सानिमा रिलायन्स इन्स्योरेन्स दोस्रो पटक ‘सी स्ट्राइक्स’ च्याम्पियन
वि.सं.२०८२ वैशाख १७ बुधवार २०:५०
shares

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले तेस्रो संस्करणको ‘सी स्ट्राइक्स–कर्पोरेट महिला क्रिकेट’ प्रतियोगिताको उपाधि जितेको छ । शनिबार खेलिएको फाइनलमा कम्पनीले सूर्य नेपाललाई २८ रनले पराजित गरेको हो ।
मुलकोटस्थित एक रिसोर्टमा पहिले ब्याटिङ गरेको सानिमा रिलायन्सले निर्धारित ५ ओभरमा ४ विकेट गुमाएर ६० रनको योगफल तयार पारेको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको सूर्य नेपालले पूरै पाँच ओभर खेलेर एक विकेटको क्षतिमा जम्मा ३२ रन जोड्न सक्यो ।
सानिमा रिलायन्सलाई लगातार दोस्रो पटक कर्पोरेट महिला क्रिकेटको उपाधि जिताउन कप्तान स्वस्तिका कार्कीको योगदान निकै नै महत्त्वपूर्ण रह्यो ।
सूर्य नेपाल विरुद्धको फाइनल खेलमा प्लेयर अफ दि म्याच घोषित कार्कीले प्लेयर अफ दि टुर्नामेन्ट अवार्ड पनि प्राप्त गरिन् । सनसनीपूर्ण प्रदर्शन गरेकी कार्कीले प्रतियोगिताभर कुल तीन पटक प्लेयर अफ दि म्याच अवार्ड प्राप्त गरे ।
























