निजी कम्पनीले सस्ता प्याकेज हटाए पनि नेपाल टेलिकमले मूल्य नबढाउने
वि.सं.२०८३ असोज २२ बिहीवार १३:५२
shares

काठमाडौँ- इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आईस्पान) ले इन्धन, फाइबर र चिपसेटको मूल्यवृद्धिका कारण देखाउँदै सस्तो मूल्यका साना इन्टरनेट प्याकेज बिक्री बन्द गर्ने निर्णय गरेको छ।
निजी कम्पनीहरूको यस्तो कदमले उपभोक्तामाझ इन्टरनेट महँगो हुने र न्यून वर्ग सेवाबाट वञ्चित हुनुपर्ने चिन्ता बढेको छ। यद्यपि, सरकारी स्वामित्वको नेपाल टेलिकमले भने आफ्ना पुराना सर्वसुलभ प्याकेजहरू यथावत् राख्ने र तत्काल मूल्य बढाउने कुनै योजना नरहेको स्पष्ट पारेको छ।
टेलिकमले ग्राहकलाई वार्षिक तथा दुई वर्षे प्याकेजहरू सस्तो दरमा उपलब्ध गराउँदै आएको छ। घरायसी ग्राहकका लागि वार्षिक ५० एमबिपिएसको शुल्क ८,४९९ र दुई वर्षका लागि १४,९९९ तोकिएको छ, जसमा दैनिक ६०० एमबी मोबाइल डेटा पनि निःशुल्क पाइन्छ। यसबाहेक ७५ देखि २०० एमबिपिएससम्मका विभिन्न गतिमा आधारित वार्षिक प्याकेजहरू उपलब्ध छन्।
कम्पनीले एउटै तारबाट इन्टरनेट, टेलिभिजन, टेलिफोन र मोबाइल डेटा पाइने ‘थ्री प्लस वान’ सुविधा दिँदै आएको छ।
ग्राहकले कार्यालय नपुगी सिधै १९८ मा फोन गरेरै नयाँ जडानको माग गर्न सक्छन्। कम्पनीले हाल ७७ जिल्लाका करिब ४०० पालिकामा फाइबर सेवा विस्तार गरिसकेको छ भने नपुगेका स्थानमा ब्रोडब्यान्ड सेवा पुर्याएको छ।
























