गृहपृष्ठ युद्धविरामकै बीचमा गाजामा इजरायली आक्रमण : २३२ जनाको मृत्यु
युद्धविरामकै बीचमा गाजामा इजरायली आक्रमण : २३२ जनाको मृत्यु
इजरायलले गाजामा फेरि आक्रमण सुरु गरेको छ। इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको छ। टाइम्स अफ इजरायलका अनुसार यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्।
जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित गरिएको बताएको छ।
इजरायलले विगत दुई हप्तादेखि गाजामा खाद्यान्न, औषधि, इन्धन र अन्य आपूर्तिको प्रवाह रोकेको छ। हमासलाई युद्धविराम सम्झौतामा परिवर्तनहरू स्वीकार गर्न माग गरेको छ।
गाजालाई नर्क बनाउने इजरायली रक्षामन्त्रीको धम्की
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धविराम वार्ता अगाडि नबढेकाले आफूले आक्रमणको आदेश दिएको बताएका छन्। नेतान्याहूले धेरै पटक फेरि युद्ध सुरु गर्ने धम्की दिएका छन्। यसैबीच इजरायलका रक्षामन्त्री इजरायल काट्जले बन्धकहरूलाई रिहा नगरिएमा गाजामा नर्कको ढोका खोलिने चेतावनी दिएका छन्।
प्रकाशित समय : ११:५९ बजे



















