global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सेवा केन्द्र विस्तार गर्दै तनहुँका स्थानीय तह

सेवा केन्द्र विस्तार गर्दै तनहुँका स्थानीय तह

सेवा केन्द्र विस्तार गर्दै तनहुँका स्थानीय तह

तनहुँका स्थानीय तहले वडाबाट प्रदान गर्ने सेवासुविधा जनताको नजिक पुर्‍याउन सेवा केन्द्र विस्तार गर्न थालेका छन् । जिल्लास्थित स्थानीय तहका वडा कार्यालयको केन्द्रबाट टाढा रहेका जनतालाई नजिकबाट सेवा सुविधा प्रदान गर्ने उद्देश्यसहित वडाको सेवा केन्द्र विस्तार गरिएको हो ।

भिमाद नगरपालिका–८ ले वडाको सेवा केन्द्र भानुमतीमा स्थापना गरेको छ । यसअघि अरौँदीमा वडा कार्यालय रहेकामा माथिल्लो भेगका जनतालाई वडा कार्यालयसम्म आएर सेवा लिन अपायक भएकाले सेवा केन्द्र स्थापना गरिएको वडाध्यक्ष अणबहादुर शाहीले बताए । उनले भने, “जनताको मागबमोजिम नै सेवा केन्द्र विस्तार गरेका हौँ । भानुमती भेगका जनतालाई अरौदीसम्म आएर सेवा लिन एक दिन छुट्याउनुपथ्र्यो, सवारी साधन कम चल्ने र हिँडेर आउनुपर्दा समस्या थियो । भानुमतीमै सेवा केन्द्र विस्तारपछि त्यस भेगका जनताले सहज ढङ्गबाट सेवा पाउनेछन् ।” उक्त सेवा केन्द्रबाट बिहीबार र शुक्रबार सेवा प्रदान गरिनेछ ।

भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले जनतालाई सहज र सरल रूपमा सेवा प्रवाह गर्नु जनप्रतिनिधिको कर्तव्य भएको बताए ।

यस्तै जिल्लाकै आँबुखैरेनी गाउँपालिका–५ र ६ को सम्पर्क कार्यालय विस्तार गरिएको छ । वडा कार्यालयबाट प्रदान गरिने सेवा सहज रूपमा वडावासीलाई प्रदान गर्न दुई वडा कार्यालयको सम्पर्क कार्यालय विस्तार गरिएको हो । आँबुखैरेनी गाउँपालिका–५ को वडा कार्यालयको सम्पर्क कार्यालय बरालुङबेंसीमा स्थापना गरिएको छ । सङ्घीय शासन प्रणालीअन्तर्गत सेवा प्रवाहलाई विकेन्द्रित गर्दै स्थानीय तहलाई थप सशक्त र जनमुखी बनाउन सम्पर्क कार्यालय स्थापना गरिएको वडाध्यक्ष सन्तोष गरूङले जानकारी दिए ।

उक्त वडाको प्रमुख कार्यालय सानोभञ्ज्याङमा रहेकाले बरालुङबेसी र वरपरका बस्तीहरूका सर्वसाधारणलाई वडा कार्यालयसम्म पुग्न समय लाग्ने भएकाले सम्पर्क कार्यालय स्थापना गरिएको उनको भनाइ छ ।

आँबुखैरेनी गाउँपालिका–६ को सम्पर्क कार्यालय केही समयअगाडि प्युघरफाँटमा स्थापना गरिएको थियो । प्युघरफाँटमा सेवा कार्यालय विस्तार गरी सर्वसाधारणलाई सेवा दिन थालिएपछि सहज भएको छ । वडा नं ६ का सर्वसाधारणलाई घण्टौ पैदल तथा महङ्गो गाडी भाडा तिरेर सेवा लिन वडा कार्यालय आउनुपर्ने समस्याको अन्त्य गर्न पालिकाले प्युघरमा सेवा केन्द्र विस्तार गरेको वडाध्यक्ष दिलीप गुरूङले जानकारी दिए । सेवा केन्द्रमा वडा कार्यालयबाट प्रदान गरिने सबै सेवाहरू दिइएको छ ।

हप्तामा दुई दिन उक्त सेवा कार्यालयबाट जनताले सेवा पाउने वडाध्यक्ष गुरूङले जानकारी दिए । त्यस भेगका जनतालाई वडा कार्यालयको केन्द्र हिलेखर्क जान समस्या भएपछि सहजताका लागि सेवा कार्यालय विस्तार गरिएको उनको भनाइ छ । उनले भने, “यस भेगका जनतालाई वडा कार्यालयको केन्द्रसम्म पुग्न एक दिनको समय छुट्याउनुपर्ने बाध्यता थियो । अब सेवा कार्यालयबाटै सहज रूपमा जनताले सेवा पाउनेछन् ।”

प्रकाशित समय : १२:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु