पुरुषकै वर्चश्व हुन्थ्यो । अहिले युवा जनशक्ति गाउँमा बसोबास नगर्दा पुरुष बाद्यवादक पनि कम हुँदै जान थालेको अवस्थामा रत्यौली, पूजाआजा, भजनकीर्तनलगायत विभिन्न कार्यक्रममा महिलाले बाद्यवादकको काम गर्न थालेपछि संस्कृति संरक्षणका साथै पुस्तान्तरण भइरहेको स्थानीय बताउँछन् ।
बाद्यवादनमा रुची भएका महिलालाई लक्षित गरेर सीप विकासको तालिम दिएमा कुशल बाद्यवादक उत्पादन हुने प्रशिक्षक ढकालले बताए । “बाद्यवादन एउटा मानव मन भुलाउने माध्यम हो । यसले सबैको मनलाई छोएको हुन्छ । त्यसकारण तल्लो तहदेखि सीप विकास गर्नका लागि यस्ता खालका कार्यक्रममा सम्वद्ध निकायले जोड दिनुपर्दछ”, उनले भने ।
प्रकाशित समय : १५:५२ बजे


















