global ime bank Long Banner Ad

गृहपृष्ठ जनप्रिय क्याम्पस पोखराको स्ववियु निर्वाचन अन्योलमा

जनप्रिय क्याम्पस पोखराको स्ववियु निर्वाचन अन्योलमा

जनप्रिय क्याम्पस पोखराको स्ववियु निर्वाचन अन्योलमा

पोखराको जनप्रिय क्याम्पसको स्ववियु निर्वाचन अन्योलमा परेको छ । क्याम्पस प्रमुख कृष्णबाबु बरालले विज्ञप्ति निकालेर निर्वाचनका लागि सहज वातावरण नभएको भन्दै स्थगित गरिदिएका हुन् । स्ववियु निर्वाचनका लागि गठित निर्वाचन समितिले राजीनामा दिएपछि अवस्था असहज बनेको उनले बताए ।

‘विद्यार्थी सङ्गठनहरूको सर्वसम्मतिमा निर्वाचन प्रक्रिया अगाडि बढाउने क्रममा सहज परिस्थिति नभएको कारण निर्वाचन समितिले राजीनामा गरेकोले अर्को सूचना प्रकाशित नभइन्जेलसम्मका लागि निर्वाचन प्रक्रिया स्थगन गरिएको छ,’ उनको विज्ञप्तिमा भनिएको छ ।

समय सकिएपछि प्यानल दर्ता गराउन पाउनुपर्ने माग सहित माओवादी निकट अखिल क्रान्तिकारी, एकीकृत समाजवादी निकट अनेरास्ववियू, विप्लव निकट अखिल समाजवादीले निर्वाचन अधिकृतको कार्यालय र क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाइदिएको छ । उनीहरूले सुरुमा छुट्टाछुट्टै सङ्गठन र उम्मेदवारी दर्ता गरेका थिए । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेपछि संयुक्त प्यानल दर्ता गर्न पाउनुपर्ने माग राखेर तीन सङ्गठनले ताला लगाएका हुन् ।

कार्यालयमा ताला लागेपछि निर्वाचन गर्न सम्भव नभएको क्याम्पस प्रशासनले जनाएको छ । अन्य विद्यार्थी सङ्घ सङ्गठनहरूले भने तालाबन्दी खोलेर निर्वाचन तोकिएकै समयमा गर्नुपर्ने माग राखेका छन् । एमाले निकट अनेरास्ववियुले विज्ञप्ति निकालेर तोकिएकै मितिमा निर्वाचन नगरे क्याम्पस प्रमुख र व्यवस्थापन समितिले राजीनामा दिनुपर्ने माग गरेको छ । जनप्रियमा ८ वर्षपछि स्ववियु निर्वाचन हुन लागेको हो ।

प्रकाशित समय : ११:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु