गृहपृष्ठ मानव बेचबिखनविरुद्ध सामुदायिक प्रयास सुदृढ गर्न सार्वजनिक सुनुवाइ
मानव बेचबिखनविरुद्ध सामुदायिक प्रयास सुदृढ गर्न सार्वजनिक सुनुवाइ
माइती नेपालले आन्तरिक मानव बेचबिखनविरुद्ध सामुदायिक प्रयास सुदृढ गर्न आज यहाँ सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
आन्तरिक मानव बेचबिखन, यौन शोषण, श्रम शोषण र लागुऔषध दुव्र्यसनविरुद्धको सामूहिक प्रयासलाई बलियो बनाउने उद्देश्यका साथ आयोजित कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, युवा समूह, महिला सङ्गठन, सुरक्षा निकाय तथा स्थानीय सरकारका सरोकारवाला निकायको उपस्थिति थियो ।
कार्यक्रममा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले सार्वजनिक सुनुवाइ तथा स्थानीय निकाय, प्रहरी, नागरिक समाज र सरोकारवालाको बीचको सहकार्यद्वारा ठूला परिवर्तन सम्भव रहेको बताए । यसले बेचबिखन र हिंसाको जोखिम घटाउन सहयोग पु¥याउने भनाइ थियो ।
साथै उनले छोरीहरू, विशेष गरी नाबालिगहरूलाई शोषणजन्य अवस्थाबाट तत्काल उद्धार गर्नुपर्ने आवश्यकतामा जोड दिँदै, रोकथाममा शिक्षा र सचेतनाको महत्त्वपूर्ण भूमिकामार्फत युवाहरूको सचेतना र सक्रियताले समाजलाई मानव बेचबिखनरहित बनाउन सकिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विशेषगरी मनोरञ्जन क्षेत्रमा महिला र किशोरीका लागि सुरक्षित र मर्यादित वातावरण निर्माणमा समुदाय तथा सम्बन्धित निकायको महत्वपूर्ण भूमिका रहेकामा जोड दिइएको थियो । नेपाल प्रहरीका अधिकारी र स्थानीय सरकारका प्रतिनिधिहरूले आपसी समन्वय अभिवृद्धि गरि एकीकृत रूपमा आन्तरिक मानव बेचबिखनविरुद्ध डटेर लड्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।
कार्यक्रमले विभिन्न सरोकारवाला निकायबीचको समन्वय र रोकथामका लागि एकीकृत रणनीतिका लागि विशेष जोड दिएको थियो । सुनुवाइका क्रममा सहभागीले आफ्ना अनुभवहरू बाँड्दै, खुला छलफलमा संलग्न हुँदै सतर्कता तथा अनुगमन प्रणालीलाई सुदृढ गर्न सुझाव दिएको थियो । सरोकारवालाहरूले आन्तरिक मानव बेचबिखन न्यूनीकरणको दिगो समाधान खोज्नुपर्ने आवश्यकतामा जोड दिँदै बढ्दो चुनौतीलाई सम्बोधन गर्न आपसी सहकार्य गर्न आफ्नो दृढ प्रतिबद्धता व्यक्त गरेको थियो । कार्यक्रममा उठाइएका सुझाव र चिन्तालाई स्थानीय सरकार र माइती नेपालले आगामी योजनामा समावेश गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा नाबालिगको बढ्दो शोषण तथा होटल, स्पा, क्याबिन रेस्टुरेन्ट, डान्स बारलगायतका मनोरञ्जनस्थल तथा वयस्क मनोरञ्जन क्षेत्रमा बढ्दो अपराधिक गतिविधिप्रति गम्भीर चासो उठाउँदै समाधान खोज्ने प्रयास गरिएको थियो ।
प्रकाशित समय : १६:५९ बजे



















