पर्यटन वर्ष कोशीमा ल्याएको उत्साह
वि.सं.२०८२ वैशाख ८ सोमवार १९:२५
shares

प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष, २०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाखभन्दा बढी पर्यटक ल्याउने लक्ष्यसहित सुरु भएको पर्यटन वर्षले प्रदेशवासीमा उत्साह थपेको छ ।
कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन कोशी प्रदेश सरकारले पर्यटन वर्ष, २०८२ कार्यक्रम ल्याएको छ । गत चैत २७ गते गुराँसको राजधानी मानिने तेह्रथुमको तीनजुरे मिल्केमा उपप्रधानमन्त्री प्रकाशमान सिंहले पर्यटन वर्षको शुभारम्भ गरेका थिए।
त्यसवसरमा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशका सबै क्षेत्रहरू पर्यटनको हिसाबले महत्वपूर्ण भएको चर्चा गरे । पर्यटनका माध्यमबाट नेपालको वैदेशिक ऋण र व्यापार घाटा काम गर्न सकिने उल्लेख गर्दै उनले ऊर्जा, जलविद्युत् पर्यटन, जडीबुटीका क्षेत्रमा काम गर्ने बताएका थिए ।
पर्यटन वर्षमा विशेषगरी धार्मिक, प्राकृतिक, सांस्कृतिक पर्यटकहरु कोशी घुम्न आउने कोशी पर्यटन वर्षका सहसंयोजक भविष श्रेष्ठ बताउछन । उनका अनुसार धार्मिक, प्राकृतिक, सांस्कृतिकसँगै शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रका पर्यटक पनि आउने जानकारी दिए । उनले १५ लाखभन्दा पर्यटक ल्याउने र यसका लागि पर्यटक स्तरीय होटल पूर्वाधार निर्माण भइसकेको उल्लेख गरे ।
भ्रमण वर्षको अवसरमा कोशी प्रदेश सरकारले सीमा नाकामा पर्यटकीय सवारी साधनलाई स्टिकर टाँस्न सुरू गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतीय सवारी साधनमा पर्यटन वर्षको स्टिकर टाँसेर अभियानको सुरूआत गरेका छन ।
कोशी प्रदेश भौगोलिक, सांस्कृतिक र धार्मिक पर्यटनका हिसाबले रमणीय मानिन्छ । यहाँ विभिन्न प्रसिद्ध धार्मिक स्थलसहित विश्वको सर्वोच्च शिखर सगरमाथादेखि समुन्द्री सतहवाट ७० मिटर उचाइमा रहेको नेपालकै होचो भूभाग कचनकवल पनि छ । सूर्योदय हेर्नका लागि ईलाको श्रीअन्तुडाँडामा दैनिक हजारौ स्वदेशी तथा वाह्य पर्यटकको भिड लाग्ने गर्दछ । कोशीटप्पु आरक्ष क्षेत्रमा चरादेखि वेतना सिमसारका कछुवाले पर्यटकलाई लोभ्याउने गरेको छ ।
कोशी प्रदेश सरकारले यो प्रदेशमा पर्यावरणीय गन्तव्यको सूचीमा १३ र ट्रेकिङ ट्रेलको रुपमा १० स्थान समावेश गरेको छ । सर्वोच्च सिखर सगरमाथा अवलोकन गर्न ४३ प्रतिशत बाह्य र ५७ प्रतिशत आन्तरिक पर्यटक हरेक वर्ष यो प्रदेशमा आउने गरेको सरकारी तथ्याङ्क छ ।
साथै धनकुटाको छिन्ताङ, ताप्लेजुङका पाथिभरा मन्दिर, खोटाङको हलेसी, सुनसरीको बराह क्षेत्र धार्मिक पर्यटनको हिसावले महत्त्पूर्ण क्षेत्र रहि आएका छन् । इलामको चियाबारी, धनकुटाको भेडेटार, भोजपुरको ट्याम्के मयुङडाँडा, पाँचथरको साधुटारलगायत पर्यटकीय आकर्षक गन्तव्य मानिन्छन् । सगरमाथा, मकालु, कञ्चनजङ्घा, ल्होत्से र चोयुलगायत हिमशृङ्खलाले विदेशी पर्यटकलाई आकर्षित गर्ने गरेको छ । सगरमाथा, मकालु र कञ्चनजङ्घा बेस क्याम्पसम्मको ट्रेक साहसिक र रोचक मानिन्छ । त्यससँगै फाल्गुनन्द ट्रेकिङ, मुन्दुम ट्रेल, सभापोखरी ट्रेक पर्यवरणीय पर्यटनको आधार मानिन्छ ।
























