global ime bank Long Banner Ad

गृहपृष्ठ सगरमाथा स्वीम क्लबद्वारा पौडी खेलाडी सम्मानित

सगरमाथा स्वीम क्लबद्वारा पौडी खेलाडी सम्मानित

सगरमाथा स्वीम क्लबद्वारा पौडी खेलाडी सम्मानित

सातदोबाटो ललितपुरस्थित सगरमाथा स्वीम क्लबले अन्तर्राष्ट्रियस्तरका पौडी खेलमा सहभागी भएका युवा खेलाडीलाई सम्मान गरेको छ ।

अन्तर्राष्ट्रिय खेलाडी सम्मानसँगै स्वीम क्लबले पौडी खेलाडीका लागि क्षमता अभिवृद्धिको कार्यक्रम पनि आयोजना गरेको छ ।

सम्मान पाउने खेलाडीमा उपास्ती महर्जन, सेरेन सिंह, एल्भिन महर्जन, लिसन डंगोल महर्जन, आरजू थापा मगर, विशाखा महर्जन, काव्या श्रेष्ठ र अजलकाजी ताम्राकार छन् ।

सम्मान पाउने खेलाडीहरूले देशभित्र र देशबाहिर भएका पौडी खेलका विभिन्न प्रतियोगितामा सहभागिता जनाई उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

खेलाडीलाई अन्तर्राष्ट्रिय पौडी परिसरका प्रमुख तिलकबहादुर नेपालीले सम्मानपत्र प्रदान गरे । सम्मान कार्यक्रमपछि, उपस्थित भएका साना बालबालिका र युवा खेलाडीलाई मनोसामाजिक परामर्शदाता तानिया राठीले खेलप्रति विद्यार्थीको हौसला बढाउन र मनोबल उच्च बनाइराख्न तालिम प्रदान गरिन् ।

उनले बालबालिका र युवामा पौडीजस्तो खेलले अनुशासन, लगनशिलता र आत्मविश्वास बढाउनुका साथै नियम, समयसीमा र समय तालिका अनुसार काम गर्ने बानी बसाल्न प्रेरित गर्ने हुँदा दैनिक जीवनमा पौडी खेललाई सक्दो समावेश गर्नुपर्ने बताइन् ।

दैनिक शारीरिक अभ्याससँगै मानसिक रूपमा पनि ताजा र स्फूर्त रहन खेलले सहयोग गर्ने हुँदा हरेक अभिभावकले आफ्ना बालबालिकाको इच्छा अनुसार उनीहरूले रुचि राख्ने कुनैपनि खेलकुदको विधा छान्न र त्यसैमा निरन्तर लाग्न सुझाव दिइन् ।

कार्यक्रममा क्लबका सचिव धन विक्रम केसीले पौडी खेलले बालबालिकाको शारीरिक र मानसिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले पौडी खेलमा बालबालिकाको सहभागिता बढाउन सगरमाथा स्वीम क्लबले विशेष पहल गर्ने बताए ।

क्लबका संरक्षक एवं राष्ट्रिय पौडी प्रशिक्षक रत्नलाल महर्जनले आफूले सिकाएका खेलाडीले देशभित्र र देशबाहिर भएका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो आत्मविश्वास, मिहिनेत र लगनशीलताका कारण आफ्नो परिवार, समाज र देशको नाम समेत उच्च बनाएकोमा खुसी व्यक्त गरे ।

अन्तर्राष्ट्रिय पौडी परिसरका प्रमुख नेपालीले मिहिनेत र लगनशील पौडी खेलाडी र खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्न हौसला प्रदान गरिरहने अभिभावकको पनि प्रशंसा गरे । पौडी खेल र खेलाडीको क्षमता अभिवृद्धिका लागि आफू सधैं उपलब्ध रहने र आवश्यक सहयोग गर्ने उनको प्रतिबद्धता छ ।

प्रकाशित समय : १४:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु