global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ कर्णालीमा विपन्न परिवारका घर निर्माणमा तीव्रता

कर्णालीमा विपन्न परिवारका घर निर्माणमा तीव्रता

कर्णालीमा विपन्न परिवारका घर निर्माणमा तीव्रता

सङ्घीय र प्रदेश सरकारको अनुदान सहयोगमा कर्णाली प्रदेशमा विपन्न परिवारका घर निर्माणलाई तीव्रता दिइएको छ ।

यहाँका दश जिल्लामा रहेका गरिब परिवारलाई वर्गीकरण गरेर घर निर्माण गर्न अनुदान दिई २०८१ साउनदेखि हालसम्म २४३ वटा घर निर्माण भइसकेका प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले जानकारी दिए । तीमध्ये सङ्घ सरकारले उपलब्ध गराएको जनता आवास कार्यक्रमबाट बढी घर निर्माण भएका उनले बताए ।

सुवेदीका अनुसार नौ महिनामा सङ्घ सरकारले उपलब्ध गराएको रकमबाट जनता आवास कार्यक्रमबाट दुई सय दुई घर निर्माण भएका छन् । सबैभन्दा बढी कालीकोटमा एक सय २९ घर निर्माण गरिएका छन् । यस्तै, सुर्खेतमा ६८ र जाजरकोटमा पाँच वटा घर निर्माण गरिएका छन् ।

प्रदेश सरकारको जनता आवास कार्यक्रमबाट १४ वटा घर निर्माण भएका छन् । सुर्खेतमा सात, डोल्पामा चार, जाजरकोटमा तीन वटा निर्माण गरिएको हुन् । नौ महिनामा विपन्नको घर निर्माण कार्यक्रमअनुसार सुर्खेतमा १२, कालीकोटमा आठ, डोल्पामा चार र जाजरकोटमा तीन गरी २७ वटा घर निर्माण गरिएका छन् ।

प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले चालु आर्थिक वर्षको अन्तिमसम्म घर निर्माणको सङ्ख्या बढ्न सक्ने बताए । यो कार्यक्रम आगामी आर्थिक वर्षमा समेत जारी रहने उनले बताए ।

घर निर्माण भएपछि यहाँ आर्थिक रूपमा विपन्न र प्राकृतिक प्रकोपबाट घरविहीन नागरिक निकै खुसी भएका बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए । जाजरकोटका बाढी पहिरोपीडित, डोल्पाका निम्न वर्गका तथा कालीकोटका आगलागी पीडित र सुर्खेतका बाढीपीडितलाई लक्षित गरी सरकारले घर बनाइदिएको हो ।

जाजरकोटको बारेकोटमा मान्छे र पशु चौपायाका लागि छुट्टाछुट्ट घरगोठ बनाउने उद्देश्यसहित काम भइरहेको अध्यक्ष गिरीले बताए । मानिस र पशु चौपाया एकै घरमा बस्दा स्वास्थ्यमा परेको प्रतिकूल असरलाई ध्यान दिएर पालिकाले यस्तो कार्यक्रम सुरु गरेकामा हाल प्रदेश सरकारले समेत सहयोग गरेपछि सहज भएको उनको भनाइ छ ।

प्रकाशित समय : २१:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु