रुसविरुद्ध थप निर्णायक कदम चाल्न अमेरिका र युरोपलाई पोल्यान्डका प्रधानमन्त्रीको आग्रह
वि.सं.२०८३ असोज २६ सोमवार १९:५८
shares

पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले युक्रेनमाथि रुसको आक्रमण पाँचौँ जाडोमा प्रवेश गर्न लाग्दा रुसलाई नियन्त्रणमा राख्न अमेरिका र युरोपेली देशहरूले थप निर्णायक कदम चाल्नुपर्ने बताएको छन् ।
सोमबार वार्सा सुरक्षा फोरमलाई सम्बोधन गर्दै टस्कले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई स्पष्ट सन्देश दिन सम्पूर्ण पश्चिमी राष्ट्र एकजुट हुनुपर्नेमा जोड दिए । उनले विशेषगरी रुसमाथिका प्रतिबन्ध थप कडा बनाउनुपर्ने सङ्केत गरे ।
“युरोप र संयुक्त राज्य अमेरिकासहित सम्पूर्ण पश्चिमले रुस र पुटिनलाई थप निर्णायक उपायमार्फत रुसलाई नियन्त्रण गर्ने नीति अपनाउन तयार रहेको देखाउनुपर्ने बेला आएको छ,” टस्कले भने ।
उनले यसै साता हुने युरोपेली शिखर सम्मेलनअघि रुसविरुद्धका प्रतिबन्ध थप कडा बनाउने विषयमा गम्भीर छलफल गर्न युरोपेली साझेदारलाई आग्रह गर्न आफू ब्रसेल्स जाने बताए।
रुससँग सीमा जोडिएको नेटो र युरोपेली सङ्घ ९ईयू० सदस्य पोल्यान्ड सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेदेखि नै किएभको प्रमुख सहयोगी रहँदै आएको छ । पोल्यान्डले युक्रेनलाई महत्वपूर्ण सैन्य तथा मानवीय सहायता प्रदान गर्दै आएको छ ।
पोल्यान्डले आफ्नो भूमिमा तोडफोडका गतिविधि र हाइब्रिड युद्ध सञ्चालन गरेको आरोप पनि रुसमाथि लगाउँदै आएको छ । मस्कोले यी आरोप अस्वीकार गर्दै आएको छ ।
गत सेप्टेम्बरमा टस्कले युक्रेनविरुद्धको युद्धमा रुसको रणनीतिमा वार्सासहित किएभका सहयोगीलाई लक्षित गरी हाइब्रिड गतिविधि तथा ड्रोन र क्षेप्यास्त्र आक्रमण गर्ने योजना समावेश हुन सक्ने चेतावनी दिएको थिए ।
युरोप समर्थक मध्यमार्गी नेता टस्कले पोल्यान्ड युक्रेनको दृढ सहयोगी रहने प्रतिबद्धता दोहो¥याउँदै अन्य पश्चिमी राष्ट्रलाई पनि किएभको समर्थनमा एकजुट हुन आग्रह गरेको छन् ।
उनको पछिल्लो अभिव्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने युद्धविरामबारे घोषणा गरेको भनिएको घटनाक्रमपछि आएको हो । उक्त घोषणाको विस्तृत विवरण सार्वजनिक नभएपछि किएभमा आश्चर्य र मस्कोमा मौनता देखिएको समाचारमा उल्लेख छ ।
वार्सा सुरक्षा फोरममा टस्कले युक्रेनको युद्धलाई अस्तित्वको लडाइँका रूपमा चित्रण गरे ।
“यदि युक्रेन लडिरहेको छ भने, त्यो आफ्नो अस्तित्वका लागि लडिरहेको छ । रुस भने प्रभुत्वका लागि लडिरहेको छ,” उनले भन्े ।
उनले दोस्रो विश्वयुद्धअघि नाजी प्रचारले पोल्यान्डलाई जर्मनीको आक्रमणका लागि जिम्मेवार देखाउने प्रयास गरेको इतिहास स्मरण गर्दै अहिले मस्कोबाट पनि त्यस्तै प्रचार सुनिन थालेको बताए ।
“आज हामी मस्कोमा ठ्याक्कै त्यही कुरा सुनिरहेका छौँ र दुर्भाग्यवश, हाम्रा केही राजधानीमा पनि यस्तो आवाज बढ्दै गएको छ,” टस्कले भने ।






















