काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता
वि.सं.२०८३ असोज २६ सोमवार २०:३१
shares

बनेपा । सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले गत भदौदेखि ‘हरियो कार्ड’ सहितको ‘ग्रीन टोकन’ सेवा सुरु गरेको छ ।
कार्यालयमा सेवाग्राहीको चाप, भवनको सीमितता तथा प्रविधि र जनशक्तिको क्षमताका कारण सबैलाई छिटो सेवा उपलब्ध गराउन कठिन हुने भएकाले प्राथमिकताका आधारमा सेवा प्रवाह गर्न यो व्यवस्था लागू गरिएको कार्यालयले जनाएको छ ।
विशेषगरी ज्येष्ठ नागरिक, अशक्त, गर्भवती महिला तथा अपाङ्गता भएका व्यक्तिलाई सेवा लिन लामो समय सम्म लाइनमा बस्नुपर्ने अवस्था कम गर्ने उद्देश्यले उनीहरूको अवस्था पहिचान गरी हरियो कार्डसहितको ‘ग्रीन टोकन’ उपलब्ध गराइन्छ ।
कार्यालयका अनुसार टोकनमा सम्बन्धित सेवा लिन जानुपर्ने स्थान र पूरा गर्नुपर्ने प्रक्रिया बारे जानकारी समेत उल्लेख हुन्छ । टोकन प्राप्त गरेपछि सेवाग्राहीले सम्बन्धित स्थानमा गई प्राथमिकताका आधारमा सेवा लिन सक्नेछन् ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सेवाग्राहीलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहलाई सहज र व्यवस्थित बनाउन ‘ग्रीन टोकन’ सेवा सुरु गरिएको बताए ।
उहाँका अनुसार विशेष अवस्थाका सेवाग्राहीलाई पहिचान गरी सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था गरिएको हो । सेवा सुरु भएयता दैनिक २५ देखि ३० जनासम्म सेवाग्राहीले ‘ग्रीन टोकन’ मार्फत सेवा लिँदै आएको प्रजिअ अधिकारीले जानकारी दिए ।























