गृहपृष्ठ किसान मार्गदर्शन पुस्तक लोकार्पण
किसान मार्गदर्शन पुस्तक लोकार्पण
मङ्गलबारे (इलाम) । इलामको रोङ गाउँपालिकाले किसानका लागि उपयोगी मार्गदर्शन सामग्री समेटिएको ‘किसान मार्गदर्शन पुस्तक’ लोकार्पण गरेको छ । राष्ट्रिय कृषक दिवसको अवसर पारेर सो पुस्तक लोकार्पण गरिएको हो ।
गाउँपालिकाले कृषकलाई आधुनिक, व्यावसायिक तथा वैज्ञानिक कृषि प्रणालीबारे जानकारी प्रदान गर्ने उद्देश्यले सो पुस्तक प्रकाशन गरी सार्वजनिक गरेको हो । पुस्तकमा कृषि उत्पादन, बाली व्यवस्थापन, पशुपालन, रोग तथा कीरा नियन्त्रण, कृषि प्रविधि, बजार व्यवस्थापनलगायत विषय समेटिएका छन् । विगतमा भएका किसानका कथा तथा भविष्यमा किसानले अपनाउनु पर्ने सतर्कता समिटिएको छ ।
पालिकाले कार्यविधि नै बनाएर किसानहरुमध्ये अग्रजलाई निश्चित मापदण्ड बनाएर १२१ गुरु किसान छनोट गरिएको छ । यस कार्यक्रमले किसानलाई राहत मिलेको गुरु किसान सोम अर्यालको भनाइ छ । उनले किसानलाई आत्मसम्मानको अवसर मिलेको बताए ।
कृषकलाई आवश्यक ज्ञान, सीप र प्रविधिसँग जोड्न पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ । देशमा पहिलोपटक कार्यविधि तयार पारी गुरु किसान छनोट गरिएको गाउँपालिकाका अध्यक्ष मणीकुमार स्याङ्बोले बताए । उनले देशमा नै पहिलोपटक यो कार्यक्रम यही पालिकामा सुरु गरेको दाबी गरे ।
कृषि क्षेत्रको विकास र कृषकको आयस्तर वृद्धि गर्न स्थानीय सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया भुजेलले बताइन । कार्यक्रममा जनप्रतिनिधि, कृषि प्राविधिक, कृषक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीले पुस्तक कृषकका लागि उपयोगी सन्दर्भ सामग्री बन्ने बताएका छन् ।
रोङ गाउँपालिकाले कृषकलाई सहज रूपमा कृषिसम्बन्धी जानकारी उपलब्ध गराउने एवं उत्पादनशीलता वृद्धि गर्न सहयोग पुग्ने अपेक्षासहित पुस्तक प्रकाशन गरिएको जनाएको छ । राष्ट्रिय कृषक दिवसका अवसरमा गरिएको उक्त लोकार्पण कार्यक्रमलाई कृषक सशक्तीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
प्रकाशित समय : २१:२८ बजे


















