काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

३० हजारले अवलोकन गरे ललितकला प्रदर्शनी

1.74K
shares

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)ले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय ललितकला प्रदर्शनी, २०८२ तीस हजारभन्दा बढीले अवलोकन गरेका छन् ।

मौलिकताको जगेर्ना, रोजगारीको सिर्जना र अर्थतन्त्रमा योगदान दिने उद्देश्यले गत जेठ १५ देखि ३१ गतेसम्म सम्पन्न प्रदर्शनीमा कलापारखीको उल्लेख्य सहभागिता रहेको प्रतिष्ठानले जानकारी दिएको छ । प्रतिष्ठानले आज एक विज्ञप्ति जारी गरी प्रदर्शनी सफल बनाउन सहयोग गर्ने सातै प्रदेश तथा केन्द्रका सङ्घसंस्था, कलापारखी तथा सहयोगी प्रतिनिधिहरुलाई धन्यवाद दिएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठनका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले भन्नुभयो, “लोकतान्त्रिक गणतन्त्रको भावधारा र सांस्कृतिक राष्ट्रिय नारालाई उजागर गर्दै प्रदेश तथा स्थानीयस्तरमा रहेका रैथाने कलाका गुणस्तरमा जोड दिनेगरी कार्यक्रमसहित प्रदर्शनीको आयोजना गरिएको हो । यसले नेपाली कलालाई स्थानीयस्तरबाट केन्द्र हुँदै विश्वमा पुग्नका लागि महत्वपूर्ण सहयोग मिलेको अनुभव गरेका छौँ ।”

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२’ मा पुरस्कृत, सहयोग र सहकार्य गर्ने सम्पूर्णलाई बधाई दिँदै प्रतिष्ठानले आगामी दिनमा अनुसन्धान, कलाकारको सर्वेक्षणलगायतका कामलार्ई प्राथमिकता दिने जानकारी गराए ।

प्रदर्शनीमा सातै प्रदेशका ६५ जिल्लाका ६०० बढी कलाकारका ६५० कलाकृति राखिएको थियो । समसामयिक चित्रकला/मूर्तिकला, परम्परागत चित्रकला÷मूर्तिकला, वास्तुकला तथा लोककला, शिल्पहस्तकला एवं बहुआयामिक तथा अन्य सिर्जनात्मकलगायत विविध विधा–उपविधाका कलाकृति राखिएको प्रदर्शनीमा कलापारखी, राजनीतिज्ञ, बुद्धिजीवी, आमजनसाधारणको उत्साहजनक उपस्थिति थियो ।

गणतन्त्र दिवसका अवसर पारेर यही जेठ १५ गतेदेखि सुरु गरिएको प्रदर्शनीले नेपाली ललितकलाको अवस्थालाई नजिकबाट नियाल्न मद्दत मिलेको प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रतिष्ठानका उपकुलपति एवं राष्ट्रिय ललितकला प्रदर्शनीका कार्यकारी संयोजक लालकाजी लामाले राष्ट्रिय ललितकला प्रदर्शनीले नेपालको ललितकलाको बहुआयामिकतालाई चिनाउन सफल भएको बताउनुभयो । “प्रदर्शनी समय सापेक्षित रूपमा अघि बढेको छ । नेपालका रैथाने, मौलिक कला, शिल्प–ज्ञानलाई मूलधारमा ल्याई अन्तरराष्ट्रियकरण गर्न सफल भएको छ ।

सातै प्रदेशमा ‘प्रादेशिक ललितकला प्रदर्शनी’ गरी त्यसबाट छनोट भएका कलाकृति समेटेर ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ आयोजना  गरिएकाले यसले प्रतिभाको पहिचान गर्न सहज भएको छ । साथै नेपाली ललितकलाको अवस्था र गर्नुपर्ने कार्यका बारेमा समेत नजिकबाट नियाल्न सहज भएको छ ।”

प्रदर्शनीले मौलिकताको जगेर्नासँगै नेपाली सभ्यता र सांस्कृतिक वैभवतालाई चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । सदस्यसचिव थुम्केलीले यस वर्षको प्रदर्शनीमा नेपालका सीमान्तकृत, अल्पसङ्ख्यक समुदायदेखि लोपोन्मुख तथा प्रचलित विविध विधाका कलाकृति समेटिएको उल्लेख गरे ।

प्रतिष्ठानले अनुसन्धान, सिर्जना र सम्मानसँगै ललितकला क्षेत्रको संरक्षण, संवद्र्धन एवं सर्वाङ्गीण विकासार्थ विशेष रणनीतिक योजनासाथ सिर्जनात्मक क्रियाकलापहरू गर्दै/गराउँदै आएको छ ।

राष्ट्रिय ललितकला प्रदर्शनी सातै प्रदेशका विभिन्न विधाका प्रतिभावान् सिर्जनशील कलाकारहरूलाई एउटै थलोमा सहभागी गराई नेपाली कलाको संवद्र्धन तथा प्रवद्र्धन गर्ने उद्देश्य बोकेको राष्ट्रकै ठूलो ललितकला प्रदर्शनी एक महोत्सव पनि हो ।

प्रदर्शनीलाई सम्पूूर्ण कलाकार, कलामर्मज्ञ, कला सरोकारी एवं कलापारखी व्यक्तिव्यक्तित्वहरूले महोत्सवका रूपमा मनाउँदै आइरहेका छन् । प्रतिष्ठानले दोस्रो पटक प्रादेशिक प्रदर्शनी हुँदै राष्ट्रिय ललितकला प्रदर्शनी गरेको हो ।