global ime bank Long Banner Ad

गृहपृष्ठ न्यूनतम सेवा मापदण्ड कार्यान्वयनबाट स्वास्थ्य सेवाको गुणस्तर सुधार हुन्छः मन्त्री साह

न्यूनतम सेवा मापदण्ड कार्यान्वयनबाट स्वास्थ्य सेवाको गुणस्तर सुधार हुन्छः मन्त्री साह

न्यूनतम सेवा मापदण्ड कार्यान्वयनबाट स्वास्थ्य सेवाको गुणस्तर सुधार हुन्छः मन्त्री साह

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नागेन्द्रप्रसाद साहले न्यूनतम सेवा मापदण्ड (एमएसएस)को प्रभावकारी कार्यान्वयनबाट स्वास्थ्य संस्थामा प्रदान गरिने सेवाको गुणस्तरमा उल्लेखनीय सुधार आउने बताएका छन ।

स्वास्थ्य निर्देशनालय मधेस प्रदेशद्वारा आज जनकपुरधाममा आयोजित ‘न्यूनतम सेवा मापदण्ड (एमएसएस) वार्षिक समीक्षा तथा अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरूका लागि अभिमुखीकरण कार्यक्रम’लाई सम्बोधन गर्दै मन्त्री साहले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले त्यसको गुणस्तरीय, सहज र प्रभावकारी प्रवाह सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

मन्त्री साहले स्वास्थ्य संस्थाहरूमा न्यूनतम सेवा मापदण्डको पूर्ण कार्यान्वयन, नियमित अनुगमन तथा मूल्याङ्कनमार्फत सेवाप्रवाहलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। उहानले अस्पताल व्यवस्थापन समितिको सक्रियता, स्वास्थ्यकर्मीको जिम्मेवारीबोध तथा सेवाग्राहीमैत्री वातावरण निर्माणले स्वास्थ्य क्षेत्रको सुधारमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

मन्त्रालयका सचिव डा प्रमोद यादवले स्वास्थ्य संस्थाहरूले मापदण्डअनुसार सेवा प्रवाह गरेमा सेवाग्राहीको विश्वास बढ्नुका साथै स्वास्थ्य क्षेत्रमा सुशासन कायम गर्न समेत सहयोग पुग्ने धारणा राखे। उनले समीक्षा कार्यक्रम केवल अङ्क प्राप्त गर्ने प्रक्रियामा सीमित नभई स्वास्थ्य संस्थाहरूले आफ्ना कमजोरी पहिचान गरी सुधारका लागि ठोस योजना निर्माण गर्ने अवसरका रूपमा लिनुपर्ने बताए।

मन्त्री साहले स्वास्थ्य सेवा प्रवाहमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय, अस्पताल व्यवस्थापन समिति तथा स्वास्थ्यकर्मीबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेले न्यूनतम सेवा मापदण्ड स्वास्थ्य संस्थाको कार्यसम्पादन मूल्याङ्कनको महत्वपूर्ण आधार भएको बताउँदै यसले स्वास्थ्य सेवाको गुणस्तर मापन तथा सुधारका लागि स्पष्ट मार्गनिर्देशन प्रदान गर्ने बताए । उनले समीक्षा कार्यक्रमबाट प्राप्त सुझाव र निष्कर्षलाई आगामी कार्ययोजनामा समावेश गरी स्वास्थ्य संस्थाको सेवा प्रभावकारिता बढाइने जानकारी दिए ।

त्यसैगरी महाशाखा प्रमुख डा इन्द्रजित रजकले स्वास्थ्य संस्थाहरूबीच स्वस्थ प्रतिस्पर्धा र गुणस्तरीय सेवा प्रवाहको संस्कार विकास गर्न एमएसएस प्रभावकारी माध्यम भएको धारणा राखे । उनले सेवा प्रवाहमा देखिएका कमजोरी सुधार गर्दै संस्थागत क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रमका एमएसएस फोकल पर्सन सुनिता गुप्ताले वार्षिक समीक्षाको उद्देश्य, उपलब्धि, चुनौती तथा आगामी कार्यदिशाबारे विस्तृत प्रस्तुति दिए । उनका अनुसार प्रदेशका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा एमएसएस कार्यान्वयनको अवस्था, प्राप्त अङ्क, सेवा सुधारका प्रयास तथा आवश्यक सुधारका क्षेत्रबारे समीक्षा गरिएको थियो । समीक्षाका क्रममा स्वास्थ्य संस्थाहरूमा देखिएका विभिन्न समस्या तथा चुनौतीहरू औँल्याइएको थियो ।

कार्यक्रममा प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा जामुनप्रसाद सिंहले समीक्षा कार्यक्रमले स्वास्थ्य संस्थाहरूलाई आफ्ना कमजोरी पहिचान गरी सुधारका लागि स्पष्ट मार्गचित्र प्रदान गर्ने बताए । उनले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि नियमित मूल्याङ्कन, क्षमता विकास तथा व्यवस्थापन पक्षलाई थप सुदृढ बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

अस्पताल व्यवस्थापन समितिका पदाधिकारी, विभिन्न जिल्लाका स्वास्थ्य कार्यालय प्रमुख, अस्पताल प्रमुख तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको सो कार्यक्रममा न्यूनतम सेवा मापदण्ड कार्यान्वयनको वर्तमान अवस्था, उपलब्धि, चुनौती र सुधारका उपायबारे व्यापक छलफल गरिएको थियो । सहभागीहरूले स्वास्थ्य संस्थाहरूबीच समन्वय, जवाफदेहिता र सेवाको गुणस्तर वृद्धि गर्न एमएसएसलाई अझ प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित समय : २१:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु